यार, तेरो बिहेमा चाहिँ मलाई नबोला है ! – Satabdi News

यार, तेरो बिहेमा चाहिँ मलाई नबोला है !

भानु दाहाल

गत बुधबार साँझ साथीले मेसेन्जरमा एउटा समाचारको लिंक पठायो। समाचार थाहा पाउन शिर्षक नै काफी थियो । तै पनि पूरै जानकारी लिन त समाचार पढ्नै पर्थ्यो। मैले त्यो लिंक खोलें।

बालाजु नेपालटारस्थित एक घरमा भाडामा बसेकी दलित महिलालाई पानी छोएको निहुँमा घरधनी महिलाले दुर्व्यवहार गरेको र डेराबाट निकाल्न खोजेकोले ती महिलाले प्रहरीमा उजुरी गरिछिन् । घरधनी महिलालाई उतिबेलै र उनका श्रीमानलाई तीन दिनपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको समाचार रहेछ ।

समाचार पढिसकेपछि मैले त्यो साथीलाई सहनाभूति राख्दै रिप्लाई गरें– देशको राजधानीमा त छुवाछूत यस्तो छ, झन् गाउँघरतिर कस्तो हालत होला है !

उसले मेरो मेसेज हेर्‍यो, थम्ब्–अपको इमोजी पठायो । तर, केही लेखेन । यसबाट मैले अनुमान लगाएँ, यो समाचारबाट ऊ मर्माहत छ । कतै त्यो दलित महिला उसकै आफन्त त होइन ! हुन त जबजब यस्ता समाचारहरू आउँछन् उसको ध्यान खिचिन्छ । कहिलेकाहीँ मलाई पनि लिंक पठाउँछ । उसका दलित साथीहरूसँग त यस्ता विषयमा ऊ नियमित छलफल नै गर्दो हो ।

त्यो साथी र म एउटै गाउँको । हामी क्लासमेट थियौं, कक्षा आठसम्म । ऊ दलित, म ब्राह्मण । हामी स्कुलमा खुबै मिल्ने साथी थियौं । तर हाम्रो मित्रता जति गाढा हुन सक्थ्यो त्यति हुन भने पाएन । त्यसका दुई कारण थिए । एक, हाम्रो जातको वर्गीकरण र अर्को उसले छिट्टै पढाइ छोड्नु ।

पढाइ छोड्नु उसको बाध्यता बन्यो । त्यहाँको दलित बस्तीमा एसएलसी पास गर्ने कोही थिएन । पढ्नु पर्छ भन्ने मान्यता नै थिएन । पढ्नुभन्दा हलो जोत्न गए पैसा आउँछ भन्ने सोच थियो । माथिपट्टि बाहुनको बाक्लो बस्ती तलतिर दलित । बाहुनहरूको काम गर्न दलित ल्याएर राखिएको हो भनिन्थ्यो । उनीहरूको गुजरा बाहुनहरूको काम गरेरै चल्थ्यो रे । तर, पछि त उनीहरू आफैं आत्मनिर्भर हुँदै गएका थिए । अहिले हेर्ने हो भने उल्टै बाहुनहरूलाई काम दिने हैसियत राख्छन् । गाउँमा छुवाछूतको चर्को प्रथा थियो। अहिले पनि छ । फरक त्यति हो त्यो चर्कोपनमा केही कमी आएको होला तर उन्मूलन अझै भएको छैन । सितिमिति भैहाल्ने पनि देखिँदैन ।

सात आठ कक्षामा पढ्ने फुच्चे भएता पनि गाउँमा भएको जातीय विभेदप्रति खरो रूपमा प्रतिकार गर्ने स्वभाव थियो उसको। गाउँको सभा सम्मेलनमा होस् कि कक्षा कोठामा होस् प्रश्न गरिरहन्थ्यो।

‘हामीलाई किन दलित भनियो ? किन छुवाछूत गरियो ? किन हेपियो ? किन दोस्रो दर्जाको नागरिक बनाइयो ?’ उसले कहिल्यै चित्त बुझ्दो उत्तर भने पाएन । जतिबेला ऊभित्र विद्रोह चेत अंकुराउँदै थियो, त्यतिनै बेला देशभर माओवादीको बिगबिगी थियो । ऊ माओवादीका गोप्य पर्चाहरू खोजीखोजी पढ्न थालेको थियो ।

