विष्णु विक

नेपालको सबै भन्दा पुरानो सामाजिक आन्दोलन मध्ये दलित आन्दोलन एक हो । यो आन्दोलनका निम्ति धेरै व्यक्तिहरुको सघर्ष, ज्यानको आहुति बलिदान गरेका छन् र सामाजिक आन्दोलनले शताब्दी नाग्न लाग्दा पनि दलित समस्याहरु भने ज्यु का त्यु नै छ । तसर्थ दलित आन्दोलनलाई नियाली रहदा केहि विषयवस्तु बुझ्न आवश्यक छ भन्ने हाम्रो निष्कर्ष हो ।
बाइसे चौबिसे राज्य एकिकरण गर्दै विशाल नेपालको निमार्ण गरेका पृथ्वीनाराण शाहले तत्कालिन समयमा जे जति शक्तिको प्रयोग र दुरुपयोग गरे त्यो ईतिहासमा जगजाहेर नै छ । भनिन्छ, मन्द विषको प्रभाव खतरनाक हुन्छ । आज आएर पृथ्वीनाराण शाहको तत्कालीन त्यो राज्य विस्तारले पारेको प्रभाव विभिन्न जातजातिले विभिन्न बिभेद भोगिरहेका छन् । सुन्दर देश त बन्यो होला तर यस देशको उचित व्यबस्थापन भने हुन नसकेको सत्य हो । केही सत्यलाई थाति राखेर पछिल्लो विकास क्रममा आउने हो भने राज्य विस्तार र नेपाली भाषाको स्थापना पछि हाम्रो मुलुकमा धेरै शब्दहरु अर्थको अनर्थ रुपमा स्थापित भएका छन वा गरिदै आएको छ । ति शब्दहरु अनर्थको रुपमा स्थापित सगै अत्याचार र विभेद गर्नका मुख्य हतियार बनाउदै अघि बढ्यौं । त्यसमा नेपालका शासक र लेखक साहित्यकारहरुको मुख्य भुमिका रह्यो । यस्ता विभेद र अन्यायले भरिएका तमाम शब्द र प्रक्रियालाई थाति राखेर यस लेखमा दलित आन्दोलन बारे छोटो चर्चा गर्ने प्रयास गरिएको छ ।
भारतीय उप–महाद्विप आजको भारतमा करिव ३५ सय वर्ष अघि वर्ण व्यवस्थाको जग हालिएको थियो भन्ने ईतिहास विभिन्न धार्मिक लगायत प्रागिक लेख रचना पाइन्छ । हिन्दु धर्मको मूलग्रन्थ मध्य सबैभन्दा पुरानो वेद ऋग्वेदको दशौँ मण्डलको पुरुष सुत ९० मा ब्राम्ह्ण, क्षेत्री, वैश्य र शुद्र उल्लेख गरिएको छ । कसैले त्यस विराट पुरुषको मुख ब्राम्ह्ण, पाखुरा क्षेत्री, तिघ्रा वैश्य र पैताला शुद्र हो भनेका छन् भने कसैले त्यस विराट पुरुषले मुख, पाखुरा, तिघ्रा र पैतालाबाट क्रमश ब्राम्ह्ण, क्षेत्री, वैश्य र शुद्रलाई पैदा गरे भनेर अपब्याख्या गरेका छन् । यस कुराको अनुवाद र ब्याख्यामा हिन्दुहरुबीच एकरुपता पाइदैन । भीमराव अम्वेडकरले शुद्रको उत्पत्तिका दुई कारण बताएका छन् । उनका अनुसार राजा र ब्राम्ह्ण बीचमा मतभेद र कलहको परिणामले र ब्राम्ह्ण र बौद्धको आपसी सङ्घर्षबाट ऋग्वेदमा अनार्यहरु आर्यद्वारा विभाजित भएपछि शुद्र भएको बताउछन । शुद्रको पेशा फलाम, छाला, माटो, सडक नाली सफाइ गर्ने काम, मासु काट्ने, बेच्ने मरेको मानिस मसानघाट पर्याउने, कुर्ने जस्ता काममा केन्द्रित गरि शारीरिक रुपमा शताब्दी औ देखि शोषण गरियो । उनीहरुको श्रमलाई ज्यादै घृणाको दृष्टिले हेर्न थालियो । तर शुद्रलाई पेशा छाड्न नपाउने नियम बनाइयो । नियम उल्लङ्घन गर्नेलाई दण्ड सजायको व्यवस्था गरियो । फलस्वरुप बाबु बाजेले गरेको नै पेशा सन्तानले गर्नु पर्ने बाध्यात्मक स्थिति पैदा गरियो । वर्ण व्यबस्थाले ब्राम्ह्ण क्षेत्रीलाई फाइदा पुर्याए पनि शुद्रलाई हिनता बोध र शोषणको दलदलमा फसौदै गयो । केहिले बिद्रोहको प्रयास गरे तर ति विद्रोहलाई राज्य र धर्मको नाममा दमन गरियो । समाजबाट बहिष्कार गरियो । यही बहिष्कार प्रक्रिया नै छुवाछुतको सुरुवात हो । पछि अपराधमा परेका, बहिष्कारमा परेका शुद्रसँग विवाह गर्नेलाई अछुतमा झार्ने नियम राज्यले बनायो । जसको माध्यमबाट त्यसबेलाका टाठा बाठालाई राज्य गर्न सहज भयो । भने दलित अछुत हुदै अमानवीय पशुतुल्य जीवन जीउन बाध्य भए ।
