अन्जिलहाङ राई
किरात राई समुदायको भाषा ,धर्म, संस्कार, संस्कृतिलाई संरक्षण र सम्बर्द्धन गर्नको निम्ति आजभन्दा ठिक २२ बर्ष अगाडी २०५६ भदौ १७ गते “हाम्रो पहिचान भाषा र सस्कृती, सद्भाव बढाई त्यागौ बिकृती” भन्ने मुल नाराको साथ नवीन राईको अध्यक्षतामा किरात राई बिद्यार्थी संघको स्थापना भएको ईतिहासलाई कसैले नर्कान सक्दैनन् । संघको संस्थापक अध्यक्ष श्री नवीन राईलाई हाल सम्म राज्यले बेपत्ता पारेको छ उहाँको शीघ्र सार्बजनिकरणको लागि सरकार संग जोडदार माग गर्दछौं । किरात राई बिद्यार्थी संघ लाखौं लाख किरात राई बिद्यार्थीहरुको साझा स्वतन्त्र एबम गौरबशाली इतिहास बोकेको सङगठन हो ।
संघले स्थापना काल देखि नै यो देशमा भएको जातीय विभेद, असमानता र अन्यायको विरुद्धमा शसत्त ढङ्गले आन्दोलन गर्दै आईरहेको छ । २०६२/६३ सालको महान जन आन्दोलन, आदिवासी जनजातिको आन्दोलनहरुमा आफ्नो सक्रिय र नेतृत्वदायी भुमिका निर्बाह गरेको छ । आज यो देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र देश बनाउनको निम्ति पनि हजारौं किरात राई बिद्यार्थीहरुको योगदान रहेको छ ।
नेपालमा २७ देखि ३२ किरात राजाहरु यलम्बर देखि राजा जितेगस्ती सम्म ८०० बर्ष शासन गरेको कुरा विभिन्न एतिहासिक स्रोतहरुमा उल्लेख गरिएको छ। उपत्यका, पश्चिममा बनेपा धुलिखेल, पुर्बमा ताप्लेजुङ, उतरमा हिमालय पर्बत सम्म वल्लो किरात, माझ किरात, पल्लो किरात गरि किरातीहरुले शासन सत्ता संचालन गरेको थियो। तत्कालीन गोर्खा राज्यको राजा पृथ्वीनारायण शाहले १७७५ मा राज्य एकीकरणको नाममा खुनी हमला गरि जबर्जस्त ढंगले गोर्खा राज्य बिस्तार गरे । त्यसपछि राज्यले “एक भाषा,एक धर्म” को नीति अख्तियार गरि किरात राई समुदायको भाषा धर्म सस्कृतिलाई मास्ने कामको सुरुवात भयो । त्यो खोसिएको, बिभेदमा पारिएको भाषा, धर्म, संस्कृतिलाई अब पुनः स्थापित गर्नु आजको राज्यको दायित्व हो ।
धर्मनिरपेक्षता, समानुपातिक, समाबेशी र आरक्षणको ब्यबस्था गर्नको निम्ति संघको अतुलनीय योगदान रहेको छ । संघको संगठित जनचेतनाको कारणले आज धेरै स्थानीय तहहरुमा पहिचानको आधारित नामहरु नामाङ्कन गरिएको छ । जस्तै किरात राई समुदायको उद्वगम थलो तुवाचुङ जायजुमको नाममा हलेसी तुवाचुङ, लिम्चिङ्बुङ, थुलुङ दुधकोसी, मिक्लाचुङ, हतुवागढी, चौडन्डी गढी, साकेला गापा, केपिलासगढी आदि । जस्तै ड्वाङ्कुम चोक, किरात चौक,साकेला चौक,पुमा चौक आदि । आज राज्यको हरेक निकायमा आरक्षण र समाबेशीको ब्यबस्था मार्फत किरात समुदाय अनुहारहरुले प्रतिनिधित्व गरिरहेको छ । स्थानीय तहहरुमा मातृभाषाबाट कामकाजी भाषा, विद्यालयहरुमा मातृभाषाबाट पठनपाठन, स्थानिय तहमा किराँती लिपिको प्रयोग जस्ता कामहरु किरात राई बिद्यार्थी संघको आन्दोलनको महत्वपूर्ण उपलब्धि मानिन्छ ।
आगामी कार्यभार