गाउँको बीचमा प्रहरी चौकी भएकोले माओवादीहरू गाउँ छिरेर सजिलै आफ्नो प्रचारप्रसार गर्न सकिरहेका थिएनन्। बिहिबारे बजार भर्न आउने खोलापारीको आफन्तले गोप्य रूपमा ल्याइदिएको पर्चा पढ्दो रहेछ ऊ। जातीय विभेद, वर्ग संघर्ष, दुस्मन जस्ता ठूल्ठूला शब्द उसैको मुखबाट त्यतिबेला सुनेको हो मैले।

हिउँदको महिना थियो । खेतभरि पहेँलपुर भएर तोरी फुलेको थियो । एकदिन बिहानै घर नजिकै पधेंराबाट कल्याङ्कुलुङ् आवाज आयो । अगाडि चौतारामा केही मान्छे जम्मा भइसकेका रहेछन् । म पनि आँखा मिच्दै त्यतै गएँ।

तमाखु तान्दै बसेका मुखिया बाले भने, ‘यो सुरूवाल कसको हो पत्ता लगाउनु पर्छ।’

रातो सुरूवालमा सेता तुना हालिएको केटी मान्छेको एउटा सुरूवाल चौतारामाथि रूखमा तुन्द्रुङ झुण्डाइएको थियो। जसरी राष्ट्रिय झण्डा अग्लो ठाउँमा फर्फराइन्छ त्यसैगरी। सबैको आँखा सुरूवाल हेर्न मै व्यस्त थिए।

त्यो सुरूवाल हिजो साँझ मुखिया बाकै तोरी बारीमा भेटिएको रहेछ। सहवासमा बसेको जोडीलाई कसैले देखेर सुरूवाल लगाउन समेत नभ्याइ भागेका हुन् भन्ने अनुमान सबैलेt लगाइसकेका थिए। अनुमानलाई बल पुग्ने अर्को प्रमाण पनि भनियो, उनीहरू बसेको ठाउँमा तोरीको बोट माडिएको छ रे।

अब मुखिया लगायतलाई त्यो सुरूवाल कसको हो भन्ने पत्ता लगाउनु थियो । त्यसबाट खुल्थ्यो त्यो केटी को हो भन्ने। सायद सबैको शंकाको आँखामा गाउँका युवतीहरू एकपछि अर्को गर्दै आइपुगे होलान् । कतिले त भित्रभित्रै कामना पनि गरे होलान्, आफ्ना चाहिँ नपरुन् भनेर । साँझ सम्ममा पत्ता लाग्यो, सुरूवाल एकजना दलित युवतीको रहेछ । ती युवती त्यही साथीको आफन्त थिइन्। गाउँमा एकाएक तरंग उत्पन्न भयो । ठूलो हलचल उत्पन्न हुनुको मुख्य कारण भने ती युवतीसँग सहवासमा बस्ने केटा बाहुन रहेछ । यो घटना बाहिर आए बाहुनहरूको बेइज्जत हुन्छ, भन्ठाने गाउँका ठूलाबढाले । जात मिल्ने भएको भए पनि त्यत्रो तरंग नआउन सक्थ्यो । अब गाउँको मुखिया लगायत गन्नेमान्ने बाहुनहरूको एकाएक निद हराम, चैन गायब भयो।

रातारात घटना सामसुम पार्न कसरत सुरू भयो । दलितहरूले त्यही बाहुन केटालाई नै छोरी जिम्मा लगाउने अडान लिए । उनीहरूमा बाहुनलाई भिडाउन पाए बाहुनहरूको सेखी झर्ने, आफ्नो इज्जत बढ्ने लोभ पसिसकेको थियो । यता बाहुनहरू भने अनेक प्रलोभन देखाएर ती युवतीलाई कुनै दलित केटालाई नै जिम्मा लगाउन चाहन्थे । रातभरको गोप्य छलफलमा डर, धम्की, आर्थिक प्रलोभन, फकाइफुलाइ जस्ता अनेक तिकडम गरेर बिहानसम्ममा बाहुनले दलित अगुवालाई गलाइ छाडे । ती युवती एक जना दलित केटासँगै बसेकी हो भन्ने पारेर जिम्मा नै लगाए । जिम्मा लगाएको केही घण्टापछि ती युवतीले आत्महत्या गरिन् । सारा घटना छताछुल्ल भयो ।

