१९ जेठ, काठमाडौं |दयाहाङ राई अभिनित एक चलचित्रको देशव्यापी प्रदर्शन तथा त्यस चलचित्रकी नायिका र एक भिक्षुवीच विवादवारे जनसाधारणको ध्यानाकर्षण भएको छ। मिलापत्रका समाचार पनि आएका छन। भिक्षुले गल्ती स्वीकार गर्दै माफी मागेको कुरालाई सकारात्मक मान्नु पर्छ। तर, आवेशमा आएर कुटपिट नै गरिहाल्ने ती नायिकाले पनि, जे जस्तो सुकै भए पनि भिक्षुमाथि कुटपिट गरिहालेकोप्रति क्षेमायाचना गरेको भए उत्तम हुन्थ्यो, भन्ने लाग्छ। किनकि, भिडियो फुटेजमा प्रशारित दृश्य अनुसार ती भिक्षुले नायिकामाथि हातपात गरेको छनक दृष्टिगत हुँदैन। यध्यपि, यो सम्बन्धित क्षेत्रको स्वतन्त्र मामिला हो, भन्नु पर्दछ।
परन्तु, त्यस घटनाको समाचारले सन २००९ मा, संस्कृति मन्त्रीको हैसियतमा हामीले गरेको थाईल्याण्ड यात्रा स्मरण गरायो र थाई समाजमा बौद्व भिक्षु र महिला सम्बन्धवारे संक्षिप्त आलेख उपयुक्त ठानेर यहाँ प्रस्तुत गरिएको छ।
लुम्बिनीमा प्रशुति अस्पताल निर्माण सहयोगका लागि थाई सरकार समक्ष हामीले आग्रह गरेका थियौं। त्यस कार्यका लागि मन्त्रीस्तरीय वार्ता तथा अस्पताल भवनको ढाँचा चाहिँ थाई अनुरुप हुनु पर्ने सन्दर्भमा (नेपाली मन्त्रीलाई थाईल्याण्डको विभिन्न भवन ढाँचा अवलोकन गराई एउटा नमूना रोज्न अनुरोध भएकोमा) हामी बेङ्कक पुग्यौं। त्यसर्थमा थाई संस्कृति मन्त्री र स्वास्थ्य मन्त्रीको संयुक्त निमन्त्रणामा हामी त्यहाँ पुगेका थियौं। लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु श्री कर्मासाङ्बो शेर्पासहित हामीले तीन दिनको बेङ्कक बसाई र घुमाई गर्ने अवसर मिल्यो।
थाई संस्कृति मन्त्रालयले निजी सचिवका रुपमा एक जना महिला अधिकृत हामीसंग खटाएका थिए। अनुमानित ३० बर्षकी ती थाई अधिकृत अंग्रेजीमा भन्दा निकै “स्मार्ट” थिइन। थाई मोरीहरु स्मार्ट नहुने कुरै भएन।
विभिन्न सम्पदाहरुको अवलोकन क्रममा जब गाडीबाट ओर्लेर हामी पैदल हिड्थ्यौं, ती अधिकृत निकै सतर्कतापूर्वक परपर तर्किएर हिंडेको अनुभूति हुन्थ्यो। ध्यानाकृष्ट झैं भए पनि सुरुमा सामान्य नै ठानियो। दोस्रो दिनतिर पनि त्यो क्रम दोहरिएको अनुभव भएपछि हामीले आफ्नो टोली सदस्यहरुलाई ध्यानमा राख्न थाल्यौं, कतै नेपाली साथीहरुले गडबडी त गरिरहेका छैनन? तर, आफ्ना साथीहरुको त्यस्तो गलत रवैया कतै प्रतीत भएन। महिला अधिकृतको उच्च सतर्कता व्यवहार भने जारी रह्यो।
दोस्रो दिनको अन्तिम समयतिर, हिंड्दै गर्दा ती अधिकृतलाई सोध्न हामी बाध्य भयौं र सोध्यौं-“तपाईं किन लगातार तर्किएर हिड्नु हुन्छ, केही समस्या परेको छ?”
अधिकृतको जवाफ रह्यो-“मलाई कुनै समस्या छैन। खाली म थाई समाजको परम्परा र सरकारको नियम पालना गरिरहेकी छु। यहाँको परम्परा र सरकारी नियममा जवान महिलाहरु भिक्षुको नजिक हिंड्नु वा रहनुलाई अनैतिक मानिन्छ। परम्परा र नियम उल्लङ्घन गरेमा कार्वाही भोग्नु पर्छ।” उनी भन्दै थिइन-“तपाईको टोलीमा लुम्बिनीको सम्मानित उपाध्यक्ष भिक्षु हुनुहुन्छ र म सतर्क व्यवहार गरिरहेकी छु। माननीय मन्त्री! अन्यथा नलिनु होला, यो हाम्रो परम्परा र नियम समेत हो।”
बल्ल कुरा बुझियो। करिब तीन लाख बौद्व भिक्षुहरु रहेको थाईल्याण्डमा पुरुष भिक्षु र जवान महिलाहरुवीच दुरी सम्बन्धको सामाजिक परम्परा र सरकारी नियम कति तगडा रहेछ अनि कर्मचारीले कसरी पालना गर्दा रहेछन!
तर, नेपाली समाजमा भने डोरबहादुर बिष्ट अनुसार भारतबाट आयातीत भाग्यवाद र त्यसद्वारा सृजित श्रमप्रतिको घृणाभाव, राणाशासनले थोपरेको चाकडी प्रथा, आफ्नो मान्छे र भ्रष्टाचारले गाँजेको समाज अनि दलाल पुँजीवादी निर्वाचन प्रणाली ग्रस्त समाजमा न बौद्व भिक्षुहरुप्रति गरिने सम्यक व्यवहारको दृष्टिकोण छ, न त महिलाहरुप्रति नै। परिणाम, त्यो अनपेक्षित घटना घट्न पुग्यो। परन्तु, नायिका र भिक्षु विवादको कारकतत्व यसकारण नेपाल राज्य तथा नेपाली समाज हो न कि भिक्षु र नायिका।
अन्त्यमा, यहाँ “मोरी” शब्दको प्रयोग जो गरिएको छ, सो क्युबाली कमरेड फिडेल क्यास्ट्रोबाट सापटी लिइएको हो। अन्यथा आरोपित गरिहाल्न मिल्दैन।@
– गोपाल किराँती फेसबुक एकाउन्ट बाट साभार