वित्तीय पुँजीवाद र नेपाली समाज – Satabdi News

वित्तीय पुँजीवाद र नेपाली समाज

डा.डम्बर चेम्जोङ

नेपाली समाजको बहुउत्पादन प्रणालीयुक्त चरित्रलाई सम्बोधन गर्न औद्योगिक पुँजीवादको अध्ययन र बुझाइ मात्र पर्याप्त छैन, न त नेपालमा उदाउँदो वित्तीय पुँजीवादलाई नै यसले सटीक परिभाषा र व्याख्या गर्न सक्छ । नेपालमा सामाजिक पुँजी नै आर्थिक पुँजी निर्माण र स्वामित्वको मूल आधारको रुपमा हेर्न बुझ्न सकिन्छ । हाल विकसित भइरहेको वित्तीय पुँजीवादको पृष्ठभूमिमा पुँजी, पुँजीपति, र मजदुरको वस्तुनिष्ठ र व्यावहारिक परिभाषा गर्नुपर्ने, पुँजी निर्माणका स्रोत र प्रक्रियाहरू नयाँ ढंगले खुट्याउन र नेपालका बहुउत्पादन सम्बन्धलाई परिमार्जित दृष्टिकोणका साथ व्याख्या गर्न जरुरी छ ।

पुँजी के हो ?

पैसाले मात्र पुँजीलाई परिभाषित गर्ने दिन गए । प्रधानमन्त्रीदेखि पिउनसम्मले प्रयोग गर्ने पावर, युथफोर्सको ‘सोर्स’ ‘फोर्स’, वाइसिएलको बन्दुक, मुक्का, कुनै पार्टीको अध्यक्ष/महासचिवदेखि वडा/सेल कमिटीका सदस्यसम्मकाले प्रयोग गर्ने हैसियत पुँजी हो । यस्तो पुँजीलाई सामाजिक पुँजी भनिन्छ । राज्यद्वारा वर्गीकृत र संरक्षित उच्च वा शासकीय जातको कोखमा जन्म हुनु पुँजी हो । हामी ठूला जातका हौँ भन्ने, ठान्ने, मान्ने वैचारिकता र यसैकारणले खास व्यक्ति वा समूहसँग नजिक हुन सक्ने क्षमता पुँजी हो । हाम्रो रीतिथिति, धर्म, पूजाआजा, चलनलाई आफूबाट अविच्छिन्न मान्ने वैचारिकता पनि पुँजी नै हो । यस्ता पुँजीलाई सांस्कृतिक पुँजी भनिन्छ । त्यसैले पैसा मात्र पुँजी होइन, पद, हैसियतअनुसारका सम्बन्ध र साँठगाँठ पनि पुँजी हुन् । पेसाले मात्र पुँजीको स्वामित्व निर्धारण गर्दैन, जन्मका आधारमा पनि हुन्छ । सामाजिक र सांस्कृतिक पुँजी नै नेपालमा आर्थिक पुँजी निर्माणका प्रमुख आधार बनेका छन् । विगतमा जात र पारिवारिक नातागोताका आधारमा नै पुँजी -भूमि र जागिर) वितरण भएको जगजाहेरै छ । त्यही पुँजीको जगबाट पनि उम्रिएका छन् आजका धेरै पुँजीपति ।