गाउँमा भएको प्रहरी चौकी माओवादीको आक्रमणमा परेर सदरमुकाममा सरिसकेको थियो । गाउँको न्याय निसाफ उनै भूमिगत माओवादीको हातमा थियो । उनीहरूको न्याय भनेको सिधै भौतिक सफाया हो । गाउँका मुखिया लगायत घटना मिलाउन संलग्नहरू रातरात गाउँ छोडेर भागे । यही घटनापछि गाउँमा माओवादीको बाक्लो उपस्थिति हुन थाल्यो । सहानुभूति खोजिरहेका दलितहरूलाई न्याय दिने नाममा माओवादीले आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्न थाल्यो ।

बाहुनहरूले गर्दा आफन्तले आत्महत्या गरेको निहुँ बनाएर बाहुनहरूको सफाया गर्ने भनेर त्यो साथी पूर्णकालीन माओवादी कार्यकता भएर हिँड्यो ।  म पढ्न यता सहर आएँ। अब उसको र मेरो सम्पर्कको कुनै माध्यम थिएन ।  समाचारहरूमा फलानो ठाउँमा यति जना माओवादी मारिए भन्ने समाचार पढ्दा वा सुन्दा मलाई उस्कै सम्झना आउथ्यो। म नोस्टाल्जिक हुन्थें।गत वर्ष एकदिन फेसबुकमा एउटा फ्रेण्ड रिक्वेस्ट आयो । नाम लेखिएको थियो– प्रभात विश्वकर्मा । प्रोफाइल चेक गरें । उही साथी रहेछ। जिउँदै रहेछ भनेर खुसी लाग्यो। हतारहतार रिक्वेस्ट एसेप्ट गरेर म्यासेज गरें । ऊ काठमाडौंमै रहेछ । भोलिपल्टै भेट्ने सल्लाह भयो ।

भृकुटीमण्डपभित्र रहेको एउटा क्याफेमा चियाको चुस्कीसँगै उसका कुरा सुनिरहँदा उबेलाको उसको क्रान्तिकारिता स्खलन भएर अन्तिमका अक्षर ..रिता मात्र बाँकी रहेको रहेछ भन्ने बुझ्न मलाई गाह्रो थिएन।

ऊ बारम्बार नेताहरूले बीचैमा मुद्दा छोडेको, धोका दिएको दोहोर्‍याइ रहन्थ्यो। लहैलहैमा लागेर आफ्नो भविष्य अन्धकार बनाएकोमा उसलाई ठूलो पछुतो थियो। आरनमा फलाम पिट्दा पिट्दै बुवाको जिन्दगी सकिएको, घाँसको डोकोसँगै भिरबाट लडेर आमाले संसार छोडेको पीडा उसको आँखाबाट प्रष्ट देखिन्थ्यो।

छोरोलाई पढाएर ठूलो मान्छे बनाउने बाको सपनालाई लात मारेर बन्दुक बोकेको त्यो समय यथार्थ नभएर एउटा सपना मात्रै भइदिएको भए हुन्थ्यो भन्ने लागिरहँदो रहेछ उसलाई।

तर, समयले कहाँ त्यसरी माफ गर्छ र ! ऊ उदास बन्छ ।

फेरि फिस्स मुस्कुराउँदै भन्छ, ‘विद्रोहको लागि यी हातले बन्दुक उठाएको गर्व छ मलाई।’ उतिबेलै म उसलाई प्रश्न गर्छु, ‘अहिलेको राजनीति देख्दा पनि तैले बन्दुक बोकेकोमा अझै गर्व लागिरहेको छ ?’

ऊ केही जवाफ दिँदैन। चुरोटको लामो सर्को तान्छ। फुरुरु… आकाशतिर उडाउँछ। चियाको चुस्की लिन्छ। पर-परसम्म हेर्छ। उसको निधारमा सल्बलाएका आवेगका नशाहरू गहिरो गरी नियाल्छु म। ऊभित्र रगत उम्लिएको छ। त्यो क्रान्तिकारी रगत कहिलेकाहीँ यसैगरी जाग्दो हो र क्षणभरमै सेलाउँदो पनि हो।