नेपालको संविधानमा अहिले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समाबेसीता जस्ता महत्वपूर्ण ब्यबस्थाहरु रहेको छ । यो आशिक रुपमा उपलब्धि त हो तर यो आम उत्पीडित समुदायको निम्ति अधुरो र अपुरो नै छ । डा बाबुराम भट्टराई शब्द सापटी लिनुपर्दा यो संविधान आदि गिलास भरिएको पानी जस्तो छ । संघीयता त आएको छ, तर ५ बिकास क्षेत्र जस्तो प्रशासनिक एकाई जस्तो मात्र रहेको छ अधिकार सम्पन्न पहिचानमा आधारित प्रदेश बनेको छैन । धर्मनिरपेक्षताको ब्यबस्था त गरेको छ, तर फेरिपनि सनातन धर्मलाई नै प्रोत्साहन गर्ने स्पष्टीकरणको ब्यबस्था गरिएको छ । आरक्षणको कोटाहरु हटाउने काम धमाधम भैइरहेको छ । स्थानिय तहहरुमा संचालित मातृभाषाको पठनपाठन रोक लगाउने, गाईगोरु काट्दा जेल हाल्ने कामहरु भैइरहेको छ । यो प्रतिगमनको संकेत हो । यो सरकारले प्राप्त उपलब्धिहरुलाई रक्षा गर्नुको साटो झन कमजोर बनाउन लागिपरेको छ । यो उपलब्धिहरु गुम्ने खतरामा रहेको छ । अब यो महान उपलब्धिहरुलाई रक्षा गर्दै अझ अधिकार सम्पन्न संविधान बनाउनको निम्ति संविधान संसोधन गर्नको निम्ति किरात राई बिद्यार्थी संघले व्यापक जनदबाब सिर्जना गर्न आबस्यक छ । हामीले अहिले १ न प्रदेस पहिचान र सभ्यताको आधारमा किरात प्रदेश हुनुपर्दछ भन्दै आएको छौ । किरात एउटा प्राचीन इतिहास, सभ्यता र संस्कृती हो । यो सबैको साझा पहिचान हो । किरात सभ्यताको चर्चा महाभारत, बेद आदिमा पनि गरिएको छ । त्यसैले हामी दावाको साथ भन्न सक्छौ कि देशको साझा सभ्यता र सम्पती हो । तर यो दुई तिहाईको नेकपाको सरकारको क्रियाकलाप हेर्दा यो किरात सभ्यतालाई स्वीकार नगर्ने पक्षमा छ । जस्तो कि प्रदेश ७ सुदुरपस्चिम, प्रदेश ६ कर्णाली, प्रदेश ४ गण्डकी, प्रदेश ३ बाग्मती जस्ता पहिचान बिरोधी नामहरु राख्ने कामहरु भएको छ । त्यसै गरि प्रदेश न १ को नाम पनि कोशी या सगरमाथा राख्ने यो नेकपा सरकारको मुख्य ध्याय रहेको कुरा घामजस्तै छर्लङ्ग भएको छ । कोशी र सगरमाथाले पहिचान मागेको छैन उसको आफ्नै पहिचान छ । ७ वटा नदि मिलेर बनेको नेपालकै ठुलो नदि कोशी, ८८४८ फिट बिस्वकै अग्लो टाकुरो सगरमाथा । यहाँको भस्मे खोरिया फाडेर बस्न योग्य बनाउने यहाको भुमिपुत्रहरुले पहिचान मागेको छ, उसलाई पहिचान चाहिएको हो । समय घर्कदै छ हामी रणनैतिक हिसाबले ससत्त ढङ्गले योजना बनाएर जनतामाझ जानुपर्ने बेला भएको छ । एक भाषा एक धर्मको एकल जातीय मुलुकलाई बहुलजातिय मुलुक, साझा फुलबारी बनाउन आबस्यक रहेको छ । शिबरात्री, दशै जस्ता हिन्दु समुदायको चाडमा टुडिखेलमा पडकने तोप अब किरात राई समुदायको चाड साकेला उधौली,उभौलीमा पडकनुपर्छ अनि मात्र यो देश सबै जातिको साझा बन्दछ । उत्पीडित समुदायको मुक्ति जबसम्म हुदैन तबसम्म निरन्तर अग्रमोर्चामा रहेर मुक्तिगामी आन्दोलनको नेतृत्व गर्न लाखौ लाख किराँती समुदायको आशा र भरोसाको केन्द्र किरात राई विद्यार्थी संघ सदैब रहिरनेछ, रहिरहनेछ र रहिरहनेछ ।