नेपालमै पहिलो पटक वर्ल्डलिन्कले शुरु गर्‍यो वाईफाई फाइभ, यसरी प्रयोग गर्नुहोस् । – Satabdi News

नेपालमै पहिलो पटक वर्ल्डलिन्कले शुरु गर्‍यो वाईफाई फाइभ, यसरी प्रयोग गर्नुहोस् ।

चैत्र ७ गते,काठमाडौं । अहिले विश्वमा अर्को पुस्ताको वाइफाई अर्थात वाईफाई सिक्सको चर्चा चलिरहेको छ । कतिपय देशले वाईफाई सिक्सलाई प्रयोगमा ल्याइसकेका छन् ।

अहिले वाईफाई सिक्स सपोर्ट गर्ने डिभाइसहरु पनि बजारमा उपलब्ध हुन थालिसकेका छन् ।जसको एउटा उदाहरण हो आईफोन इलाभेन र सामसङ ग्यालेक्सी एस ट्वान्टी ।

सामसङले वाईफाई सिक्स सपोर्ट गर्ने प्रविधि आफ्नो प्रिमियम फोन ग्यालेक्सी टेनबाटै प्रयोगमा ल्याएको थियो । यस्तो अवस्थामा वाईफाई फाईभ विश्व परिवेशमा सामान्य विषय हो ।

तर, नेपालको परिवेशमा भने यो नौलो र नयाँ सुरुवात हो । वर्ल्डलिंक कम्युनिकेसन प्रालिले नेपालमै पहिलो पटक वाईफाई फाइभ सुरु गरेको हो ।

गएको कात्तिकमा वर्ल्डलिंकले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुपबाट १२ मिलियन अमेरिकी डलर अर्थात एक अर्ब ३५ करोड रुपैयाँ विदेशी लगानी भित्र्याएको थियो ।

विदेशी लगानी भित्रिएसँगै कम्पनीले आफ्ना ग्राहकलाई अझ प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्ने बताएको थियो । सोही अनुसार कम्पनीले वाइफाई नेटवर्कलाई गुणस्तरिय बनाउने योजनाका साथ वाईफाई फाइभ सुरु गरेको हो ।

याे प्रविधि कम्पनीका नयाँ तथा पुराना दुबै ग्राहकले प्रयाेग गर्न सक्नेछन् । पुराना ग्राहकले आफूले प्रयाेग गरिरहेकाे सेवालाई अपग्रेड गरि याे सेवा लिन सक्ने कम्पनीले जनाएको छ । यो सेवा विद्यमान शूल्कभन्दा केही महंगो भने पर्नेछ ।

के हो वाईफाई फाइभ

सामान्यतया हामीले हाल प्रयोग गर्ने वाईफाई राउटर सिंगल ब्याण्ड राउटर हो । जसले २.४ गिगाहर्ज सपोर्ट गर्छ । यसमा तीन वटामात्रै च्यानल हुन्छ ।

नेपालमा इन्टरनेट सेवा प्रदायकहरुको संख्या धेरै छ । सबैले यहि ब्याण्डमा वाइफाई दिने हुँदा नेटवर्क एक अर्कासँग जुध्ने समस्या छ । जसले गर्दा राम्रो स्पीड आउँदैन ।

यसलाई ‘८०२.११ बी/जी/एन’ सीरीज पनि भिनिन्छ । यसको स्पीड प्रतिच्यानल १५० एमबीपीएस प्रतिसकेण्ड भनिए पनि नेटवर्क इन्टरफेरेन्स समस्याले गर्दा ३० देखी ४० एमबीपीसए मात्रै स्पिड दिन्छ ।

तर वर्ल्डलिंकले सुरु गरेको फाइभजी वाईफाई राउटरमा २.४ गिगाहर्ज र ५ गिगाहर्ज गरी दुई वटा ब्याण्ड रहेका छन् । जसमा च्यानल अवरोध हुने समस्या कम हुन्छ । त्यसैले यसले प्रतिच्यानल ५०० एमबीपीएस र कुल १ जीबी भन्दा बढीको स्पीड दिन सक्छ ।

यसको विकास सन् २०१३ मै भएको हो । जसलाई ‘८०२.११ एसी’ सिरिज पनि भनिन्छ । यो वाईफाई सबै डिभाइसमा नचल्न सक्छ । ‘८०२.११ एसी’ सिरिज सपोर्ट गर्ने अथवा डबल ब्याण्ड सपोर्ट गर्ने डिभाइस नै आवश्यक पर्छ ।

यदि तपाईंको डिभाइसले ‘८०२.११ एसी’ सिरिज सपोर्ट गर्छ भने फाइभजी वाईफाई कनेक्ट गर्दा स्पीड बढी हुनुका साथै विश्वसनीय समेत हुने कम्पनीले जनाएको छ । तर, यसको कभरेज एरिया भने थोरै हुन्छ ।

कम्पनीका अनुसार २.४ गिगाहर्जमा दुई सय मिटर कभरेज हुन्छ भने ५ गिगाहर्जमा घरभित्र ३० देखि सय मीटर जति हुन्छ । यदि तपाईं राउटरको नजिक हुनुहन्छ भने अटोमेटिक फाइभ गिगाहर्जमा कनेक्ट हुन्छ भने टाढा हुँदा स्वतः २.४ गिगाहर्जमा कनेक्ट हुनपुग्छ ।

यसरी थाहा पाउनुहोस् फाइभजी वाईफाई सर्पोट गर्ने डिभाइस ?

यसअघि नै उल्लेख गरिसकेको छ कि वाईफाई फाइभ सबै डिभाइसले सपोर्ट गर्दैन । तर, सन् २०१४ पछि भित्रिएका धेरै जसो डिभाइसमा यो चल्छ । त्यसका लागि तपाईंको डिभाइस ८०२.११ एसी’ सिरिज सपोर्ट गर्ने अथवा डबल ब्याण्ड सपोर्ट गर्ने डिभाइस नै हुनुपर्छ ।

तपाईंको डिभाइसले यसलाई सपोर्ट गर्छ कि गर्दैन भनेर थाहा पाउन तपाईंले डिभाइस किन्दा आउने बक्समा हेर्नुपर्ने हुन्छ । उक्त बक्सको पछाडि तपाईंको डिभाइसले कुन–कुन कनेक्टीभिटी सपोर्ट गर्छ भनेर उल्लेख गरिएको हुन्छ ।

यदि तपाईंसँग उक्त बक्स छैन भने त्यसको पनि विकल्प छ । त्यसका लागि तपाईंलाई आफूले प्रयोग गर्ने डिभाइसको मोडल थाहा हुनुपर्छ । यदि मोडल र नाम थाहा भएको खण्डमा तपाईंले गूगल सर्चबाट उक्त डिभाइसको बारेमा जानकारी लिन सक्नु हुनेछ ।

यदि तपाईंको डिभाइसले डबल ब्याण्ड वाइफाई सर्पोट गर्छ अथवा ‘८०२.११ एसी’ सिरिज वाईफाई सपोर्ट गर्छ भनेर लेखिएको छ भने तपाईंले वाईफाई फाइभ प्रयोग गरि उच्च गतिको इन्टरनेटको आनन्द लिन सक्नुहेनछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपालमै पहिलो पटक वर्ल्डलिन्कले शुरु गर्‍यो वाई..." A few seconds ago

सम्बन्धित खवर