माओवादी कार्यकर्ताहरूले नै आफ्ना नेतामाथि थप्पड, जुत्ता हान्नुमा यस्तै नैराश्यताले हो भनेर बुझ्न कति पनि गाह्रो छैन। आफ्नो स्वार्थ पूरा गर्न सम्भव नै हुन नसक्ने सपना देखाएर एक युवा पुस्ताको ऊर्जावान् समय ध्वस्त बनाइदिएको महशुस कस्को अन्तर्मनले नगर्ला र ! चाहे त्यो प्रत्यक्ष संलग्न भएको युवा होस् वा दस वर्ष देशलाई युद्धमा होमेर पछि पारिएको महशुस गर्ने युवा किन नहोस् । यसको मूल्य धेरै वर्षसम्म यही पुस्ताले चुकाइरहनु पर्ने नै छ ।

शान्ति प्रक्रियामा आएपछि उसले फेरि पढ्न सुरू गरेछ। पहिला उनीहरूले भन्ने गरेको ‘बुर्जुवा’ शिक्षा पढेर स्नातक सकाएको बताउँदै गर्दा भने ऊ फिस्स मुस्कुराएको थियो ।

ढिलै भए पनि आफ्नो पढ्ने इच्छा पूरा गर्न पाएको सन्तुष्टि थियो त्यो मुस्कानमा । अब सानोतिनो व्यापार–व्यवसाय गरेरै भए पनि जिन्दगीलाई आफ्नै लयमा अगाडि बढाउने र घरजम गर्ने सोच रहेको बताउँदै गर्दा चम्किला आँखा पारेर मलाई सोध्यो, ‘तैले बिहे गरिस् त ?’

‘छैन ।’

‘भोज खान बोलाउँछस् होला नि ?’

‘भोज मात्रै होइन जन्ती जानै बोलाउँछु नि,’ मैले हाँस्दै भनेँ ।

मेरो यो जवाफसँगै दुई घण्टा लामो बसाइँलाई टुंग्याएर त्यो दिन हामी छुट्टियौं ।

फागुन २९, बिहीबार दिनको थियो ।

स्कुलको एक सहपाठी मित्रले बानेश्वरको एक भव्य पार्टी प्यालेसमा बिहे भोज दिएको थियो । एउटा टेबल ओगटेर हामी केही साथीहरू स्कुलका रमाइला दिनहरू सम्झदै गफिरहेका थियौं। ऊ अलि अबेर गरेर आइपुग्यो। हात मिलाउँदै मैले सोधें, ‘ढिला पो आइस् त ?’

‘बाहुनको भोजमा छिट्टै आउनु पनि त भएन नि । फेरि छोइयो भनेर नखालान्,’ एउटा कुर्सीमा बस्दै उसले व्यंग्यात्मक शैलीमा भन्यो ।

‘हिजो क्रान्ति गरेको, आज छुवाछूत विरूद्धको राष्ट्रिय अभियानको नेतृत्व गर्ने मान्छेको मनोवल त यस्तो छ । अनि कसरी हुन्छ परिवर्तन ?’, मैले भनें । ‘अहिले त के अझै दुई पुस्तासम्म परिवर्तन आउँदैन ।  छुवाछूतविरूद्ध कानुन छ, आयोग छ, विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्था छन् । दिनरात लागिपरेका छन् । तै पनि हाम्रो पुरातनवादी सोचको समाज परिवर्तन बीसको उन्नाइस हुन सकेको छैन । टाढाको के कुरा गर्नु, यहीँ राजधानीमा दलितले कोठा पाउँदैन । दलित भएको थाहा पाएर डेराबाट निकालिएको धेरै उदाहरण छन् । साथीभाइहरू एउटै टेबलमा बसेर चिया खान पनि धक मान्छन्। सार्वजनिक समारोह, भोजभतेरमा उपस्थित हुन दश पटक सोच्नुपर्ने अवस्था छ ।

गृह मन्त्रालयको अधिकृत स्तरको मान्छेले दलित भनेर घरबाट निकाल्छ भने गाउँघरतिरको त के कुरा गर्नू ! उदाहरण एक जना व्यक्ति वा घटनाको होला। तर, यो आम प्रवृत्तिको, समाजको सोचको हो,’ उसले चरम नैराश्यता व्यक्त गर्‍यो। अघिसम्मको रमाइलो माहोल एकाएक स्तब्ध बन्यो ।

उसको बेचैनी देखेर कुरा अन्तै मोड्न मैले भनें, ‘हैट ! पार्टीमा आएर पनि के सिरियस कुरा गरिरा’ ? यँहा त रमाइलो गर्ने हो। बरु गएर बेहुला बेहुलीलाई बधाइ दिएर आइज।’

