२१ मंसिर, काठमाडौ । ओखलढुङ्गा रुम्जाटारका अविश गुरुङ पेसाले हेलिकप्टर पाइलट हुन् । उनले फिलिपिन्सबाट पाइलट ट्रेनिङ पूरा गरेपछि हेलिकप्टर उडाउन सुरु गरेको दुई वर्ष भयो । पाइलट ट्रेनिङले जागिर दिलाए पनि उनको औपचारिक पढाइको रहर भने मेटिएको थिएन । विदेशी पर्यटकलाई लिएर अधिकांश समय हिमालतिर उडिरहने उनले स्नातक तह अध्ययन गर्न उपयुक्त विषयको खोजी गर्ने क्रममा ‘ब्याचलर अफ् माउन्टेनियरिङ स्टडिज’ (बीएमएस)का बारेमा थाहा पाए ।
नेपाल माउन्टेन एकेडेमीले पर्वतीय पर्यटनको विकासका लागि आवश्यक जनशक्ति उत्पादन गर्न नेपालमै पहिलोपटक सुरु गरेको बीएमएस कार्यक्रमका उनी दोस्रो ब्याचका विद्यार्थी हुन् । उनी भन्छन्, ‘दुर्गम क्षेत्रमा हेलिकप्टर उडान गर्दा आइपर्ने कठिनाइ सामना गर्न यो विषय पढ्दा सिकेका सीप धेरै काम लाग्छन् । दुर्गममा हेलिकप्टरबाट उद्धार गर्नुपर्ने हुन्छ, त्यस्तो बेला हेलीमा स्ट्रेचर राख्न सम्भव हुन्न तर डोरीबाट स्ट्रेचर बनाएर सजिलै घाइते वा बिरामीको उद्धार गर्न सकिने रहेछ । त्यस्तो सीप मैले यही आएर सिकेँ ।’
पर्वतीय पर्यटनको प्रवद्र्धन र विकास गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहने गरी स्थापना भएको ‘नेपाल माउन्टेन एकेडेमी’ले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई २०७४ बाट स्नातक तहमा ‘बीएमएस’ पढाइरहेको छ । हाल अन्य कार्यक्रम समेत थप गरेर स्नातकोत्तर तहमा ‘मास्टर अफ एडभेन्चर टुरिजम स्टडिज’ (म्याट्स) र ‘मास्टर अफ साइन्स इन् माउन्टेन एन्ड माउन्टेनियरिङ साइन्स’ (एमएससी एमएमएस) समेत सञ्चालन गरिरहेको छ ।
‘एमएससी एमएमएस’ सेकेन्ड सेमेस्टरका विद्यार्थी अनिश दाहाल भन्छन्, ‘नेपालमा माउन्टेनियरिङको अध्ययन अध्यापन एकदमै भर्जिन विषय हो । हिमालै हिमालको देश नेपालका हिमालका बारेमा अधिकांश अध्ययन अनुसन्धान विदेशीले गरिरहेका छन् । हिमाल हाम्रो भए पनि यसको ज्ञानमा हामी धेरै पछाडि रहेको बीएमएस र एमएससी एमएमएस अध्ययन गर्दा महसुस गरेको छु,’ उनले थपे, ‘यही ग्यापलाई पूरा गर्न सँगै पढेका हामी केही विद्यार्थी मिलेर एचआईटीईडी नामक कन्सल्टिङ फर्म दर्ता गरी काम गरिरहेका छौँ । यो फर्मका माध्यमबाट पर्वतारोहणको अनुभव र सीप भएका तर व्यावसायिक ज्ञान न्यून भएकालाई व्यवसाय गर्न सहयोग गरिरहेका छौँ ।’
एकेडेमीका कार्यकारी निर्देशक अर्जुन राईले यहाँ सञ्चालन भइरहेका शैक्षिक कार्यक्रमको सबैभन्दा सबल पक्ष नै सैद्धान्तिकसँगै फिल्ड अध्ययनको व्यवस्था रहेको बताए । उनी भन्छन्, ‘विद्यार्थीलाई कल्चरर टुर, बेस क्याम्प ट्रेकिङ, ६ हजार र ७ हजार मिटरको हिमाल आरोहण लगायत माध्यमबाट व्यावहारिक ज्ञान दिलाउने गरिएको छ ।’
सैद्धान्तिक र व्यावहारिक ज्ञानको संयोजनबाट पर्वतीय पर्यटनको क्षेत्रमा आवश्यक दक्ष व्यवस्थापकीय जनशक्ति उत्पादन गर्ने लक्ष्य एकेडेमीले राखेको छ । नेपालमा पर्वतारोहणमा अत्यन्त अनुभवीको बाहुल्य भएको तर उनीहरूलाई सैद्धान्तिक ज्ञान आवश्यक रहेको अवस्थामा एकेडेमीको भूमिका महत्त्वपूर्ण हुने जानकार बताउँछन् ।
