इनफ इज इनफ : अब यसरी पनि सोच्ने कि ? – Satabdi News

इनफ इज इनफ : अब यसरी पनि सोच्ने कि ?

पंकज राई

‘क्रान्ति भनेको रोमान्स होइन, चुँदरी बुन्नु जस्तो होइन र भोजभतेर पनि होइन ।’ माओको यो भनाई म अक्सर सम्झिरहन्छु ।

आज यो भनाई नेपालको राजनीतिमा सरकारी अनियमितता विरुद्ध स्वःस्फूर्त रुपमा युवाहरुले गरेको आन्दोलनमा सान्दर्भिक देखिएको छ । उदाहरणको लागि युवाहरुले अनेक नाम गरेको पेन्टिङ्ग गरेको नाराहरुको प्ले कार्ड बनाए । पेन्टिङमा उनीहरुले आफ्नो मष्तिष्कमा उत्रिएको सरकारको चित्र उतारेका थिए ।

जस्तै– ‘के पाइस नेपाली केरा ?’ ‘१० अर्ब खै’ ‘शतप्रतिशत कोरोना परीक्षणमा पिसिआर विधि लागू गर’ ‘युवा अघि सर्छ देश अघि बढछ्’ ‘गफ हानेर नेता बन्न पाइने हो ?’ ‘कर के को लागि ?’ ‘नो मेर जोक्स’ ‘इनअफ इज इनअफ’ ‘प्रहरी हाम्रो मामा हुन्, भान्जाभान्जी कुटन् पाईंदैन्’ ‘न्याय नपाएको चप्पल’ ‘भष्ट्र नेताहरु चिल्लो गाडीमा, युवाजति खाडीमा’ ‘कोरोना भाइरसले नमरे भष्ट्रचार भाइरसले मरिन्छ’ ‘सरकार कि त जाग कि त भाग’ ‘ आदि ।

यी युवाहरु जति पनि स्वःस्फूर्तरुपमा सामाजिक सञ्जालको सम्पर्कबाट सडकमा उत्रिएका थिए । उनीहरु कुनै राजनीतिक दल वा संगठनको माध्यमबाट आन्दोलनमा उत्रिएका थिएनन् र यो आन्दोलनबाट म नेता बन्छु भनेर कोही पनि आएका थिएनन् ।

आन्दोनलकारीहरुको राजनीतिप्रति अत्यधिक वितृष्णा देखिएको थियो । र, उनीहरुको आह्वान नै थियो कुनै पनि राजनीतिक पार्टीका नेता तथा कार्यकता एवं झोले आएमा कडा भन्दा कडा कारवाही गरिन्छ ।

अचम्मको कुरा त यति ठूलो आन्दोलनमा कसले नेतृत्व गरेको छ भनेर पहिचान नै हुन सकेन । यो आन्दोलन जेठको २७ गते काठमाडौंबाट सुरु भएपछि देशभर नै फैलिएको थियो । बुटवलका युवाहरुसँग आन्दोलन कसरी गर्ने भनेबारे छलफलमा म पनि सहभागी भएँ र आफूलाई सचेत युवा नागरिकको हैसियतले त्यो आन्दोलनमा आफूलाई सहभागी गराएँ ।

बुटवल प्रदेश ५ को अस्थायी राजधानी भएको हुनाले मुख्यमन्त्रीको कार्यालय अगाडि शान्तिपूर्ण आन्दोलन गर्ने प्रस्ताव आयो । यो प्रदेशको समस्या काठमाडौंको भन्दा अलि फरक छ । जस्तै ( अर्घाखाँची र गुल्मीका क्वारेन्टिनमा जातिय छुवाछुतको घटनाहरु घटेको छ भनेर यसलाई पनि समेटन पर्छ भन्ने प्रस्ताव राखेँ । तर यो त राजनीतिक मुद्दा हो भनेर युवा साथीहरुले उक्त प्रस्ताव मानेनन् ।

मैले उनीहरुभन्दा फरक तर्क गरेँ । ‘यो त कोरोना महामारीमा क्वारेन्टिनमा घटेको घटना हो, यो समेटिनुपर्छ । हामी अमेरिकामा कालोलाई गरेको रंगभेद विरुद्ध बोल्न सक्छौँ भने जातिय छुवाछुतको विरुद्ध किन नबोल्ने ?’ अन्ततः उनीहरुले यो राजनीतिक मुद्दा होइन, मानवतावादसँग जोडिएको मुद्दा हो भने पछि बल्ल केही युवाहरुले समर्थन जनाए ।

तर पनि जातिय छुवाछुत विरुद्धका केही प्ले कार्ड देखिए पनि सञ्चार माध्यमहरुले प्राथमिकता दिएनन् । मैले पुनः माओको सोही भनाई सम्झिएँ ।

किनभने भ्रष्टाचारीहरुलाई राणा शासन र राजतन्त्रमा पनि कारबाही भएको थियो । तर नेपाल तेस्रो विश्वबाट प्रथम विश्वमा किन आउन सकेन त ? किन रोजगारीका अवसरहरु देश भित्र नै सिर्जना हुन सकेन त ?

