भूगोल, भूराजनीति र लगानी – Satabdi News

भूगोल, भूराजनीति र लगानी

 

अर्जुन राई

भर्खरै तेस्रो लगानी सम्मेलन धुमधामका साथ सकिएको छ। करिब ५ वर्ष भित्र दुईटा लगानी सम्मेलन सम्पन्न भए। यद्यपि तथ्याङ्कहरुले सम्मेलनको तामझाम जस्तो लगानीको ओइरो आएको देखाइरहेका छैनन् । लगानी भित्र्याउने, उद्योग धन्दाको विकास गर्ने र धनी हुने नेपाली सपनाको आयु करिब शताब्दी पुग्न लागेकोछ। तर पनि राणा शासन हुँदै गणतन्त्र सम्म आइपुग्दा पनि यो बुढो सपनाले अझै मूर्तता पाउने छाँटकाँट भने देखिन्दैन।

वि.सं. १९९० को दशकमा पहिलो पटक सरकारी तवरबाट ठूला उद्योग धन्दाको विकास गर्ने पहल भएको देखिन्छ । जुद्ध शमशेर कालीन आँखाले सपना देख्दै गर्दा केही सुनौला संकेतहरु थिए । दोस्रो विश्वयुद्धको चपेटामा परेका उद्योगी व्यवसायीहरु सुरक्षित गन्तव्यको खोजीमा थिए । फलस्वरुप प्रत्यक्ष विश्वयुद्धमा सँलग्न नभएको नेपालको इष्ट इण्डिया कम्पनीबाट नजिकैका साना साना बजारहरु उद्योगीका आँखामा परे । जब विश्वयुद्ध सकियो, जुद्ध शमशेर रिडी  हुँदै देहरादुन तिर लागे, इष्ट इण्डिया कम्पनी आफ्नै गाउँ फर्कियो र उद्योगी व्यवसायीहरुले पनि नेपाली भूमि भन्दा अरु तिरै उर्वरता देख्न थाले । सङ्गै नेपाली सपना पनि विस्तारै ओझेलमा पर्दै गयो । राणाकालमा देखिएको त्यो सपनाको अवशेष भने आज भोली उद्योग दिवसको रूपमा व्यूँतिएको छ। त्यत्ति बेला टुसाएको शेयर किनबेच गरेर धनी बन्ने नेपालीमनको कल्पना अझै जीवित छ । त्यस बखत Blue chip मानिएको कम्पनी बिराटनगर जुट मीलको ढुकढुकी पनि बेला बेलामा मात्रै चल्छ । धन्न हामीले हाम्रो धनी हुने मन भने साँचेरै राखेका छौ।

यत्ति लामो समयदेखि देखेको सपना आज पर्यन्त बिपनामा परिणत हुन नसक्नुमा दोषी हामी मात्रै हो कि ? कतै नियति नै त्यस्तो रह्यो जस्ले हामीलाई अधुरो सपना देख्‍न अभिशप्त बनायो ? यसमा मनमा लागेका केही कुराहरु जोड्ने जमर्को गरेको छु।

जसरी हामीलाई नेपाली भएर जन्मनुमा छनौटको स्वतन्त्रता थिएन, त्यसै गरी नेपाल भन्ने मुलुकलाई आफ्नो भूगोल बदल्ने छनौट अहिलेलाई छैन । करिब डेढ सय वर्षदेखि सीमा स्थीर गरेर बसेको नेपाल भन्ने देश भएको ठाँउमा धेरै पहिला नै प्रकृतिले हिमाल, पहाड र तराईको स्वरुप निर्धारण गरी सकेको थियो। नेपाल राज्यको उत्पत्तिकाल देखि नै भारत र चीनले घेरिएर बसेको यो भूभागमा बसेर ‘सुन्दर, शान्त विशाल’ भन्ने गीत जत्ति नै गाए तापनि हाम्रो गीतलाई पाहुना उद्योगीहरुले पत्याउन सकिरहेका छैनन् ।

अहिलेको हाम्रो यो विवशतालाई ‍औद्योगिकरणको जुन स्वरुप छ, त्यससँग पनि जोडेर हेर्न उपयुक्त हुनेछ । उद्योग भन्ने बित्तिकै उत्पादनमूलक उद्योगको दवदवा आजका मिति सम्म कायम छ, त्यसको लागि वस्तु उत्पादन देखि घर घर सम्म पुर्‍याउन आवश्यक जुन संरचना छ, त्यो तत्काल हामीसँग छैन र भएको पनि प्रभावकारी हुन सकेको छैन । यसो हुनुमा हाम्रो भूगोललाई पनि दोषको भागिदार बनाउँदा हामी कमजोरबाट भागेको हुने छैन । भौगोलिक कठिनाइका कारण स्थलमार्गमा यातायात सञ्जाल विकास गर्न लागत र प्रविधि दुवै महङ्गो छ। पहाडी र हिमाली भेगमा भएको पूर्वाधारको अवस्था ज्यादै नाजुक छ र तिनिहरुको अवस्था काम चलाउ मात्र छ । कोशी प्रदेशमा उत्पादन भएको वस्तु भारतमा पुर्‍याउनु भन्दा सुदुर पश्चिम प्रदेशमा पुर्‍याउन महङ्गो हुन गइरहेको छ । जलमार्गको सम्भावना अहिले सम्म हाम्रो भाग्यमा छैन । यस्तो अवस्थामा लजिस्टिक्स लागत उच्च हुन गई प्रतिस्पर्धात्मकता गुमाउन परिरहेको छ । यो लागतको उच्चता भूगोलले सिर्जना गरिरहेको छ । यसरी महङ्गोमा उद्योगी बन्न हामी पनि सकिरहेका छैनौ र पाहुनालाई आमन्त्रण गर्दा पनि नस्वीकारिरहेको अवस्था रहेको छ ।