एकेडेमीले माउन्टेनियरिङमा अध्यापन सुरु गरेपछि यहाँ अध्ययन गरेका विद्यार्थी विभिन्न एक्सपिडिसन कम्पनीको व्यवस्थापन सम्हालिरहेका छन् । पर्वतारोहणसँग सम्बन्धित व्यवसाय पूर्ण रूपमा अनुभवमा आधारित रहेर पारिवारिक व्यवसायको रूपमा सञ्चालन भइरहेको अवस्थामा सम्बन्धित विषयको औपचारिक पढाइले व्यवसायलाई नै आधुनिकीकरण गर्न मद्दत पु¥याउने सेभेन समिट ट्रेक्स प्रालिका मेनेजर थानेश्वर गुरागाईंले बताए । ‘एकेडेमीबाट बीएमएस गरेका अशोक नेपाललाई हेड हन्ट गरेर कम्पनीको एचआर प्रमुखको रूपमा लिएर गएको छु,’ गुरागाईंले भने, ‘मलाई विश्वास छ, यहाँ पढेका विद्यार्थीले व्यवसायलाई अगाडि लैजान धेरै सहज हुनेछ ।’ विद्यार्थीमा सैद्धान्तिक र व्यावहारिक ज्ञान दुवै हुने भएकाले कम्पनीमा कर्मचारीको रूपमा लिँदा व्यवसाय सञ्चालनमा धेरै सहयोग पुगिरहेको उनको अनुभव छ ।
गत अटम सिजन (शरद ऋतु)मा बीएमएस सातौँ सेमेस्टरका २७ विद्यार्थीमध्ये १८ जनाले ६,१४४ मिटर अग्लो थोरङ पिकको सफल आरोहण गरे । त्यस्तै, स्प्रिङ सिजनमा ७,१२६ मिटर उचाइको हिमलुङ हिमालको समेत सफल आरोहण विद्यार्थीले गरेका थिए । विद्यार्थीले पर्वतारोहण मात्र होइन, उच्च हिमाली क्षेत्रमा गएर विभिन्न विषयमा अनुसन्धान गर्न समेत सिकिरहेका छन् । त्यसरी गएका विद्यार्थीमध्ये प्रशान्त गिरी र आभास अर्यालले आफ्नो फिल्ड अध्ययनमा आधारित भएर काठमान्डु विश्वविद्यालयको प्रकाशन क्विमिको मा ‘रुट म्यापिङ एन्ड एनालाइसिस अफ् यालुङ री पिक, गौरीशंकर कन्जर्भेसन एरिया, नेपाल’ लेख समेत प्रकाशित गराए । स्नातक तह अध्ययन गर्दागर्दै अनुसन्धानमूलक लेख लेख्न प्रयास गर्नु विद्यार्थीको प्राज्ञिक यात्राका लागि राम्रो सुरुवात रहेको एकेडेमीको एमएससी कार्यक्रमका कोअर्डिनेटर अनिल भण्डारी बताउँछन् ।
कृषि विज्ञानमा स्नातक गरेका सोलुखुम्बुका बबिन श्रेष्ठले पर्वतीय पर्यटनमा प्रचुर सम्भावना देखेर स्नातकोत्तर तहमा विषय परिवर्तन गरेका थिए । एकेडेमीको ‘म्याट्स’ पहिलो ब्याचका विद्यार्थी श्रेष्ठ पढाइ पूरा हुनेबित्तिकै एकेडेमीको बीएमएस फ्याकल्टीमा समेत आबद्ध भएका छन् । पर्वतीय पर्यटन रणनीतिक व्यवस्थापनका माध्यमबाट नेपालले पर्यटन क्षेत्रमा आशातीत रूपमा फाइदा लिन सक्ने उनको विश्वास छ ।
एकेडेमीका प्रमुख शिवप्रसाद जैसी भन्छन्, ‘अहिलेका नेपालका ठुला भनिने अधिकांश एक्सपिडिसन कम्पनीमा हाम्रा विद्यार्थीले काम गरिरहेका छन् । गिनिजबुक वर्ल्ड रेकर्ड होल्डर निर्मल पुर्जाको कम्पनी इलाइट एक्सपिड, पायोनियर एडभेन्चर, डके, एभरेस्ट शेर्पा, सेभेन समिट लगायत नाम चलेका एक्सपिडिसन कम्पनीहरूको व्यवस्थापन तहमा रहेर हाम्रा विद्यार्थीले काम गरिरहेका छन् ।’
एकेडेमीले नेपालको आवश्यकतालाई मध्यनजर गरी पाठ्यक्रम तय गरेको छ । बीएमएसमा ‘ट्रेकिङ एन्ड पिक क्लाइम्बिङ म्यानेजमेन्ट’, ‘सेफ्टी एन्ड सेकुरिटी अपरेसन्स’, ‘माउन्टेन सेफ्टी प्रोटोकल्स’, ‘माउन्टेनियरिङ प्लानिङ हाई अल्टिच्युड हस्पिटालिटी’ लगायत विषय पढाइन्छ । त्यस्तै, म्याट्समा ‘इ–टुरिजम’, ‘एडभेन्चर’, ‘टुरिजम अपरेसन्स एन्ड म्यानेजमेन्ट’, ‘डेस्टिनेसन्स प्लानिङ’, ‘डेभलपमेन्ट एन्ड म्यानेजमेन्ट’, ‘सस्टेनेबल माउन्टेन टुरिजम डेभेलप्मेन्ट’, ‘स्ट्राटेजिक टुरिजम म्यानेजमेन्ट’ लगायत विषय पढाइन्छ । पर्वतीय विज्ञानको क्षेत्रमा आवश्यक प्राज्ञिक अनुसन्धानकर्ता उत्पादन गर्न गत वर्षबाट मात्र एकेडेमीले एमएससी कार्यक्रम सुरु गरेको हो । एमएससीमा विद्यार्थीलाई ‘जीआईएस एन्ड रिमोट सेन्सिङ’, ‘ग्लेसियल जियोमोर्फोलोजी’, ‘डाइनामिक्स अफ् स्नो’, ‘आइस एन्ड ग्लेसियर’ लगायत विषय पढाइन्छ । एमएससीलाई अझ बढी प्रयोगात्मक बनाउन अन्तिम वर्ष पूर्ण रूपमा फिल्ड वर्क गर्नुपर्ने गरी पाठ्यक्रम तयार गरिएको छ ।स्रोत; रातोपाटी