पुँजीपति कसलाई भन्ने ?
पुँजीको स्वामित्वको सिर्जना कुन प्रक्रियाबाट हुन्छ ? यस्तो स्वामित्वको वैधता र आधिकारिकता कहाँबाट कसरी प्राप्त हुन्छ ? १९ औँ शताब्दीको युरोपमा औद्योगीकरण फस्टाएका वेला प्रचुर संख्याका उद्योग, कलकारखानाकेन्दि्रत सामाजिक-आर्थिक सम्बन्ध, त्यसवेलाका पुँजी निर्माण र स्वामित्वका आधार र चरित्र अध्ययन-विश्लेषण गर्न मार्क्सले निर्माण गरेका सैद्घान्तिक एवं वैचारिक सूत्र पनि वर्तमान नेपालको पुँजीवादको चरित्र बुझ्ने आधार हुन सक्छन् । तर, त्यसो भन्दैमा मार्क्सकै पालाको जस्तो पुँजीको स्वरूप, पुँजीपति र मजदुरबीचका सम्बन्ध नेपालका बालाजु औद्योगिक क्षेत्रमा, हिमाल, कान्तिपुर मिडिया हाउसमा, क्यासिनोमा, होटलमा देख्न खोज्नु र आफ्ना कार्यकर्तालाई त्यसैअनुसार शिक्षादीक्षा दिनु मार्क्सवादलाई आंशिक रुपमा मात्र बुझ्नु हो ।

पूँजी स्वामित्व निर्माण र अहिलेको नेपाली समाजमा विकसित भइरहेको पँजीवादको मूल चरित्र के हो ? के नामले सम्बोधन गर्दा मूलतः निजीकरणमा आधारित वित्तीय पुँजीवादको चारित्रिक वैशिष्ट्यसमेत झल्कने नाम दिन सकिएला ? सामान्यतः एकआपसमा मिलेर ढुकुटी खेल्ने, त्यसबाट ब्याज कमाउने चलन पुरानो भए पनि सहरी क्षेत्रमा यो प्रक्रिया विगतका दशकमा प्रशस्त हुर्कियो । यसैबाट पनि ‘सहकारी’ नामधारी तर विभिन्न क्षेत्रमा ऋण प्रदान गर्दै नाफा कमाउने संस्था काठमाडौंमा च्याउसरी उम्रिएका छन् । यस्ता सहकारी बैंकका टपरटुइयाँ भण्डारेहरू वेलाबखत धनको पोकोसहित टाप कस्नाले सेयरधनीहरूको ठूलो ब्याज खाने धोको पानीको फोकोसरी फुटेको हामीले देखेका छौँ ।

मलेसियाका कारखानामा हाड घोट्दै छाक काटेर बचत गरेको खर्चपर्च होस् वा खाडी मुलुकका मरुभूमिका बालुवा चाटेर तिर्खा मेट्दै जोहो गरेको पैसा, यिनै गरिब दुःखी मजदुरले घर पठाउने खर्चकोे हुन्डी व्यवसायबाट बैंक खुलेका छन् नेपालमा । यस्ता बैंकले सेयर बिक्रीको आह्वान गर्छन् । सेयर किन्नेको भीड आजभोलि हामीले देखेका छौँ । कतै स्थायी आम्दानी नहुनेले पनि ढुङ्ग्री-मुन्द्री बन्धकी राखेर सेयर किन्ने प्रवृत्ति बढिरहेको वेला नेपाली जनतालाई दुहाइ दिएर राजीखुसी वा जबर्जस्ती चन्दा वा लेबी उठाएर पैसा संग्रह गर्नेहरूमध्येले पनि यो वा त्यो रूपमा आफ्नो वा अर्काको नाममा, व्यक्ति वा पार्टी/संस्था हितका लागि भनेर यस्ता बैंक खोलेका वा बैंकको ठूलो सेयर किनेका हुन सक्छन् । यसरी खुलेका बैंकले विभिन्न क्षेत्र जस्तै रियल स्टेट, निजी विद्यालय, कम्पनी, कारखाना, उद्योग-धन्दा, यातायात व्यवसाय, मिडिया व्यवसाय, होटल व्यवसाय, व्यक्तिगत घर-निर्माण, अध्ययन यावत् क्षेत्रमा ऋण प्रदान गर्दै नाफा कमाउँछन् । त्यस्तै बीसौँ शताब्दीको सुरुदेखि नै जम्मा हुँदै आएको बेलायती गोर्खा सैनिकहरूको पेन्सन र तलबलगायतका रकमको स्रोत र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा आउने रकममाथि एकाधिकार जमाएर सञ्चालन भएका ठूला बैंक पनि छन् नेपालमा । यी ठूला-साना दुवैखाले बैंकले गर्ने व्यवसाय र आर्जन गर्ने मुनाफा एकै हुन्, खालि दायरा र घनत्व मात्र फरक । यस्ता संस्थाको सेयरधनी हुन खोज्नु लगानी गरेर लाभांश खाने मनसाय नै हो र यो आर्थिक पूँजीवादी चरित्र नै हो । यी वित्तीय संस्थाले परिचालन गरेका पूँजीको स्रोत कहाँ केन्द्रित रहेछ त ? पूँजीपति को-को हुन् त, यस्तो वित्तीय जगतका ? मजदुर खै ? यस्ता संस्थाका प्रमुख कार्यकारी अधिकृत र सञ्चालक कुन हदसम्मका पूँजीपति हुन् ? मजदुर युनियनमा आबध्द वा मजदुरहरूले कति व्यवसाय, वित्तीय संस्थाका सेयर किनेका होलान् । त्यसो भए ती सर्वहारा मजदुर हुन कि सेयरधनी पूँजीपति ? कि ताक परे तिवारी नत्र गोतामे ?