मुलुकी ऐन १९१० ले पारेको असर
मुलुकी ऐन १९१० नेपालको सबैभन्दा पहिलो लिखित कानून हो। मुलुकी ऐन नेपालको संहिताबद्द राष्ट्रिय कानुन हो । पहिलो पटक बिक्रम सम्बत १९१० मा मुलुकी ऐन जारि गारिएको थियो । जंगबहादुर राणा बेलायतको यात्रा बाट फर्के लगत्तै यो ऐन बनाएकोले यसमा युरोपको ठुलो छाया परेको ईतिहास छ । यो ऐन हिन्दू दर्शनमा आधारित रहेको बनेको थियो । यो कानुनको मुख्य उदेश्य जातको आधारमा अपराधीहरुलाई सजायको ब्यबस्था गर्नु रहेको थियो । त्यो ऐनको मस्यौदा लोकपाति र लेसपाति झाले मनुस्मिर्तिको आधारमा गरेका थिए । उनिहरु दुबै जना भारतीय ब्राह्मण थिए ।
राजा सुरेन्द्रले ऐनको मस्यौदा गरे बाफत लोकपाति र लेसपाति झालाई महोत्तरिमा ५०० बिघा जग्गा दिएका थिए भन्ने कुरा इतिहासमा पाइन्छ । नेपालको शासन पद्धति हिन्दु धर्मअनुसार चल्दै आएकोमा विसं. १९१० मा मुलुकी ऐन बनाएर तागाधारी, मतवाली (मासिन्या र नमासिन्या), पानी नचल्ने छोइछिटो हाल्नु नपर्ने र पानी नचल्ने छोइछिटो हाल्नुपर्ने भनी विभाजन गरियो । जसमध्ये पानी नचल्ने छिटो हाल्नुपर्ने भनी छुट्याएका जातहरु क्रमश सानोबाट ठुलो च्याम्हासलक, पोढ्या, वादि, गाइन्या, दमाई, हुक्र्या, चुनार, चुनारा, कामी, सार्की (वि.सं. १९१०को मुलुकी ऐन) आदि । यी जातिहरुलाई राज्यमा सम्पत्ति कमाउन रोक अर्थात् उनीहरुको श्रम बलीघरे बनाइयो ।
दोस्रो, राज्यको निकायमा सेवा, रोजगारमा प्रतिनिधित्व गर्न निषेध गरियो, गरेमा पनि जस्तै सेनामा कामीले हतियार बनाउन पाउने तर हतियार चलाउन नपाउने । सार्कीले जुत्ता सिलाउने, दमाईले बाजा बजाउने आदि । पढ्न नपाउने व्यवस्था गरियो र शिक्षाको माध्यमबाट प्राप्त हुने अवसरबाट बन्चित गरियो । यति मात्र गरिएन, एकै किसिमको अपराधमा जात अनुसार घटीबढी दण्ड सजायको व्यवस्था गरियो । जातीय आधारित कामको व्यवस्था, सहन सहन, खानपान, साधन स्रोत माथिको पहुच आदिले गर्दा दलित, महिला जहिले पनि शोषणमा पारिए ।
दलित आन्दोलनको सुरुवात
हिन्दु धर्म आधारित राज्य व्यवस्थाले जात कै आधारमा कोहि राज्यको सेवा सुविधा प्राप्त गरे भने कोहि दमन शोषणको शिकार हुन् पुगे । दलित नै भएको आधारमा छुवाछुत, विभेद, भूमिहीन, लगायत धेरै प्रकारको शोषण र दमनमा पारिएका थिए । शिक्षा, राजनैतिकबाट बन्चित दलितले पुर्व जन्मको कर्म भन्दै आफ्नो भाग्यलाई दोष दिदै विभेद सहदै आएका थिए । तर विस्तारै दलितहरुले जातीय आधारित छुवाछुत, विभेद विरुद्ध आवाज उठाउन थाले । सर्वप्रथम भगत सर्वजित विश्वकर्माले जातीय विभेद विरुद्ध बाग्लुङबाट सामाजिक आन्दोलनको उदघोष गरेका थिए । त्यस्तै उपत्यकामा माधवराज जोशी र शुक्रराज शास्त्रीको प्रयासमा हिन्दु धर्मतन्त्रले गरेको छुवाछुतको जग हल्लाउने काम गरे । दलित आन्दोलनको आधारशीला हाल्न त्यहि शास्त्री र जोशीको प्रयासले मद्दत गरेको पाइन्छ । वि.