लक्ष्मी राना मगर
पढाई सबै बन्द, जागिर सबै बन्द, जिन्दगीमा अलि अलि भएको आशाको किरण पनि निभ्नै लागेको दियो जस्तो ! दुई तिहाई सरकारको आफ्नै तरिका छ । मन्त्रालयको घुम्ने कुर्ची माथि बसेर घरी स्वस्थ्य सेवामा लागी पर्ने डाक्टरलाई स्पष्टीकरण माग्न र कार्बाहीको लागि चिट्ठी तयार गर्छन्, कतै सडकमा खटिएका प्रहरी माथि कार्बाही अनि त्यो भन्दा ठूलो कोरोना कोष बढाउन र सकाउन पट्टि व्यस्त छन् । कहाँ छ जनताको कथा बुझ्ने ठाउँ ? खै कता छ युवाको जोस जागरलाई उजागर गराउने सरकार ? अहिले सबै लकडाउनले गर्दा घर भित्र थुनिएर बसेका छन् । हुने खानेहरुलाई त सहज होला तर ती कोठा बहालमा बस्ने जनता, ज्यालादारी गरि पेट पाल्ने ती जनताको दुःख के त ? ज्यानको माया हामीलाई पनि त छ नि, तर ज्यान पाल्नलाई पनि त कुनै न कुनै आधार हुनु पर्यो नि होइन र ? यस्तो लाग्छ घर भित्र त बसियों तर यहाँका गरिब जनतालाई कोरोनाले होइन सरकार भोकमरी र अभाबले मर्दैछन् ।
हो ! मान्यौ हामीले सरकारले भनेको घर भित्रै बसेउ लाग्दैथ्यो जे-जे छ, त्यही खाउ तर नमरौं तर असलमा जिन्दगी कहाँ सजिलो छ र, गर्ने के ? २/४ रुपैयाँ आउने जागिर पनि बन्द छन् त्यति मात्र कहाँ हो र त्यही २/४ रुपैयाँ पनि कोरोनाको नाममा काट्छौ ? अरे सरकार हामी युवाले तिमी बाट सिक्ने के त ? गरिब जनताहरु हिडेरै घर-घर पुगे तिनिहरुले भोगेको खाली पेटको दुखको मूल्याकंन खै ? म ती पैदल यात्रीहरुलाई यहीभन्छु ” दाजुभाइ दिदिबहिनी, ठिक गरेउ तिमी हिडेरै घर पुगेर, तिमि जत्तिको बहादुरी त को होलान् यो दुनियाँमा, अब तिमी घर पुग्यो अब सरकारले भने झै १४ दिन क्वारेन्टाइनमा बस, घरको छ्त त गाउँमा पक्कै छैन अब तिमी खरको छानो भाको बर्षामा चुहिने धुरी चढेर राष्ट्रिय गीत गाउँ, कोरोनाको लागी ताली पिट, यति मात्र कहाँ हुनु स्थानीय तहका ठुलाहरुलाई भोट हालेर जितायौं अब तिनीहरुको जय जयकार गर.. बाचे बाच मरे मर, खाए खाउ नखाए, नखाउ, देशको कानुन र संबिधानको बकैदाले पालना गर्नु बाकी सरकारले जे जे भन्छ त्यही गर, चिन्ता नगर तिमी कोरोनाले होइन भोकमरी र गरिबिले मात्र मर्नेछौ, ढुक्क हुनु जीत तिम्रै हुनेछन् । आज हेर उज्यालो भबिष्य कोर्ने पढाई खोसिए, २/४ रुपैयाले पालिने यो शहरको जागिर खोसिए, युवाका आशाका ती किरण बल्न नपाउदै खोसिए, बन्द कोठा भित्र के छ कस्तो छ त्यो बुझ्न परै जावस् त्यही बन्द कोठा भित्रको बाच्ने आधार खोसिए, तिम्रा लागि खोलिएका ती भाटभटेनी/सुपरमार्केटले गरिब जनताको खुसी खोसिए, सरकार अब त लागी सक्यो तिम्रा खुशीका लागी थुनिएका जनताहरु तिमी माथि थुक्दै हिड्न थाल्नेछ ।