ऊ खल्तीबाट खादा निकाल्दै उठेर स्टेजतिर गयो।

छेउमै बसेको साथीले सुनायो, ‘अस्ति नेपालटारमा पानी छोएको भनेर यसकै आफन्तलाई डेराबाट निकालको हो नि ।’ त्यो साँझ उसले पठाएको समाचार हेरेर मैले जे अनुमान लगाएको थिएँ, त्यो सत्य रहेछ। त्यही भएर ऊ आक्रोशित भएको रहेछ । होइन भने साथीभाइसँग त्यसरी बस्दा यस्ता विषयमा ऊ कहिल्यै कुरा निकाल्दैन थियो। नौ बजेतिर हामी डिनर हलमा गयौं ।

डिनर लिन छ/सात जनाको लाइन थियो । हामी पनि लाइनमा उभियौं। एकजना अधबैंशे आइमाई हस्याङ्फस्याङ् गर्दै आएर उसलाई भनिन्, ‘तिमी एकछिन खाना नछोइदेऊ है ! बुढा बाबैहरूले खाएकै छैन।’ ऊ लाजले रातो भयो । केही नबोली लाइन छोडेर पर गएर उभियो ।

हामी के गरौं के.. भयौं । एकछिन हामी पनि कुरौं न त भन्ने पनि नसोचेको होइन । तर, कुरा समयको मात्र पनि थिएन। ऊ खानै नखाइ पो हिँड्छ कि भन्ने डर थियो।

उसको लागि हामीले नै प्लेटमा हालेर लगिदियौं। टेबलमा बस्यो, दुई चम्चा भन्दा बढी निल्न सकेन। सम्झायौं, चित्त नदुखाउन भन्यौं तर उसको आत्मसम्मानमा पुगेको ठेस र गिरेको स्वाभिमान हाम्रो सम्झाइले कसरी फर्किन सक्थ्यो होला र!

स्कुल पढ्दै गर्दाको त्यो फुच्चे क्रान्तिकारी, बन्दुक बोकेर युद्धमा गएको लडाकु, छुवाछूतविरूद्ध अभियानको नेतृत्व गरेर राष्ट्रिय, अन्तर्राष्ट्रिय मञ्चमा आगो ओकल्दै भाषण गर्ने त्यही साथी ‘नछोइदेऊ’ भन्ने एउटै शब्दले मर्माहत भएको हामी टुलुटुलु हेर्न विवश थियौं ।

लामो समयदेखि चलिआएको प्रथा एउटा कानुन बनाउँदैमा अन्त्य भैहाल्छ भन्ने होइन । एउटा दलितको घरमा एउटा ब्राह्मण गएर खायो वा ब्राह्मणको घरमा दलित पस्यो भन्दैमा पूरै परिवर्तन भइसक्यो भन्ने पनि होइन। यो त समयक्रम सँगै परिवर्तन हुँदै जाने हो ।

समाजमा धेरै सकारात्मक परिवर्तन हुँदै गएको देखिएको छ । तर त्यसो भन्दै गर्दा परिवर्तनको जिम्मा समयलाई नै छोडिदिनु पर्छ भन्ने चाहिँ होइन। यो आजभोलिको पुस्ताले प्रयत्न गर्दै जाने हो। इतिहासमा कैयौं कुप्रथाहरूको अन्त्य भएझैं एकदिन छुवाछूत जस्ता कुप्रथाहरूको पनि अन्त्य सुनिश्चित छ।

बेडमा कोल्टे फेरिरहँदा मनमा अनेक कुराहरू खेलिरहेका थिए। हामीलाई त साथीप्रतिको दुर्व्यवहारमा असह्य लाग्छ भने स्वयमं भोग्नेलाई झन् कति पीडा हुँदो हो ! त्यो हामी कल्पना मात्र गर्न सकौंला।

रातको एघार बज्नै लागेको थियो। उसलाई सान्त्वना दिन म्यासेज गरें– अघिको घटना बिर्सिदे है ।  टेन्सन नलिई । गुडनाइट !

एकछिन पछि उसको रिप्लाइ आयो- यार, तेरो बिहेमा चाहिँ मलाई नबोला है !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित

सम्बन्धित खवर