बैकल्पिक राजनीतिको आवश्यकता ! – Satabdi News

बैकल्पिक राजनीतिको आवश्यकता !

हाल नेपालको परिवेश नियाल्दा आम नागरिकमा राजनीति प्रतिको वितृष्णा बढ्दै गएको अनुभुत हुन्छ । जसले अहिलेको राजनीतिक संस्कार, शैली र प्रणाली नै गलत हो कि भन्ने संकेत गर्दछ । वास्तबमै राजनीति राज्यको एउटा यस्तो केन्द्रबिन्दु हो, जसको प्रभावले सबै क्षेत्र, तह र तप्कामा एउटा तरङ्ग प्रवाह गर्दछ । यदि राजनीतिक केन्द्र बिन्दुबाट सकारात्मक तरङ्ग प्रवाह भएमा मुलुकमा प्रशस्त अवसर र सम्भावनाहरुको ढोका खुल्दछ, भने नकारात्मक तरङ्गको प्रवाहबाट सम्भावना र अवसरहरु संकुचित हुन पुग्दछन् । अतः मुलुकको अधोगती र अति गतिको मुख्य निर्धारक तत्व नै राजनीतिक बातावरण हो । यिनै राजनीतिक बाताबरण कुरुप र भ्रस्ट हुनुले राजनीतिक वितृष्णा लाई संकेत गर्दछ । राजनीति बिनाको राज्य त असम्भव छ नै फेरि हामी यिनै वितृष्णाको जालोमा रुमलिरहने कि सकारात्मक विकल्पको खोजी गर्ने ? साँच्चै नै बैकल्पिक राजनीतिको आवश्यकता हो त ? बैकल्पिक राजनीतिको आवश्यकता किन ? आउनुहोस् छोटो चर्चा गरौ ।

नेपालको पछिल्लो नवीन ईतिहासलाई ३ कालखण्डमा सरल ढंगले व्याख्या गर्न सकिन्छ । पहिलो, एकीकरणको युग जुन पृथ्वीनारायण शाहको नेतृत्वमा सुरु भई ७३ बर्षसम्म चल्यो । त्यस ताका २२÷२४ राज्यलाई एकीकृत गर्ने, राज्यको सिमा बिस्तार गर्ने र एउटा सिङ्गो राष्ट्र निर्माण गर्ने जुन अभियान थियो, त्यसलाई एकीकरणको युग मान्न सकिन्छ । दोस्रो, सुगौली सन्धिदेखि प्रजा परिषद को स्थापना नभए सम्म ११७ बर्ष लामो अवधिको शासनकालमा राणा शाहिले नेपाली जनताका सबै अंगहरुको अमानवीय शोषण गर्यो । जङ्गी तथा निजामती समस्त उच्च ओहदामा राणाहरुकै नियुक्ती र बर्चस्व कायम थियो । नेपालका जनतामा यातायात, शिक्षा, स्वास्थ्यको प्रबन्ध थिएन् र जनताहरु चेतनाको अभावमा क्रुर राणाशासनद्वारा पिल्सिएका थिए जसलाई अन्धकारको युगको रुपमा लिन सकिन्छ । र तेस्रो, १९९० को दशकमा प्रजा परिषदको स्थापनादेखि २०७२ साल असोज ३ गते संविधान सभाबाट संविधान बने पश्चात ८२ बर्षमा ’लोकतान्त्रीकरणको युग’ आधारभूत रुपमा प्रारम्भ भयो । जस बिचमा लोकतान्त्रिक हक अधिकारका लडाईहरुबाट राणा, शाह र पन्चायत जस्ता निरंकुश, जहानियाँ र निर्दलिय ब्यवस्था पराजित भयो । बि.सं. १९९७ सालको सहिद काण्ड, २००७ सालको क्रान्ती, २०३६ को जनमत संग्रह, २०४६ सालको पहिलो जनआन्दोलन, माओवादी जनयुद्ध, जनआन्दोलन (२०६२÷६३, मधेस तथा जनजाती बिद्रोह, संविधानसभाको निर्वाचन र दोस्रो संविधानसभाबाट नयाँ संविधान निर्माण यो युगका मुख्य घटनाक्रम हुन् । यहि लोकतान्त्रिकरण युगको खिलापमा हामिले बहुदलीय लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशिता सामाजिक न्याय र समाजवाद उन्मुख मान्यताहरुको अभूतपूर्व रुपमा दरिलो जग प्राप्त गर्याैँ ।