हाम्रो भूगोलले उच्च लागतका कारण हाम्रो क्षमतामा सीमा त लगाई दियो नै, हाम्रा शासक वर्गको कला, सीप र शक्तिमा समेत अंकुश लगाई दियो । परम्परागत रुपमा दुई ठूला र शक्तिशाली मुलुकहरुको ईच्छा आकांक्षा व्यवस्थापन गर्दै आफ्नो राजनीतिक भविष्य कोर्न अभिशप्त छ राजनीतिक नेतृत्व। हाम्रा सपना डोर्‍याउने धागाहरु कतै न कतै उत्तर दक्षिण सम्म गएर गुजुल्टो परेकाछन् । कुनै अमुक छिमेकीको लगानी रहेको उत्पादन अर्को छिमेकीले नकिन्ने प्रण गर्छ र म यस्को सेवा लिन्न भन्छ । हाम्रा आन्तरिक उत्पादनहरुमा बेला बेला प्रश्न उठिरहन्छ । छिमेकीलाई नाघेर उडेर जान पनि टिकट महङ्गो छ । यस्ता बाध्यता र कहानीहरुका बिच पाहुना लगानीकर्तालाई नेपाल लगानीका लागि उर्वर छ भनेर फकाउन परिरहेको छ ।

अब एकै छिन सोचौं, हाम्रा बाध्यताहरु कसरी तोड्न सकिएला ? भूगोलले कोरेका भाग्यहरु कसरी बदलिएलान् ? यसको जवाफ औद्योगिक क्षेत्रमा विश्वमा देखा परिरहेका परिवर्तनहरुमा खोज्न उपयुक्त हुन सक्छ । यो गतिशील संसारमा १८औं शताब्दी पछि देखापरिरहेको औद्योगिकरणको स्वरुपमा बदलाव आइरहेकोछ भनिरहेकाछन् जान्ने बुझ्नेहरुले। त्यो बदलाव हाम्रो लागि बरदान सावित पनि हुन सक्छ। कुनै समय भोट र इण्डियाको व्यापारिक मार्ग हुँदा काठमाण्डु तुलनात्मक रुपमा सम्पन्न र शक्तिशाली पनि थियो। व्यापार गर्ने, उद्योग धन्दा गर्ने बाटाहरु परिवर्तन भएसँगै जसरी काठमाण्डुको साख गिर्दै गयो पुनः परिवर्तनले काठमाण्डुको साख उठाइदिन पनि सक्छ । तर त्यस्तो परिवर्तन पहिल्याउने र अनुकुलित हुने क्षमता भने हामीमा जरुर चाहिन्छ ।

अहिले नजिकै देखा परिरहेको बदलाव चैं के हो भने औद्योगिकरण चौथो औद्योगिक क्रान्तिका प्रवेश गरिरहेकोछ भनिएकोछ। उत्पादन प्रकृयामा श्रम, स्रोत र अत्यधिक पूँजीको तुलनामा दिमागी सिर्जना अर्थात् अभौतिक पूँजीको बाहुल्यता बढ्दै गइरहेको छ । यस्ता अभौतिक पूँजीको रुपमा कम्प्यूटरकृत सूचना, तथ्याङ्क, नवप्रवर्तन, प्रतिस्पर्धात्मक क्षमताको विकास, बौद्धिक सम्पत्ति लगायत देखा परिरहेका छन् । यी क्षेत्रहरुसँग सम्बन्धित उद्योगहरुले सीमा विहिन रुपमा सेवा दिन सक्ने भएको हुँदा भूगोल र भूराजनीतिको प्रभाव न्यून मात्रामा पर्न सक्छ । यस क्षेत्रका रणनीतिक महत्व भएका उद्योगहरुलाई राज्यले नीतिगत हस्तक्षेपका माध्यमबाट माथि उठाउन सक्यो भने शताब्दि लामो सपना छिट्टै बिपनामा परिणत हुन पनि सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "भूगोल, भूराजनीति र लगानी" A few seconds ago

सम्बन्धित खवर