फागुन २५, काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले प्रकाशित गरेको विज्ञापन सच्याउन समाजवादी विद्यार्थी युनियन त्रि.वि समितिले माग गरेको छ । फागुन ९ मा त्रिविले खुलाएको विज्ञापनले समावेशिता सुनिश्चित नगरेकाे भन्दै युनियनले उक्त विज्ञापन सच्याउन माग गरेको हो ।
तीन दिन भित्र विज्ञापन सच्याएर पुनः प्रकाशन गर्न माग गर्दै त्रिवि सेवा आयोगका प्रमुखलाई मंगलबार ज्ञापनपत्र बुझाएको युनियनका केन्द्रीय सदस्य रामनरेश यादवले जानकारी दिए ।
विज्ञापनमा संविधान, ऐन, नियम र कानुन अनुसार महिला, आदिवासी जनजाति, मधेशी, दलित, थारु, मुस्लिम, पीछडिएका तथा अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न ज्ञापनपत्र मार्फत आग्रह गरिएको उनले बताए ।
आफ्नो माग तीन दिनभित्र नसच्याए आन्दोलन गर्ने चेतावनी युनियनले दिएको छ ।