यी सटिक इतिहासको चर्चा पश्चात आजको युग कुन हो त ? हामी कुन युगमा प्रवेश गरेका छौ ? यो युगको सान्दर्भिकतालाई कुन शब्दले ब्यक्त गर्न सक्छ ? अवश्य पनि आजको युग समृद्धिकरणको युग हो, आज हामी समृद्धिको युगमा यात्रा गर्दैछौं । हिजोको केन्द्रीकृत, एकात्मक, निरंकुश र तानाशाही राज्य व्यवस्थालाई अन्त्य गरे संगै मुलुकको कार्यभार फेरिएको छ । हिजो अधिकार प्राप्तिको लडाईमा प्रयोग भएका राजनैतिक र बैचारिक हतियारले आज समृद्धिकरणको युगको प्रतिनिधित्व गर्न सक्दैन् । पार्टी भनेको साध्य हैन् साधन हो । जसरी हामी एयरपोर्ट सम्म गाडिमा यात्रा गर्यौ भने अब एयरपोर्टबाट हवाईजहाजमा यात्रा गर्ने बेला आएको छ । एकीकरणको युगको नेतृत्व शाहवंशीय राजतन्त्रले गर्यो, लोकतान्त्रिकरणको युगको नेतृत्व काँग्रेस वा कम्युनिस्टले गरे अब समृद्धिकरण युगको नेतृत्व गर्न नयाँ सोच, बिचार, चिन्तन र शैली सहितको नयाँ बैकल्पिक राजनीतिको आवश्यकता पर्दछ ।
त्यसरी नै, १८ औं शताब्दीको सुरुवातमा बिश्वमै साम्यवाद कि पुँजिवाद भन्ने ध्रुवीकरणको लहड चल्यो, यसै सन्दर्भमा पुँजीवादको नेतृत्वकर्ताको रुपमा अमेरिका लगायतका मुलुकहरु उभिन पुगे भने रुस, फ्रान्स लगायत पुर्वी युरोपमा साम्यवादी धारको आगमन संगैं रुसी क्रान्ती, फ्रान्सेली राज्य क्रान्ती सम्पन्न भए । तिनै विश्व पुँजिवाद र साम्यवादी धारको नेपालको नेतृत्व रुपमा नेपालमा काँग्रेस र कम्युनिस्टको उदय भयो । राणाशासनको बिरुद्ध क्रान्तिकारी प्रजातन्त्रवादिको रुपमा काँग्रेसको स्थापना भयो भने विश्व साम्यवादी विचारधाराको प्रवाह अनुकुल उत्पीडित, श्रमिक, मजदुर, किसान जस्ता सर्वहारा वर्गको नेतृत्वमा एमाले, माओवादी लगायत कम्युनिस्ट पार्टिहरुको उदय भयो । काँग्रेस र कम्युनिस्ट सबै एक ढिक्का भएर निरंकुश राणाशासन र राजतन्त्रको बिरुद्धमा लडेका हुन् तर यसको बिपरित क्रान्तिकारीको भूमिका निर्वाह गर्दै गर्दा सत्ता र शक्ति को राप, ताप र स्वादले सत्ता टिकाउने द्वैध प्रतिस्पर्धामा लागेका छन् । जनमुखी एजेन्डा सहित स्थापित दुबै दल आ–आफ्नै ढंगले विकृत र भ्रस्ट हुँदै गएका छन् । शुसासन, पारदर्शिता एवं जवाफदेहिता उनिहरुमा धमिलिदै गएको पाईन्छ, भने बिश्व राजनीतिमा आएको उपचलनले काँग्रेस वा कम्युनिस्ट दुबै धार जटिल बैचारिक संकटमा परेको छ । पुँजीवाद कि साम्यवाद भन्ने ध्रुवीकरण एक्काइसौं शताब्दीसम्म आईपुग्दा असान्दर्भिक भएको ठहर छ । विश्व पुँजिवाद अनेक संकटमा छ । सोभियत संघ र पुर्वी युरोपको विघटनले परम्परागत साम्यवादको असफलतालाई सिद्ध गर्दछ, बिश्वमै असान्दर्भिक सिद्ध भएका बिचार नेपालको परिवेशमा पनि असफल हुने निश्चितै छ । त्यसैले एक्काइसौं शताब्दिको पछिल्लो ज्ञान बिज्ञान र प्रविधिको चरम बिकास सँगै समय सान्दर्भिक नयाँ समाजवादी चिन्तन वा तेस्रो ध्रुवको निर्माण गर्न नयाँ बैकल्पिक राजनीतीको आवश्यकतालाई संकेत गर्दछ ।
