सपनाहरु अर्को जुनिमा पुरा गरौला है ! – Satabdi News

सपनाहरु अर्को जुनिमा पुरा गरौला है !

विजय परियार

प्रिय आमा परलोकबाटै भएपनि तिमिलाई न्यानो माया । क्षमा पाउँ आमा कति तिम्रा अनि कति मेरा इच्छाहरु पुरा गर्न सकिन । मेरा सपनाहरु अब त सपना पनि रहेनन् । थाहा छैन आमा कति दिन भो परलोकमा आएको पनि दिन त गन्नै छाडिदिए । एकदिन त उदाउँदो सुर्यसँगै मेरो पनि दिन आउला नी भनि धेरै दिन गनिरहन्थे, दिन त आयो तर मेरो आएन । अनि गन्नै छाडे दिनहरु । अब तिमि पनि दिन गनेर नबस्नु है आमा किनकि दिन त हुने खानेहरुले आफ्नो नाममा गर्ने रहेछन् झिसमिसेमै । दुखि, गरिब अनि दलितका पनि दिन आउलान् भन्नु त पश्चिमबाट सुर्य उदाउनु जस्तै रहेछ ।

आमा सुनेको थिए, प्रेमले संसार जितिन्छ भनेर तर होइन रहेछ आमा । संसार त युद्धले जितिने रहेछ । युद्धको अगाडि म र मेरो प्रेम टिक्नै सकेन आमा । म रोए, कराए, भावविव्हल भएर विन्ति विसाए, सके जति त प्रतिकार पनि गरे तर अहँ सकिन आमा दानवको वस्ति रहेछ जो ।

दोष उनीहरुको मात्रै पनि थिएन होला, दोष मेरो मात्रै पनि थिएन होला, दोष दलितको छोराले उपल्लो जातकोलाई प्रेम गर्नू पनि थिएन होला । सायद दोष त सदिँऔ देखि एउटै मान्छेलाई सानो जात अनि ठुलो जात भनि विभाजन गर्नू मै रहेछ । नत जात विभाजन हुन्थ्यो नत उनी र म तल्लो अनि उपल्लो जातको हुने थियौ । नत म र मेरा साथिहरु त्यो कलकल बगिरहने भेरीमा विलिन हुनु पर्थ्यो । हुनत आमा सदिँऔ देखि चलिआएका धेरै कुराहरु परिवर्तन भए । मान्छेहरु शिक्षित बन्दै गए । कति अन्धविश्वासहरु फेरिदै गए तर जात माथिको अन्धविश्वास अझै फेरिन सकेन । आमा तिमी मलाई भन्थ्यो नि तैले पढेको होर  सडेको हो भनेर ? त्यसतै यहाँ कति मानिस पढेरै सडेका छन् । समानताको नाममा झन् तार्किक भेदभाव गर्छन । भाषण हामी अब सबै एक भनेर गर्छन तर व्यवहार म एक भनेर गर्छन । जातलाई त पुर्खाले आर्जेको सम्पति जस्तै गरी मन अनि मस्तिष्कबाट हटाउँनै चाहदैनन् । यिनीहरुको कोट भित्रको खोट निकाल्न साह्रै गाह्रो छ आमा । मत बच्न सकिन तर तिमि सकेसम्म बचेर हिड्नु है यो स्वार्थी समाजबाट मेरी आमा ।
यहाँ म जस्ता धेरै छन् आमा जसले अझै न्याय पाएका छैनन् । सदिऔ देखि त्यो एकदिन पर्खेर बसेका छन् । तर आमा तिमी चिन्ता नगर, म त्यो दिन पर्खेर बस्दिन । १२ वर्षमा त खोलो पनि फर्किन्छ रे भन्ने उखान, उखान मात्र हो रहेछ भन्ने मैले बुझिसके । यतिका समय भयो नत चुलो छोएको निहुमा ज्यान गुमाएका मनवीरे सुनारलाई लग्ने खोला फर्कियो नत बलात्कारपछि हत्या गरिएकि श्रेया सुनारलाई लग्ने खोला फर्कियो । अन्याय सँगै बगेका यस्ता हजारौ खोला न्याय लिएर आजसम्म फर्केका छैनन् । हाम्रा चेलिबेटिलाई बन्धकोठा भित्र कालो विस्तारमा भोग गर्दा उपल्ला जातले जात देख्दैनन् । जब त्यसको विरुद्धमा आवाज उठ्छ अनि बल्ल तिनिहरुको स्वर्गिय आनन्दबाट आखाँ खुल्छ अनि आवाज दबाईन्छ नदबे घाँटि दबाइन्छ । झुमा विकलाई जस्तै, रुपमतीकुमारी दासलाई जस्तै, माया विकलाई जस्तै ।