“विवेकको प्रयोग गरेर विरोध गर्नु आवश्यक छ ।
विद्रोह भनेको एकप्रकारको विकल्प हो । तर,
विकल्प अहिले भइरहेको भन्दा खराब नहोस् भनेर
सचेत हुनुको विकल्प छैन । यसको लागि नयाँ
पुस्ताले पर्याप्त गृहकार्य गर्नुपर्ने देखिन्छ ।”


नेपाल विभिन्न भाषाभाषी, जाति र संस्कृति भएको राष्ट्र हो भन्ने अहिलेका विज्ञान र प्रविधिको पहुँच भएका युवाहरुमा ज्ञानको कमी देखियो । यो युवाहरुको मात्रै दोष नभएर हिजो हामीलाई सिकाइएको हाम्रो शिक्षा प्रणालीको गल्ती पनि हो । हामीलाई गलत ईतिहासहरू पढाईएको छ ।

आन्दोलनमा गाउँ गाउँ बाट उठ बस्ती बस्ती बाट उठ भन्ने गीतहरु आन्दोलनकारी युवाहरुले गाएर शान्तिपूर्ण रुपमा प्रदर्शन गरेका थिए । आन्दोलनमा सहभागी केही युवाहरुले ‘वीर गोर्खाली, यहाँ राजा रानी हुन्छ’ भन्ने गीत पनि गाए । आन्दोलनको मुख्य मुद्दा के हो ? भन्नेमा स्वयम् आन्दोलन गर्नेहरुमा अन्योल थियो ।

कसैले एमसीसीको पनि विरोध गरेका थिए । नेकपाको केही युवाहरुले ‘यो षडयन्त्र हो, नयाँ नक्साविरुद्ध’ भन्ने आरोप पनि लगाए ।

मुख्य कुरा के हो भने देशभरी यति ठूलो समूह युवाहरुमा राजनीतिक चेतनाको न्यूनता देखिनु देशका लागि चिन्ताजनक विषय हो । अरुको असफलतामा खुसी हुनुलाई स्याडिस्टिक स्वभाव भएको मान्छे भनिन्छ । यहाँ खड्क प्रसाद शर्मा ओलीको असफलतामा धेरै खुसी भएको पनि देखियो । जुन त्यही स्वभावका जनताको प्रतिक्रिया हो । केवल असन्तुष्टिले मात्रै देशलाई अगाडि लैजाँदैन ।

यहाँ कुनै एउटा व्यक्ति असफल भन्दा पनि देश असफलता तिर गईरहेको कसैको ध्यानकार्षण नभएको महशुस भयो । जुन समूह सामाजिक सञ्जालमा पहुँच बनाउँछ त्यही समूह विभेद, अन्याय, पितृसतात्मक समाजका प्रभावहरु, बलात्कार, जातिय छुवाछुत, शासकीय स्वरुप, राज्यको पुनर्संरचना जस्तो विषयमा प्रवेश नै गर्न चाहँदैन ।

ल ठिक छ, राजनीतिक पार्टीको नेता कार्यकता कोही पनि आवश्यक छैन । मानियो । तर, समाधान के ? कुनै पनि राजनीतिक पार्टीमा आवद्ध नभई यो देश विकास गर्ने शुत्र के हो ? यो प्रश्नको जवाफ त खोज्नु पर्ने होला नि हैन र ?

हो, नेपालमा जे कुरामा पनि अति राजनीतिकरण छ । देशमा नागरिक भन्दा कार्यकर्ता धेरै छन् कि जस्तो भान हुन्छ । यस्तो अवस्थामा कार्यकर्ताहरुको नागरिकमा रुपान्तरण हुन आवश्यक छ । विवेकको प्रयोग गरेर विरोध गर्नु आवश्यक छ । विद्रोह भनेको एक प्रकारको विकल्प हो । तर, विकल्प अहिले भइरहेको भन्दा खराब नहोस् भनेर सचेत हुनुको विकल्प छैन । यसको लागि नयाँ पुस्ताले पर्याप्त गृहकार्य गर्नुपर्ने देखिन्छ ।

अधिकांश युवाहरु उत्रिएको आन्दोलनको यो देशको प्रधानमन्त्रीले, मुख्यमन्त्रीले किन सामना गर्न सकेनन् रु किन आन्दोलनलाई दमन गरियो ? उत्तर एउटै छ( यो संसदीय व्यवस्थामा चाकडी गरेर, गुट उपगुट बनाएर चुनावमा टिकट हात पार्ने, अत्यधिक पैसा खर्च गरेर चुनाव जित्ने र सेटिङ्ग गरेर प्रधानमन्त्री, राष्ट्रपति, मुख्यमन्त्री, मन्त्री हुने व्यवस्था भएरै हो । यसमा कुनै शंका छैन ।