आजीवन राजनीति गरेर, लेभी रकमले धानिएकाहरू मन्त्री भएपछि कुनै व्यक्ति, समूहलाई उद्योग वा व्यवसायकोे लाइसेन्स दिएबापत त्यही व्यवसायको हिस्सेदार मन्त्री आफैं वा तिनका नातागोता भएका छन् । बिहान सर्वहारा मन्त्रीका रूपमा कार्यालय गएका व्यक्ति बेलुकी निवास फर्कँदा पूँजीपति भइसकेको हुने वित्तीय दलाल पूँजीवादी र नोकरशाही पध्दति छ आज । सामाजिक र राजनीतिक हैसियत (सामाजिक पूँजी) हुनेहरूले यसरी शून्यबाट पूँजीको सिर्जना गर्छन् र पूँजीपति हुन्छन् । उद्योगका कम्पनी रजिस्टार शाखाका कर्मचारीले फाइल नअड्काएबापत अमूक कम्पनीको अलिकति सेयर पाउला वा त्यसबापत आएको दक्षिणाले कुनै वित्तीय संस्था वा व्यवसायको सानो सेयर किन्ला वा किन्न सकिरहेको व्यवस्था छ आज ।

कुल चुक्ता पूँजी १५ अरब रुपैयाँजति भएको दूरसञ्चारलाई लिउँ । यस संस्थाका कर्मचारी ट्रेड युनियनमा पनि छन् । तिनै कर्मचारी दूरसञ्चारको सेयरधनी पनि हुन पाउने भएका छन् । यी कर्मचारीले छिनमा पुँजिपति प्रवृत्ति, छिनमा मजदुर हैसियत देखाउन सक्छन् । व्यक्तिगत लाभहानीको हिसाबकिताब गरेर यिनीहरूले रूप फेर्लान् । तर, दूरसञ्चारको मूल पूँजीको सिर्जना गर्नमा यी सेयरवालाले के लगानी गरेका छन् त सामाजिक हैसियतबाहेक । अहिले कृषि विकास बैंकको सेयर बजारमा आउने हल्लालाई सबैले व्यग्रताका साथ पर्खिबसेको हुनुपर्छ । यस बैंकका कर्मचारीहरू वित्तीय कर्मचारी ट्रेड युनियनमा त छन् नै, अब आफ्नै रोजगारदाता बैंकको हिस्सेदार पुँजीपति पनि छिट्टै हुँदै छन् । नेपालको लगानीकर्ता वित्तीय संस्थामा कर्मचारी सञ्चयकोष सबैभन्दा ठूलामध्ये पर्छ । अहिले ६० अरब रुपैयाँभन्दा बढी रकमको धनी यस संस्थाले औद्योगिक तथा व्यापारिक कर्जामा समेत प्रवाह गर्छ । घरभाडादेखि जलविद्युत् योजनासम्मलाई यसले ऋण प्रवाह गरेको छ । यसको पूँजीको स्रोत निजामती, जंगी, प्रहरी, विद्यालय-शिक्षक, कर्मचारी आदिका तलबबाट कट्टा गरिएको बचत न हो । अमूक उद्योगका मजदुरले उद्योगपति, मालिक ठानिरहेका व्यक्ति र सञ्चालक वास्तवमा कर्मचारी सञ्चयकोष वा यस्तै वित्तीय संस्थाका ऋणी हुन सक्छन् । नेपालमा सानो व्यवसाय सफा टेम्पोदेखि पोखराको भव्यतम फूलबारी रिसोर्टसम्मका धन्दा वित्तीय संस्थाका लगानीमा चलेका न हुन् । यस्तो व्यवसाय सञ्चालन गर्न पूँजीको जोहो गर्ने कुरामा घरपरिवार, ससुरालीलगायत हितेरी-मितेरी साइनो सम्बन्ध, भुसतिघ्रेहरूसँगको साँठगाँठ, राजनीतिक पावरवालासँगको चलखेल, आफ्नै हैसियतजस्ता सामाजिक पुजी नेपालका सन्दर्भमा अपरिहार्य देखिँदै आएको छ ।