स.२०१० को पशुपति मन्दिर प्रवेश यसको महत्वपूर्ण उपलब्धि हो । त्यो बेलासम्म छुवाछुत गैरकानुनी र असंवैधानिक भए पनि, दण्डनीय थिएन । उक्त प्रयासले यस्ता कुप्रथालाई दण्डनीय बनाउने काममा साथ दियो । नेपालमा जहाँनिया राणा शासन, एकदलीय पञ्चायती व्यवस्था तथा निरंकुश एवं सक्रिय शाह वंशीय राजतन्त्र विरुद्ध पटक पटक शसस्त्र तथा निशस्त्र जन आन्दोलन एवम् जनयूद्ध जस्ता संघर्षहरुमा दलितहरुको महत्पूर्ण योगदान रहेको छ ।
‘चार जात छतीस वर्णको फुलबारी’ मानिएको नेपालमा विविधतामा एकता छ । धार्मिक एवम् साँस्कृतिक सहिष्णुता कायम छ । बिडम्बना नेपाली समाजमा जातीय, लैङ्गिक, वर्गीय, भौगोलिक विभेदहरु विद्यमान रहेको सत्य लुकाएर लुक्दैन । न्यायपुर्ण तथा समतामुलक लोकतान्त्रिक समाजमा परिकल्पना गरिएर पटक–पटक निरंकुशताका विरुद्ध नेपालका दलितहरुले विगत देखि वर्तमानसम्म एकतावद्ध भएर संर्घषमा होमिएर रगत र पसिनाको खोलो बगाएको इतिहास साक्षी छ । नेपाली दलितहरुको त्याग, तपस्या र बलिदानको प्रतिफल स्वरुप नेपालमा ऐतिहासिक परिवर्तनहरु स्थापित भएका छन् भन्दा अन्यथा नहोला ।
नेपालको राजनीतिक ईतिहासलाई सम्झिने हो भने, वि.सं. २००७ सालमा फत्तेबहादुर कामीले बनाएको ट्याङ्करको सहायताले नेपाली कांग्रेसले बिराटनगर कब्जा गर्न सफल भएको थियो । त्यस्तै वि.स २००३ सालमा देवव्रत परियार नेपाली राष्ट्रिय कांग्रेस र २००५ सालमा आर.वी.गहतराज प्रजातान्त्रिक कांग्रेसमा आवद्ध भएर नेपालको प्रजातान्त्रिक आन्दोलनलाई गति प्रदान गर्न दलित समुदायका तर्फबाट योगदान दिएका थिए । वि.सं. २००९ सालमा धनमानसिंह परियार नेपाली कांग्रेसको महामन्त्री जस्तो शक्तिशाली पदमा रहेर नेपालमा लोकतन्त्र स्थापनाको लागि महत्वपूर्ण भुमिका खेलेको ईतिहास धेरै पुरानो भएको छैन । वि.सं. २०४६ सालको जनआन्दोलन र २०६२/६३ सालको दोस्रो जनआन्दोलनमा तत्कालिन राजा ज्ञानेन्द्रको निरंकुश तथा प्रतिगमन विरुद्धको आन्दोलनमा दलित समुदाय अग्रभागमा थिए । माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धको पहिलो शहिद नै दिलबहादुर रम्तेल हुन । त्यो विद्रोह तथा आन्दोलनमा मारिएका १७ हजार नेपालीहरुमध्ये १५ सय भन्दा बढी दलितहरुले सहादत प्राप्त गरेका छन् । नेपाली लोकतान्त्रिक आन्दोलनमा होमिएका नेपाली दलितहरुका लागि भने परिवर्तन ‘कागलाई वेल पाक्यो, हर्ष न विस्मात’ भएको छ । सामाजिक, सांस्कृतिक, राजनैतिक, आर्थिक लगायतका राष्ट्रिय जनजीवनका हरेक क्षेत्रमा दलित समुदायको स्थिति पुरानै पाराको छ । अन्तमा दलित आन्दोलन नेपालको सामाजिक आन्दोलनमा सबैभन्दा पुरानो आन्दोलन हुदाहुदै पनि यसले त्यति गति लिन सकिरहेको छैन, त्यसका लागि हामी सबैले आ-आफ्नो ठाउ बाट जसरी सकिन्छ त्यसरी नै आन्दोलन गर्न आवश्यक छ ।