आमा तिमी कानुन छ भनि भ्रममा पनि नपर्नू है । कानुन त किताबको पाना भित्रै च्यापिएर बसेको छ । भेरीको भुमरीमा म रुमलिए जस्तै कानुन नामको किताब पनि मुर्खहरुको हातमा पिरोलिरहेको छ । हाम्रो नामको न्यायको पाना कहिल्यै पल्टिनै पाउँदैन अझ भनौ पल्टाउनै दिदैनन् । भन्छन् नि आमा सानालाई एैन ठुलालाई चैन त्यस्तै रहेछ । कानुन हुने खानेका लागि रहेछ । कानुन ठुलाबडाका लागि रहेछ अझ भनौ कानुन राजनिति गर्नेहरुका लागि रहेछ । नत्र कानुन बनेको यतिका समय हुदाँपनि छुवाछुत अनि भेदभावका घटनाहरु कहिल्ये घटेनन् बरु झन् नयाँ नयाँ स्वरुपमा थपिदै छन् किन ? न्यायको तराजुको आखाको पट्टि पनि भ्रम रहेछ आमा जहाँ न्याको पल्ला कहिल्यै भारी भाको छैन । होस पनि कसरी जब-जब न्यायको पल्ला भारी हुदै जान्छ तब-तब अन्यायले पैसाको बिटो थप्दै जान्छ । कानुनका अंगरक्षक भनिनेहरु बेचिदै जान्छन् । सरोकारावालाहरु कराउँदै जान्छन् सरकार कान थुन्दै जान्छ । दुखि, गरिब अनि दलितको सरकार भएन यहाँ ।

प्रिय आमा

म घरको भित्तामा त पहिल्यै थिए मुसुक्क हास्दै अडेको थिए । तर जब ढले हरेकको फेसबुकको भित्तामा ठडिएको छु । अनलाईनको पानाभरी भरीएको छु । टिभिको पर्दाभरी सजिएको छु । पत्रिकाको पानाभरी कोरीएको छु । यो सब देख्दा तिमी कम्ता रुदि हौ । तिमि कम्ता भावविव्हल भएर मुर्छा पर्दि हौ । तिमी यसको कुनै सुर्ता नगर्नु है । मेरो न्यायको लागि यो सब गर्दैछन् । हिजो त दमै, म कामि, त सार्की आदि ईत्यादि भन्दै त भन्दा म ठुलो भन्दैै, दलित भित्रै विद्रोह गर्नेहरु पनि अहिले एक भाका छन् । दलितहरु एक भएर फेरि अर्को काण्ड गर्छन कि भनेर तिमी चिन्ता नगर्नू आमा । किनकि यि सबैका भित्ताहरुमा मेरो फोटाहरु हराउँदै जान्छन्, बिना हुरी यो जमात पनि हराउँदै जान्छ । यो मानवता हराएको स्वार्थि समाजमा तिम्रो छोराको न्यायको लागि लड्छु भन्ने हरु पनि हराउँदै जान्छन् । अर्को चुनावमा म तिम्रो छोरालाई न्याय दिलाउछु भन्दै झुटा आश्वासन बाड्दै भोट माग्न आउलान् आमा । ति जाली नेताको झन् कक्ति पनि भर नपर्नु है । तिम्रो एक भोट भन्दा मल्ल गाउँको दुईसय भोट नै ठुला नि आमा नेतालाई । समाज परिवर्तन गर्छु देश बनाउँछु भन्दै गएका नेताहरुको बोली पनि सुनियो । काम पनि देखियो । यहाँ सबैलाई आफ्नो दुनो सोझाउदैमा फुर्सद छैन । आमा म भेरी नदिको भुमरीमा ठक्कर खाएर ढलिसके । न्यायको भुमरीको ठक्करमा तिमी नपर्नु है । तिमि नढल्नु है । यो भिड हराए पनि म मन्द हावाको सुवास सगै वहिरहने छु । तिम्रो न्यानो अनि निस्वार्थ मायाँ स्पर्श गर्नेछु ।

