बिजय परियारको जर्नादन शर्मालाई खुला पत्र ! – Satabdi News

बिजय परियारको जर्नादन शर्मालाई खुला पत्र !

विजय परियार

आदरणीय जर्नादन शर्मा प्रभाकर सर,
पछिल्लो समय भाईरल भएको नवराज विक हत्या काण्डको समाचार देखि सकभर आफुलाई टाढै राख्न खोजेको थिए । किनकि यस्ता कति घटना घटे अनि यक्तिकै सेलाएर गए । यो घटनाको हविगत पनि त्यहि हुनेत होनि भनेर ? तर जताततै नवराजको प्रसंगले मलाई पनि तानि हाल्यो । केहि दिन अगाडि फेसबुकमा तपाईका विरुद्धमा आएका स्टाटसहरु पनि पढे । नराम्रो लाग्यो । कारण नेपालका सिमित राम्रा नेता मध्ये एक तपाई पनि हुनुहुन्छ । यस्तो राम्रो नेताको बारेमा किन नराम्रो लेख्या होला भनेर जान्न मन लाग्यो । त्यतिबेला सम्म तपाईले के भन्नुभाको थियो भन्ने हेक्का थिएन मलाई । अनि युटुवमा तपाईले बोेलेको भिडियो खोजेर हेरे । अनि ति स्टाटसहरुको कारण बल्ल बुझे । अनि यो पत्र लेख्न मन लाग्यो ।

सर त्यो विचारसंग पटक्कै सहमत हुन सकिन सर । तपाईले भन्नुभाको छ कि घटना दलितको कारणले भएको हो भनेर । दलित आखिर के हो त ? जात हो कि समुदाय हो कि मानव हो कि दानव हो कि कठपुतली ? तपाईले भने जस्तै, घटना त नवराज विक भएर भएको रहेछ नि त ? नवराज पनि मल्ल जात नभएको भए यो नरसंहार नहुने रहेछ नि त ? अनि चेतनाबिनाको शिक्षाको डिग्रिको खोल ओडेका कति महानुभावहरु त यो जातको कारण घटेको घटना होईन भनि भुकिरहनु भाको छ त ? यो घटना त केटाहरुको हुल लगेर गाउँ गएकाले भएको होरे । तपाईका छोराले पनि यसैगरी कसैलाई प्रेम गर्यो अनि भगाउने सोच बनायो भने पक्कै पनि एक्लै जादैनन् होला हुल त पक्कै लगेर जान्थे । अब त्यो हुललाई तपाई युद्दको हुल भन्नु हुन्छ कि साथीको साथ भन्नुहुन्छ ? नवराज पनि उपल्लो जातको भएको भए सल्लाह हुने थियो होला । विभत्स हत्या पक्कै हुने थिएन । सल्लाह गरेर माग्न गएको भए त झन् परिवार नै सकिन्थ्यो होला । मायाँ गुमाउन नचाहेर नै भगाउन गएका हुन नि सर । लड्नै गएको भए त हुलसँग हतियार पनि त हुने थियो होला नि सर । त्यो हुललाई साथीको जन्ति भन्न मिल्दैन र सर ? तपाई जस्तो जनताको आशा अनि भरोसाको नेताले बोल्ने यस्तो शैलिले मनै चसक्कै बनायो सर ।

अनि अर्को कुरा तपाईले भन्नुभाको छ कि लकडाउनको बेला हुल बाडेर आउने केटाहरु को हुन् ? भनेर ति के को आमाले गुहार मागे पछि झडप भयो भनेर । तपाईले खै अर्कै केटीको आमाको कुरा सुन्नू भएछ क्यारे । किनकि ति आमाले नवराजलाई पहिला देखिनै चिन्थिन रे त सर ? गुहार दिने हरुपनि कमिलाको ताति जस्तै एकै वचनमा हुलकाहूल आएछन् अनि आक्रमण गरेछन् । कारण नै नबुझि । यूद्धमैदानमा सेनापतिको आदेश सँगै आक्रमण गरे जस्तो । विचरा हुलहरु गुहार दिन आउने बेला सम्म गूहार माग्नेलाई हेरी बसेछन् ।

तपाईले फेरी थप्नुभयो त्यतिबेला तत्काल वडा अध्यक्ष ज्युले प्रहरीलाई खबर गरे अनि प्रहरी पनि तत्काल त्यस ठाउँमा आईपुगेको छ । त्यसो हो भने प्रहरीे के रमिता हेर्न पूगेको रहेछ त सर त्यहाँ ? कि प्रहरी आधुनिक हतियार पुर्याउन गएको रहेछ सर ? नवराजहरुलाई आधुनिक तरिकाले मार्ने ताकि आईन्दा कोहि पनि तल्लो जातकोले माथिल्लो जातकोलाई प्रेम गर्ने आँट नगरोस भनि दम्भ देखाउन गरिएको सुनियोजित हत्या त होईन सर यो ? कि प्रहरीहरुलाई पनि किनियो सर इमान बेचेर । मान्छे त के पूरै सिस्टम किनबेच गर्नू हाम्रो देशमा कुनै नौलो कुरा त रहेन है सर । यदि यस्तै हो भने ति साहसीहरुलाई वोर्डर तिर पठाईदिए हुन्छ नि सर ? बहादुरी देखाउन ? अनि अर्को कुरा सर शान्तिपुर्ण प्रदर्शनमा गोली पड्काएर हजारौको भिड तितरवितर बनाउन सक्ने प्रहरीले जाबो अठार जना केटाहरुलाई किन समात्न सकेन ? किन नदिमा हामफाल्न बाध्य बनाईयो ? केटाहरु आफै नदिमा हाम फालेका हुन भने शरिरमा बाधेको डोरी चाहि के रहेछ सर ? कि नवराजको यस्तो अनुपम प्यार देखेर जलपरिले बाधिन नवराजलाई ? आफ्नो बनाउन । सर तपाई यति धेरै प्रश्न उब्जने गरी बोल्नु भएको छ कि उत्तर खोज्दा खोज्दा तपाई पनि उहि ड्याङको मुला भन्ने निष्कर्षमा पुग्न थाले म ।