निष्कर्षमा
वित्तीय पुजीवादमा पुजी निर्माण, यसको वास्तविक स्वामित्वको आधिकारिकताजस्ता कुरा जटिल र गुजुल्टिएका छन् । मजदुर, पुंजीपतिजस्ता शब्द र सम्बन्धलाई नयाँ ढंगले विश्लेषण गर्नुपर्छ । एउटै व्यक्ति मजदुर र पुजिपति दुवै हैसियतमा प्रस्तुत हुने आर्थिक प्रणाली पनि छ हामीसँग । यो गुजुल्टो फुकाउन सामाजिक पूँजीको स्वरूप र संरचनालाई बुझ्नुपर्छ । औद्योगिक पूँजीवादी युगको चिरफार गर्ने औजारहरूले आज अलि काम दिँदैनन् । साँच्चै भन्ने नै हो भने समस्त नेपाललाई एउटै उत्पादन प्रणालीअन्तर्गत हेर्ने नै होइन । उदाहरणका लागि आदिवासी चेपाङहरूको, आदिवासी लिम्बूहरूको उत्पादनका प्रणाली, उत्पादनका सम्बन्ध हिन्दू औपनिवेशिक राज्यव्यवस्था, विकास र आधुनिकीकरणले वकालत गरेको र थोपरेको भन्दा फरक थियो र छ । राउटे उत्पादन प्रणाली र सम्बन्ध झनै फरक हो ।

सन् २००० तिर नर्वेको बर्गेनमा लोक सुब्बाले भन्नुभएको सम्झन्छुः “मार्क्सले धर्मलाई अफिमको लतसँग तुलना गरे तर उनले भविष्यमा मान्छेले मार्क्सवाद नै धर्मका रूपमा अनुसरण गर्नेछन् भन्ने अनुमान गरेनन् ।” नेपालका माक्र्सवादीले पनि मार्क्सवादलाई धामीझाँक्रीवादभन्दा फरक ढंगले अपनाए भने नेपालमा पूँजीको परिभाषा, चरित्र र स्वामित्वका विविधता केलाउन सफल हुनेछन् र नेपाली संस्कृति र समाजका विविधता पनि भिन्नाभिन्नै उत्पादन प्रणालीका पृष्ठभूमिमा बुझ्न सफल हुनेछन् ।

(चेम्जोङ: कोर्नेल विश्वविद्यालयबाट मानवशास्त्रमा विद्यावारिधि गर्दै छन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "वित्तीय पुँजीवाद र नेपाली समाज" A few seconds ago

सम्बन्धित खवर