आज नेपाल जागृत विश्वदेखि अलगिएको एउटा ठूलो जेल जस्तै छ । केही दशक अघि हामी भन्दा कम विकसित मुलुकहरु आज बिश्वमै उदयमान रास्ट्रको रुपमा परिचित बनिसकेका छन् । हिजोको अल्पबिकसित नेपाललाई आज पनि अल्पबिकसित कै दर्जामा हेरिन्छ । हामिले अधिकार प्राप्तिको लडाई लडिरहदाको समयमा अन्य मुलुकहरुले विकास र समृद्धिको दौडमा हामिलाई उछिनि सकेका छन् । छिमेकी मुलुकहरु विश्वकै अर्थ सागर र विश्व शक्ति केन्द्रको रुपमा उदाई सकेका छन् । हुनत संसारमा सबै वस्तु गतिशिल नै हुन्छन, जस्तो कि समाज पनि । तर सबै गतिशिल बस्तु प्रगतिशील हुदैनन् । हामीले नेपालको विकासको गतिलाई यहि किसिमले सन्तुष्ट मान्दै जाने हो भने हामी बिश्व समुदायमा सदैव विकासोन्मुख र अविकसितको दर्जा पाईरहने निश्चित छ । गरिबी, बेरोजगारी, पछौटेपन, परनिर्भरता जस्ता समस्या हाम्रो देशमा ब्याप्त छन् । त्यसैले हामीले आर्थिक वृद्धिदर, प्रतिब्याक्ती आय जस्ता आर्थिक सुचकहरुलाई बर्सेनी दोब्बर गर्दै आर्थिक छलाङ मार्नु पर्ने आवश्यकता छ । सुसासन, शान्ती, उन्नत लोकतन्त्र र स्थिरताको बलियो जगमा नै हामीले तिव्र विकासको गति हासिल गर्न सक्छौं । यी चुनौतिहरु हिजोका विकृत, भ्रष्ट र वैचारिक रुपमा धरासायी बन्दै गएका पार्टिहरुबाट असम्भव नै छ । हामीले विकल्पको खोजी र छनौट गर्ने बेला निकट भविस्यमा आईसकेको छ । अब कस्तो हुने त बैकल्पिक राजनीति ? कस्तो बिकल्पले समृद्धिकरणको युगको प्रतिनिधित्व गर्न सक्छ ? छोटो चर्चा गरौ !! हामी समृद्धिकरणको युगमा प्रवेश गरे सँगै समृद्धिको विभिन्न व्याख्या, विश्लेषण र चर्चा हुन थालेको छ, तर समृद्धि केलाई मान्ने, कस्तो हुने भन्ने कुरा कौतुहलताको बिषय बन्न सक्छ । कतिपयले चरम भौतिक र आर्थिक विकासलाई मात्र समृद्धि मान्ने गरेका छन् । तर त्यस्तो हैन, छिमेकी मुलुक भारतलाई हेर्ने हो भने विश्वमै आठौ ठूलो अर्थतन्त्रको रुपमा स्थान बनाउन सफल छ, तर के त्यहाँ बेरोजगारी, पछौटेपन, धनी र गरिव बिचको गहिरो खाडल बिद्यमान छैन र ? हो त्यसैले बिकासलाई मात्र समृद्धि मान्न सक्किन्न । विकास, समृद्धिको एउटा शाखा होस समृद्धि बहुआयामिक हुन्छ । सुरुमा त तिव्र आर्थिक एवं भौतिक विकास, उत्पादनमा तिव्र वृद्धि नै आवश्यक हुन्छ, त्यसपछी विकास र वृद्धिको लाभलाई समन्यायिक बितरण गर्न जरुरी छ, अलवा अत्याधिक विकास भएता पनि विकासको लाभ सबैले लिन नसकी सिमित वर्ग मात्र धनी हुने र तल्लो स्तरका नागरिक गरिबी र अभावकै बिचमा बाँचिरहनु पर्ने स्थिती सिर्जना हुन्छ । त्यसैले वृद्धि पश्चात् बितरणमा जोड दिन पर्छ, त्यसरी नै हामी सँग प्रकृतिमा सिमित स्रोत र साधन हुन्छन्, ती स्रोत साधनहरुको दीर्घकालीन उपभोग गर्नुपर्दछ । विकासका क्रममा वातावरण मैत्री र दीर्घकालीन उपयोगका बैज्ञानिक अवधारणा अवलम्बन गर्न सक्नु पर्दछ । र अन्त्यमा राज्यको सेवा प्रवाहबाट नागरिक कति सन्तुष्ट छन् भन्ने अवधारणा पछिल्लो समयमा समृद्ध मुलुकहरुले ’जबउउथ ष्लमभह’ को रुपमा अघि सारेका छन् यसलाई पनि समृद्धिको महत्वपूर्ण सुचकका रुपमा लिईन्छ ।