प्रिय आमा

मैले न्याय पाउँदै नपाउने पनि होईन । आज मेरो नाममा एकजुट भएको यो भिड कसैसँग नबिके अनि नझुके त मेरो मात्र होईन वर्षौ देखि न्यायको दिन पर्खि बसेकाहरु सबैको दिन आउने थियो । तिमी भन्थ्यौ नि आमा घर बलियो हुन थाम, निराल अनि दलिन बलियो हुनुपर्छ भनेर । म अनि हामी सबैले न्याय पाउन समाजले बनाइदिएको हाम्रो दलित भन्ने घर पनि बलियो हुनुपर्छ । दमै थाम भए, कामी निराल बन्नुपर्छ, सार्की दलिन बन्नुपर्छ । यो घर जति नै स्केलको भुकम्प गए पनि ढल्नु हुदैन । सम्पुर्ण जातका दलितहरु केहि न केहि रुपमा अडिनु पर्छ । एउटै छानो भित्र मिल्न सक्नु पर्छ । अनि मात्र यो न्याय सम्भव हुन्छ आमा । आमा जतिपनि दलित आन्दोलनको नाममा काम गर्नेहरु छन् नि, तिनिहरुले सबैभन्दा पहिला हामी दलित भित्रको भेदभाव हटाउन सक्नु पर्छ । व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्नु पर्छ । रोटि र बेटि, आनी बानी र पानी निसंकोच साट्न सके भने ढुक्क हुनु आमा तिम्रो छोराले न्याय पाउने छ भनेर । अहिले मेरो नाममा तातेको यो सञ्जाललाई यहि भन्न मन छ । तर के गर्नु आमा तरबारले चिरफार गरिएको यो राताम्मे शरीर अदृश्य भएको छ । रिस त यति उठेको छ नि आमा कोरोना भाईरस बनेर अन्याय गर्ने अनि मेरो प्रेमको हत्यागर्नेहरुको शरीर भित्र छिरेर साम्राज्य बनाउ ! जातको नाममा उदंग मच्चाउने समाजको बिचमा गएर आत्मघाति बम विस्फोट गरौ अनि सबैलाई सखाप पारीदिउ तर के गर्नू आमा म त मायाँले नै संसार जितिन्छ भनि विश्वास गर्ने जो परे ।

हुन त यत्रो कोरोना भाईरसले बुझाउन नसकेको मान्छेलाई कसले पो बुझाउन सकोस कि अजम्बरी जीवन कसैको पनि छैन भनेर आमा । कसले बुझ्योस कि जीवन आखिर मरेरै जाने हो भनेर । कसले सम्झियोस कि दुई दिनको जिन्दगानीमा सबैसँग मिलेर बाँचौ भनेर । कसले बुझाईदिईयोस कि हामी मानिस सबै भन्दा चेतनशील प्राणी हो भनेर ?

प्रिय आमा

जबसम्म मान्छेहरुको मन अनि मनै देखि व्यवहार फेरिदैन नि शताब्दि नै फेरियोस तबसम्म केहि हुने वाला छैन । अरु जे जस्तो भए पनि आमा तिमी चाहि फेरिनु है । सबैलाई माया गर्नु है । घृणा शत्रुलाई पनि नगर्नू है । अनि तिम्रा आखाँका गहभरी आसु हुने गरी मलाई नसम्झनु है ।

आशा गर्छु यो युग फेरीने छ । युगसँगै मान्छे लडाउने यो कुसंस्कार फेरिने छ । मान्छेको मन फेरिने छ । अनि मन सँगै विचार अनि व्यवहार फेरिने छ । पढेकाहरु सड्ने छैनन् । कोटभित्र खोट हुने छैन । कानुनको चपेटाबाट न्यायको पाना बारम्बार पल्टिने छ । अनि म तल्लो जात माथिल्लो जात भएर होईन मान्छे भएर पुर्नजन्म लिनेछु । प्रेमले जित्ने नयाँ युगमा तिम्रो कोखबाट फेरी जन्म लिनेछु अनि यो जुनिमा पुरा हुन नसकेका तिम्रा मेरा सपनाहरु पुरा गरौला है आमा…!

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सपनाहरु अर्को जुनिमा पुरा गरौला है !" A few seconds ago

सम्बन्धित खवर