लघुकथा "कपाल" – Satabdi News

लघुकथा “कपाल”

भानु दाहाल

बेडमा जानु अघि ड्रेसिङ टेबलको ठुलो ऐनामा हेरेर स्तुतिले निक्कैबेर कपाल सुमसुम्माइन । वतासले कपासको बोटबाट भुर्रर भुवा उडाए जस्तै उनको शिरबाट केही थान केस भुईँमा झरे ।

दिनदिनै आफ्नो कपाल पातलो हुँदै गएकोमा उनी खुबै चिन्तित थिईन् । यति सम्म सोच्न थालिन् कि सपनामा पनि कपाल नै आउँन थाल्यो ।

कपाल नझरोस् भनेर उनले के मात्र गरिनन् ! विज्ञापनमा देखाईएका स्याम्पु देखी तेल सम्म, सुन्तलाको बोक्रा देखी कुखुराको अण्डा सम्मको पेस्ट बनाएर दलिन् । अहँ..झर्ने सिलसिला भने केहि गरी रोकिएन ।

बेडमा पल्टिएर कपालको केस्रा–केस्रा केलाउदै सोच्न थालिन् । झल्यास्स स्मृतिमा विवेक आईपुग्यो । स्कुल पढ्दाको पहिलो प्रेमी हो विवेक । एकदिन उसले कपाल मुसार्दै भनेको थियो, ‘तिम्रो यहि बाक्लो कपालले त म फिदा भएको हुँ नि काली !’

उनको कपालसँग फिदा नहुने को नै थियो र ! भेट्ने जो कोहीले एकपटक उनको कपालको प्रशंसा गरेकै हुन्थ्यो । पछिपछि त त्यही सुन्दर कपालले नै उनको पहिचान बनाउँन थालेको थियो ।

त्यति महत्व राख्ने कपाल जति मेहनत गरेर स्याहार गरेपनि झर्ने क्रम रोक्न सकिनन् । चिन्ताको पारो झन्झन् बढ्दो थियो ।

एकदिन पार्लरमा भेटिएकी एकजना दिदीले भनिन्, ‘एकपटक जरै देखी ब्लेडले खौरेर फालिदेउ । त्यसपछि बाक्लो र दर्हो भएर आउँछ ।’

यो कुरा त उनले अरुको मुखबाट पनि सुनेकी थिइन् । तर, काटेर फालिहाल्ने आँट आएको थिएन । आफ्नो पहिचान बनाएको, यत्रो बर्ष लागेर बनेको कपाल कसरी एक झट्का मै काटेर फाल्नु ? उनी दोधारमा परिन् ।

काटौँ कि नकाटौँ भनेर मन भित्र उब्जिएका संवेगको मन्थन गर्दागर्दै धेरै दिन वित्यो । अन्ततः फेरी बाक्लो भएर पलाउँछ भन्ने आशमा उनले कपाल खौरिने बोल्ड निणर्य गरिन् । टाउकोमा ब्लेड लाग्यो ।

आफ्नो मुडुलो टाउको फोटो सामाजिक संजालमा पोस्ट गर्दै क्याप्सन लेखिन्–

‘केटी मान्छेले मात्र कपाल पाल्नु पर्छ भनेर कहाँ लेखिएको छ ? कपालले लिङ्ग छुट्याउने प्रचलन कसले चलायो ? हामीले चाँही किन बाचुन्जेल यो भारी बोकिरहनु पर्ने ? यो बोझ मैले त फालेँ । आउँनुस् यो अभियानमा हातेमालो गरौँ । परिवर्तनको सुरुवात आजैबाट हामीले नगरे कसले गर्छ ?’

पोस्ट एकाएक भाईरल भयो । पक्ष र विपक्षमा हजारौँ प्रतिक्रिया आउँन थाले । धेरैको प्रसंशा पाईन् । कतिपयले तुच्छ गाली पनि गरे । कमेन्टमा सयौँ युवतीले यो अभियानमा साथ दिने प्रतिबद्धता जनाए ।

युट्युब, अनलाईन पोर्टल, पत्रपत्रिका, टेलिभिजनमा उनको चर्चा हुन थाल्यो । अन्तर्वार्ता दिन भ्याईनभ्याई भयो। बिभिन्न सामाजिक संस्थाहरु, अभियानको कार्यक्रममा बक्ताको रुपमा बोलाउन थाले ।

हुँदाहुँदा अन्तराष्ट्रिय मन्चमा समेत निम्त्याइयो । हरेक मन्चमा ‘कपाललाई लैगिंक पहिचानको रुपमा हेरिनु गलत हो’ भन्ने तर्क जोडतोडले प्रस्तुत गरिन् ।

एकाएक आँफु समाजको रोलमोडल बनेको, ख्यालख्याल मै अभियान भाईरल भएकोमा उनी आँफै अचम्ति भईन् । सपना जस्तो लाग्यो ।

अब त उनलाई नियमित कपाल खौरिनै पर्ने बाध्यता पर्न थाल्यो । कपाल पाल्यो भने आफ्नै अभियानले उल्टै आँफैलाई खेद्ने निश्चित थियो ।

तर, भित्री मन देखी उनलाई लामो, बाक्लो कपालकै रहर थियो । उहि पुरानो कपालको माया थियो । त्यहि कपालले बनाएको पहिचान प्यारो थियो ।

त्यसैले होला पार्लरमा पहिलो पटक काटेको लामो कपाल प्लाष्टिमा प्याक गरेर सँधै साथमा लुकाएर हिड्थिन् । मौका मिल्दा सुमसुम्माइ रहन्थिन् ।

एकदिन उनले बजारबाट आफ्नो जस्तै देखिने नक्कली कपाल किनेर ल्याईन् । हरेक रात सुत्नु भन्दा अगाडि टाउकोमा लगाउने गरिन् । बिहान निकालेर राखिन् ।

आज पनि बेडमा जानु अगाडि ड्रेसिङ टेबलको ठुलो ऐनामा हेरेर उनले निक्कै बेर उसैगरी कपाल सुमसुम्माइन् । न रौँ झरे, न वास्ना आयो, न कपाल जिवित भएको महशुस नै भयो ।

विगत सम्झिएर मुटु गाँठो पर्‍यो। टाउकोमा घुसारेको त्यहि कृतिम कपाल अँगालो मारेर कोल्टे फेर्दाफेर्दै उनी निदाईन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "लघुकथा “कपाल”" A few seconds ago

सम्बन्धित खवर