अन्ततः वृद्धि, वितरण, दिगोपन र खुसी यि चार आयामहरुको समष्टिगत अभिव्यक्ती नै समृद्धि हो । यसरी समृद्धिको स्पस्ट खाका र भिजन सहित आएका शक्ति मात्र बैकल्पिक शक्ति बन्न सक्छन् किनकी आजको युग नै समृद्धिकरणको युग हो ।
नेपालमा आधारभुत रुपमा लोकतन्त्र स्थापित भैसकेको छ । तर पनि यो नै मुलुकको अन्तिम उपलब्धी हैन, लोकतन्त्रलाई अझै उन्नत, प्रगतिशील र ब्यवहारिक बनाउदै समाजवादको बाटो मार्गदर्शन गर्नु नै आजको कार्यभार हो । नागरिकको सार्वभौम सत्ताको सम्मान भएको, नागरिकको सहभागिता, निर्णायकत्व विनाको शासन ब्यवस्था नमान्ने, संविधानवाद, बिधिको शासन, शक्ति पृथकिकरणको सिद्धान्त, प्रेस स्वतन्त्रता, वालिक मताधिकार, आवधिक निर्वाचन, बहुमतको शासन अल्पमतको बैधानिक प्रतिपक्ष जस्ता बिश्वब्यापी मान्यता ब्यवहारत लागू भएको अवस्था नै लोकतन्त्र हो । नेपालमा काँग्रेस सामान्य ’संसदीय लोकतन्त्रवादी र नेकपा ’सर्वहारा अधिनायकत्ववादी’ पार्टी छन् । उनिहरु लोकतन्त्र त चाहन्छन् तर यसलाई अझ सजिव, जिवन्त र गहिरो बनाउन ब्यवहारतः सफल छैनन् । नेपाल जस्तो विविधतापुर्ण मुलुकमा ’समानुपातिक र समावेशी र सहभागितामुलक’ उन्नत लोकतन्त्र अपरिहार्य छ जस्ले समान आम नागरिकको समान अधिकार र प्रतिनिधित्वलाई स्थापित गर्न सकोस् । यस अन्तरगत राज्यको तिनवटै तह स्थानिय, प्रदेश र संघमा ५०५ भन्दा बढी लोकप्रिय मत प्राप्त गर्ने प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्दछ भने तीन वटै संसद पुर्ण समानुपातिक हुनुपर्दछ । संसदले ब्यवस्थापकिय कार्य मात्र गर्नेछ । जसले राजनीतिक स्थिरता र सर्वमान्य कानुन निर्माणमा बिबेक सम्बत कार्य गर्दछ । त्यसरी नै पुर्ण समानुपातिक संसदका लागि खस आर्य, आदिवासी जनजाती, थारु मधेसी, मुस्लिम र दलित समुदायका लागि जनसंख्याका आधारमा सिट निर्धारण गर्नुपर्दछ र सहभागितामुलक लोकतन्त्रका अन्य विधिहरुको रास्ट्रिय सवालमा जनमत संग्रहको ब्यवस्था, सहभागितामुलक योजना तथा बजेटिङ, अस्विकारको अधिकार, संस्थागत बिकास प्रक्रिया, इडेमोक्रेसी आधुनिक लोकतन्त्रमा विश्वास गर्ने बिकल्प नै आजको असल बिकल्प बन्न सक्छ ।
हाम्रो समाज कुशासन, भ्रस्टाचार, अपारदर्शीता, अनियमितता जस्ता खतरनाक रोगहरुबाट राष्ट्रिय रुपमै ग्रसित छ, जसले मुलुकको विकास हैन् बिनास तर्फ उन्मुख गराउँदछ । आम नागरिक राजनीतिबाट असन्तुष्ट हुनुको मुख्य कारण नै कुशासन हो । एकातर्फ राज्यको स्रोत सिमित छ भने अर्को तर्फ उक्त स्रोतको उचित परिचालन हुन पाउदैन । सेवाग्राही नागरिकहरु राज्यको झन्झटिलो सेवा प्रवाहबाट रुष्ट