पहिचानको लागी युवा दस्ताको लागी १५०१ युवा गठन – Satabdi News

पहिचानको लागी युवा दस्ताको लागी १५०१ युवा गठन

३१ भाद्र, झापा । प्रदेशको नाम कोशी खारेजीको आन्दोलनलाई तार्किक निष्कर्षमा पु¥याउने उद्देश्यका साथ झापाको बिर्तामोडमा शक्ति प्रर्दशन गरिएको छ । प्रदेश नं. पुनः नामाङकन संयुक्त संघर्ष समिति झापाको आयोजनामा १५ सय १ जनाको पहिचानका लागि युवा दस्ता गठन गर्दै बिर्तामोडमा शक्ति प्रर्दशन गरिएको हो । बिर्तामोडस्थित सिटी सेन्टरमा युवा दस्ता गठन भएको घोषणापछि घरेलु हतियार लठ्ठीसहितको जर्सीधारी युवाहरुलाई बिर्तामोडमा मार्चपास गराईएको थियो । कोशी प्रदेश खारेजीको नारामा हातमा लठ्ठी उचाल्दै उनीहरुले मार्चपास गरेका थिए ।

मार्चपासपछि बिर्तामोडको अन्धुवा पुलनजिक कोणसभा गरिएको थियो । सभामा विभिन्न जातीय संस्थाका अगुवाहरुले बोलेका थिए । यसअघि ठूलो संख्यामा तैनाथ प्रहरीले लठ्ठीसहित मार्चपास गर्न नदिने बताएकोमा पछि लठ्ठीसहित नै मार्चपास गर्न दिएको थियो । यसअघि भदौ २६ गते पहिचानवादीहरुले हल्दिवारीमा १०१ जनाको युवा दस्ता गठन गरेका थिए ।

अन्धुवा पुल नजिक भएको कोण सभामा बोल्दै अगुवा नेता पाण्डवलाल चौधरीले पहिचानका लागि युवाले झापा जिल्लाको नेतृत्व लिने घोषणा गरेका थिए । पहिचानवादी युवा नेता सामी पालुङ्वाको संयोजकत्वमा गठित युवा दस्ताको सह–संयोजकमा सुमन सम्बाहाङ्फे, कर्ण राजवंशी र सदस्य सचिवमा गौरीमान राईलाई जिम्मेवारी तोकिएको उनले बताए ।
घोषणा सभामा चौधरीले कोष इन्चार्ज युवा नेतृत्वको बैठकले चयन गर्ने र झापा जिल्लाका हरेक क्लष्टर मिलाएर सचिवालय गठन हुने समेत घोषणा गरे । पहिचानको लागि युवा गठनमा समन्वयकारी भूमिका निर्वाह गरिरहनु भएका नेपाल आदिवासी जनजाति महासंघ झापाका उपाध्यक्ष केवलराम राईले स्वागत मन्तव्य राखेको सभामा पहिचानको लागि युवा संघीय संयोजक तथा किरात राई यायोख्खाका केन्द्रीय महासचिव भीम राईले पहिचानको लागि युवा गठन गरिनुको मूल उद्धेश्य र आचार संहिताको बारेमा प्रष्ट्याएका थिए ।

झापा जिल्लाका १५ वटा स्थानीय तहबाट सहभागी भएका युवाहरूलाई पहिचानको लागि युवा संघीय सह–संयोजक एबिराज आङ्देम्बेले परेट खेलाएर मार्च पास गराएका थिए ।
घोषणा सभामा प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष संघीय समन्वय समिति अध्यक्ष तथा किरात राई यायोख्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचो, नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष युवराज जिरेल, नेपाल शेर्पा संघका केन्द्रीय महासचिव लाक्पा शेर्पा, प्रदेश नं. १ पुनः नामाङ्कन अभियान समितिका अध्यक्ष डकेन्द्रसिं थेगिम, राष्ट्रिय जनमूक्ति पार्टी (७ घटक) का अध्यक्ष केपी पालुङ्वा, पहिचानवादी नेता सञ्जुहाङ् पालुङ्वा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लिम्बुवान प्रान्तीय मञ्चका उपाध्यक्ष ज्ञानु इम्बुङले बोलेका थिए ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय महासचिव दिलकुमार लावती, जसपा नेपालका केन्द्रीय सदस्य भिम राई, पहिचानवादी नेता सञ्जुहाङ् पालुङ्वा, मेचे सिवियारी अफातका केन्द्रीय उपाध्यक्ष अग्निमाया मेचे, नेपाल आदिवासी जनजाति महिला महासंघ केन्द्रीय सचिव सनम राजवंशी, धिमाल जातीय विकास केन्द्रमा केन्द्रिय उपाध्यक्ष तथा जसपा नेपाल लिम्बुवान राष्ट्रिय समितिका मूख्य सचिव केदार धिमाल, नेवा देयः दबु प्रदेश सदस्य तथा नेपाल आदिवासी जनजाति महासंघ झापाका पूर्व अध्यक्ष भरत कुमार श्रेष्ठ, नेकपा माओवादी झापा जिल्ला इन्चार्ज अग्नि आचार्य लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि वक्ताहरूले प्रदेशको नाम कोशी खारेज नभइन्जेलसम्म आन्दोलन गरिरहने बताएका थिए ।

उनीहरुले पहिचानका लागि युवा प्रदेश नं. १ अन्तर्गतका १४ वटै जिल्लामा युवा दस्ता गठन गरिने उद्घोष गरे ।
संयुक्त संघर्ष समिति झापा सदस्य सचिव सेसेहाङ् फियाक लिम्बू र पहिचानको लागि युवा झापा सचिव गौरीमान राईले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "पहिचानको लागी युवा दस्ताको लागी १५०१ युवा गठन" A few seconds ago

सम्बन्धित खवर