तिमीले मन्त्रालय भित्र बसेर आदेश दिए जस्तो सजिलो कहाँ छ हामीलाई, कोरोना भाइरस भन्दा ठूलो भाइरस त यहाँ भोकमरी भाइरस छन्, गरिबी भाइरस छन् अनि अभाबको भाइरस छन् बुझ्छौ ? र के तिमी ? तिमी त चिल्ला कारभित्र बसे पनि समयमा भत्तातलब आएकै छ । त्यति मात्र कहाँ होर राज्यको कोषबाट पनि गोजि भरेकै छौं, ढुक्क छौं नि । तिमी त बर्ष दिन लकडाउन हुदा पनि तिमीहरूलाई केही फरक पर्दैन फरक त यहाँ जनतालाई पर्छ । बुढा बा आमा, साना साना नानि बाबुहरु को चिन्ता छोड तिमी चिन्ता यहाँ युवाको छ युवा बलियो हुन साथ ती बुढा बा-आमा, साना नानी बाबूहरु बाच्नेछन् तर यहाँ युवा जमात नै अन्यौलमा छन् । भबिष्य हिजो आज अन्धकार छ सोच न सरकार अब घर परिवारलाई खुसी दिन्छु भनेर अगाडि बढेको युवाको सोच र भरोसामा नै टुङ्गियो भने बाकी आशाका किरण कहाँ बाट बाल्नु ? सरकार तिमी नै बाच न, मर्ने त जनता हुन् नि किन डराउछौ ? तिमीले बनाएको समृद्धि नेपाल कहाँ बाट बनाउछौ ? जब कि युवा जोशलाई थुनिएर राखी दिए पछि ? आज युवाहरु घरको झ्यालबाट बाहिरी बाताबरण चिहाएर बस्नुको बिकल्प छैन । लाग्दैछ कोरोनालाई बन्द घर भित्र र सामाजिक दुरिले होइन भोकमरी र गरिबीले जरुर जित्नेछ । भुइँ मान्छे के हुन् भनेर सोधिहाले भने ती भोकभोकै घर पुग्ने पैदलयात्रीलाई सोध्नु ? आफुहरुलाई लाचारी मान्नु भन्दा पहिला ती भोट माग्दै हिड्ने नेतालाई भन्नु ” अरे नेता ज्यु नमस्कार ! चुनाब अब कहिले हुन्छ १/२ भोट त हजुर कै नाममा खसाल्नु छ नि …” । समाजवाद संकल्प र लोकतान्त्रिक बिचारधारको मजाक बनाउछ, मार्क्सवादी बिचारधाराको खोस्टो ओढेर जनतामा पुर्याउने झुट्टा बचनलाई हामी युवाले जय जय कार नै गर्नु पर्छ । यस्तो लाग्छ यो मेरो देश सामान्य खालको देश होइन,जहाँ सहि कुराको आवज उठाउने सामान्री कर्मचारीलाई कार्बाही हुन्छ । न्यायको पछि रहेको झुट्टा खोस्टो ओढि जनताको आखामा धुलो छर्छ, भ्रष्टाचारको पुरस्कर पाउने देश, सरुवा रोगको बारेमा आवज उठाउने डा. माथि स्पष्टीकरण र लकडाउनमा पालना गर्नुपर्ने गरिब जनता अनि कर्मचारीको लागि ठुलाका आडमा तिनै कर्मचारीले ओढेको घिनलाग्दो खोल । अरे हामी त यस्तो देशमा पो छौं नि जहाँ न्याय कानुन अनि संविधानको लुगा लगाएर सरकारले भनेको आदेश मान्दै बस्ने गर्व गर युवा जहाँ तिमी बेरोजगारिको देशमा छौं । खुसि हनु युवा, तिमी कोरोना बाट पक्कै मर्दैनौ ?
अन्तमा: भो हामीलाई संविधान र कानुनको कुरा नसिकाउ, अब हामी यो विषम परिस्थितिमा कोरोनालाई सामाजिक दुरि र बन्द घर भित्रले होइन अभाव, गरिबी अनि भोकमरीले जित्नेछौ । ढुक्क हुनु सरकार त्यो दिन फेरि २/४ ओटा समाचार मिडियालाई बोलाएर प्रेस मिट गराउनुस् र भन्नुस् ” मैले अन्त्य गरे…। अरे वा ! युवा माने तिमीलाई, बहादुरी तिमी होइनौं जो बेरोज़गारीको दलदलमा फसेको छ । बहादुरी त त्यो सरकार हो, जहाँ जनतालाई फुस्स्रो आश्वासन देखाएर आफू टन्न खाएर सुखी भएर बस्छ ।