छन् । चुनावमा भड्किलो खर्च गरि राज्यसत्तामा हैकम जमाउने उद्देश्यका राजनीतिक पार्टिबाट समृद्धिको उज्वल भविस्य निर्माण हुन सक्दैन । मुलुकको विकट र दुरदराजमा बस्ने नेपालीहरु विकासको सामान्य स्वाद लिन पाउदैनन् भने, राज्य सत्ताबाट करोडौ, अरर्बौंको अनियमितता र भ्रस्टाचार हुन्छ । हिजोका पन्चायत र दरबारियाको झै नक्कल गरेर उच्च अहोदामा कर्मचारी भर्ना, सरुवा र बढुवा आफ्ना नातेदार, भारादार एवं आसेपासेहरुलाई गरिन्छ, जस्लाई ’आसेपासे पुजीवाद’ पनि भनिन्छ । यसको दलदलमा फसेका विकृत र भ्रस्ट राजनीतिक दलबाट समृद्धिकरण युगको नेतृत्व हुन सक्दैन् । त्यसैले यस्ता विकृत सोच, सँस्कार र शैलीबाट उन्मुक्त भएका ब्यक्तिहरुको राजनीतिक समुहको आवश्यक छ, जसले जनताको शासक हैन सेवकका रुपमा आफुलाई रास्ट्रको हितमा समर्पित गर्दछ ।
नेपाल एक सार्वभौम सत्ता सम्पन्न मुलुक हो । संयुक्त रास्ट्रसंघको सदस्य रास्ट्र नेपाल स्वतन्त्र मुलुकको रुपमा विश्वमै परिचित छ । दुई ठुला मुलकको बिचमा रहेको नेपालले दुबै देश सँग सन्तुलित सम्बन्ध कायम गर्दै विकासको गतिमा दौडनुपर्ने हुन्छ । नेपालमा विभिन्न जात जाती, भाषा ,धर्म, लिङ्ग, संस्कृति, समुदायका नागरिक बसोबास गर्दछन, तिनिहरु बिचमा बिबिधता सहितको रास्टिय एकता मजबुत बनाउन पर्दछ । हाम्रो आन्तरिक मामलामा कुनै पनि बाहिरी मुलुकले हस्तक्षेप गर्न दिनुहुदैन । हामीले आफ्नो देशको परनिर्भरतालाई हटाउदै आत्म निर्भर बन्न सक्नु पर्दछ । कतिपयले खुलामञ्चमा रास्ट्रवादको चर्को नारा दिने तर भित्र भित्रै बाहिरी शक्तिको आडमा सत्ता टिकाउने खेलमा लागेको ज्वलन्त उदाहरण भेटिन्छ । वास्तवमा हामीले बढ्दो ब्यापार घाटा नियन्त्रण गरि आत्मनिर्भर बन्नु र बिबिधता बिचको आन्तरिक रास्ट्रिय एकता बलियो बनाउनु नै प्रगतिशील रास्ट्रवाद हो । यद्यपी हामी आफ्ना छिमेकी मुलुकहरुसँग सुमधुर र सन्तुलित सम्बन्ध कायम राख्दै तिनिहरुको आर्थिक विकासको लाभ लिन नेपाललाई दुई देश बिचको आर्थिक गतिशील पुलको रुपमा स्थापित गर्न सकिन्छ । यसरी असल परराष्ट्र सम्बन्ध कायम गर्न सक्ने र दुई देशको चरम विकासको लाभ लिन सक्ने कुशल विकल्पको खाँचो छ ।
समृद्ध विश्वदेखी अलगिएको नेपाललाई आज बिकास र समृद्धिको तिव्र गतिमा दौडाउन एक नयाँ सोच, चिन्तन, शैली र सँस्कारबाट सुसज्जित युवा र बिज्ञहरुको बाहुल्यता रहेको राजनीतिक बिकल्पको खाँचो छ । सरकारमा भिजन र बैज्ञानिक विकास अवधारणा हुन नसके कर्मचारीतन्त्र कै निरन्तरता हुने निश्चित छ । त्यसैले राजनीतिक स्थिरता, सुसँस्कार, तिब्र आर्थिक वृद्धि र विकास र त्यसको न्यायोचित बितरण गर्ने, समृद्धिको युगलाई असल प्रतिनिधित्व गर्न सक्ने बैकल्पिक राजनीतिको छनौट र विकास गर्न जरुरी छ, जसबाट नेपालको समृद्धि अवश्यम्भावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित

सम्बन्धित खवर