कमजोर मानिसहरु अरुलाई आरोप लगाउँछन् । सरकार आन्दोलनकारी युवालाई विभिन्न आरोप लगाउँदै दमनमा उत्रियो । दमनपछि के गर्ने ? आरोपको जवाफ कसरी दिने रु आन्दोलनमा नेतृत्व कसरी व्यवस्थापन गर्ने रु अराजकता र घुसपैठ कसरी नियन्त्रण गर्ने ? अर्कोपटक नयाँ पुस्ताले पक्कै यी विषयहरुमा ध्यान दिनेछ । सरकारलाई विभिन्न प्रकारका सयौं आरोप युवाहरुले पनि लगाए । असन्तुष्टिकै रुपमा आरोपहरु आए । तर, ती आरोपहरुको सूचिकरण गर्दै प्रमुख आरोपहरुबारे पर्याप्त छलफल र बहस गर्दै आन्दोलन त्यसैमा केन्द्रित हुन सकेन ।

अब आरोपको मात्रै राजनीतिले अगाडि बढ्न सकिन्नँ । अब हामीलाई समाधान चाहिएको छ । जसरी मान्छेको शरीरमा महत्वपूर्ण अङ्ग भनेको मस्तिष्क हो । त्यस्तै देश चलाउने पनि मुख्य अंग भनेको शासकीय स्वरुप, निर्वाचन प्रणाली, राज्यको संरचना हो । अब हामी हाम्रो देशको मस्तिष्क ठीक बनाउन लाग्नु पर्छ ।

मलाई लाग्छ, नयाँ पुस्ताले यी केही बुँदाहरुमाथि छलफल गर्नुपर्छ ।

१ ) हामीले अब यो देशको राष्ट्रपति वा प्रधानमन्त्री प्रत्यक्ष जनताले निर्वाचित गर्ने व्यवस्था संशोधन गर्ने आन्दोलन गर्नुपर्दछ ।

२ ) यो देशको नीति नियम, कानून बनाउने संसद पूर्ण समानुपातिक बनाउने आन्दोलन गर्नुपर्छ । यसरी निर्वाचित भएको सासंदहरू मन्त्री हुन नपाउने प्रावधानसहित ।

३ ) हरेक प्रदेशको मुख्यमन्त्री त्यहाँका नागरिकले प्रत्यक्ष मतदानबाट निर्वाचित गर्ने व्यवस्थाको लागि आन्दोलन गर्नुपर्छ ।

४ ) स्थानीय निर्वाचनको उम्मेद्वार राजनीतिक दलको नभएर स्वतन्त्र र योग्य उम्मेदवार बनाउने र निर्वाचित गर्ने व्यवस्था गर्नुपर्छ ।

५ ) भ्रष्टाचार नियन्त्रण गर्न ‘लोकपाल’को व्यवस्था गर्नुपर्छ ।

६ ) निर्वाचनको खर्च अनिवार्यरुपमा पारदर्शी गर्नुपर्ने ।

७ ) उम्मेद्वारहरूको आम्दानीको स्रोत र सम्पति पारदर्शी गर्नुपर्ने ।

यी मुद्दा बोकेर आन्दोलनमा अहिले स्वतःस्फूर्त निस्केका युवाहरु होमिन सक्नुपर्छ । जसले हामीलाई आरोप लगाउने युवा हैनन्, हामी प्रगतिशील युवा हौं भन्ने प्रमाणित गर्ने अवसर दिन्छ ।

हामी निराशावादी हैनौं, हामी आशावादी युवा हौँ । हामी नकारात्मक हैन, हामी आलोचनात्मक चेत भएका युवा हौं भनेर प्रमाणित गर्छ ।

फेरि आउने निर्वाचनमा कुनै अमुक पार्टीको कार्यकता भएर बाईक र्‍याली निकालेर हिंड्ने कि कुनै पनि पार्टीको झन्डा नबोक्ने र देशलाई समाधान दिएर देशलाई समृद्ध बनाउने अभियानमा लाग्ने ?

अहिलेको युवाहरुको एकताले अवसर दिएको छ । यदि यसो हुन सकेन भने हामीेले बनाएको सिर्जनात्मक पेन्टिङ्ग, प्लेकार्डहरुबाट क्रान्ति हुदैनन् । आगे तपाईहरुको मर्जी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "इनफ इज इनफ : अब यसरी पनि सोच्ने कि ?" A few seconds ago

सम्बन्धित खवर