अनि सर मलाई जान्न मन लागेको कुरा तपाईहरु भोटको लागी घर दैलो गर्दा नत जात देख्नु हुन्छ ? नत धनी नत गरिब नत पुरुष नत महिला ? सबै समान भन्दै भोट माग्नु हुन्छ र हामी पनि त्यसैलाई सत्य मान्दै भोट दिन्छौ । तर जब घटना घट्छन् किन दलितका घटनामा दलित नेताले मात्रै आवाज उठाउने, महिलाको सवाल मलिला नेतृले मात्रे उठाउने ? पिडितको आवाज बाल्ने अनि न्यायको लागि लड्ने कर्म अनि धर्म होईन र तपाईहरुको ? जनताले नेता बनाए कि नेताले जनता सर ?
यदि सर तपाईको पनि जिब्रो चिप्लिएको हो भने यसरी चिप्लिन दिनुभएन । तपाई जस्ता केहि चिप्लिएरै हो आज कालापानी, लिपुलेक, लिम्पियाधुरा जस्ता नेपालको भुमि गुम्न लागेको । यसरी नै चिप्लिने हो भने एकदिन अवश्य देश पनि चिप्लिने छ । यसरी नै नौ जवान युवा मार्ने अनि मार्नेलाई उन्मुक्ति दिन खोजियो भने आफै बुझ्नुस सर देश रहला त ? यदि नेपाल चार वर्ण छत्तीस जातको साझा फलुबारी हो भने दलितहरु पनि यो फुलबारीका फुल हुन नि । जहाँ नवराजहरु पनि फक्रिन पाउनुपर्छ । जसरी तपाई आफ्नो फुलबारीका फुलहरुलाई समानरुपले मलजल गर्नुहुन्छ नि सर त्यसरी नै नेपाल नामको फुलबारीका सबैलाई समान व्यवहार हुनु पर्छ । जुन अब तपाईले सुरुवात गर्नूपर्छ । नवराज हत्या काण्डमा संलग्न भनिएका तपाईका छिमेकि, आफन्त, नातेदारलाई बचाउन कदापि नलाग्नु होला । तपाईले भनेजस्तै तपाई कुनै राजनीती नगरी निष्पक्ष भएर सत्य तथ्यको अनुसन्धान गर्नुस र गराउनुस ? बच्ने बचाउने काम अदालते पक्कै गर्नेछ । यदि अदालतका अंगरक्षकहरु बेचिएनन् भने न्याय अवश्य हुने छ ।

यो नभुल्नु होला सर जर्नादन शर्माको नाम प्रभाकर पनि हो भनेर । प्रभाकर शब्दको ज्ञान त मलाई भन्दा तपाईलाई नि बढि छ । अनि तपाईलाई यो पनि थाहा छकि यो प्रभाकर नाम तपाईले कसरी पाउनु भो भनेर । तपाईको प्रभाकर नाममा प्रयत्नशिल भाईबहिना अनि दाजुदिदिहरुको कर्मको रगत मिसिएको छ । कर्मको रगतमा कूकर्म नमिसाउनु होला । तपाईलाई यो नाम दिलाउन बलिदान दिने मध्यमा ति दलित परिवारका कोपिलाहरु पनि छन् । जसको सपना फक्राउने जिम्मा तपाईको हो सर । नातावाद कृपावादले शहिदको त्याग नभुल्नुहोला । भेरी नदि त धमिलि सक्यो । न्यायको स्वच्छतालाई धमिल्याउने प्रयास तपाई अनि तपाई जस्ता देश बनाउनेहरु बाट कदापि नहोस ।

अन्त्यमा सर हामीलाई यस्तो अन्यायको विषय को-कसले उठायो भन्दापनि न्याय कसले दिलायो भन्ने कुराको बडो महत्व छ । जन्म दिने आमा भन्दा कर्मदिने आमा ठुलो जस्तै । तपाईले भने जस्तै दलितको विषय तपाईले पनि उठाउन पाउनु पर्छ । तर निष्पक्ष भएर । सत्य तथ्य बुझेर । जनताले जातियता, धनि गरिब, उचनिच जस्ता अमानविय तत्वलाई पराष्ठ गर्दै सुन्दर समाजको निर्माण गर्न चुनेका हुन तपाईहरुलाई । आशा गर्छू तपाई निष्पक्ष भएर काम गर्नूहूनेछ । म जस्ता चित्त दुखेकाहरुलाई फेरी अर्को क्रान्तिमा होम्न बाध्य बनाउनू हुनेछैन । म अनि म जस्ता हजारौलाई तपाईमाथिको भरोसालाई चुडिन नदिनुस । तपाई अनि हामी सबैलाई छुवाछुत, भेदभाव अनि न्यायमुखि समाजको हार्दिक शुभकामना …

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बिजय परियारको जर्नादन शर्मालाई खुला पत्र !" A few seconds ago

सम्बन्धित खवर