
यो समय
थुप्रै एकान्तपनहरुले सम्झाइ रहेछ मलाई
कहिले
प्रेमको एकान्तपन आउँछ र भन्छ
सम्झिनलाई पनि मैले यादहरुको ऋण दिएको छु
ता कि
किनिदिन सकोस तिम्रो प्रेम फेरि फर्किएर आउने झिनो आशाहरु
फेरि
आसुको एकन्तपन आउँछ
र भन्छ
दुख र सुखको साम्राज्य तिम्रो आखामा बनाएको छु
सम्हालिदिनु मेरो मौनताको धरातल
ता कि
प्रत्येक थोपाहरुले तिम्रो भावनाहरु समेट्न सकोस
कहिले
बिश्वासको एकान्तपन आउँछ र भन्छ
प्रत्येक मानिस मेरै साहारा लिएर
सम्बन्धहरुको सुरुवात गर्छन ,
ता कि
मेरो आड लिएर आत्मीयताको घर सजाउन सकुँन
म
चुपचाप चुपचाप
आफ्नै मनको एकान्तपन भुलाउन
नदि किनारको काखमा बसेर सोचिरहन्छु
फेरि
नदिहरुको एकान्तपन आउँछ र भन्छ
मैले बगिदिएर मात्र कयौं खोलाहरुको मिलन हुन्छ ता कि
तिम्रो एकान्तपन जस्तै
कयौँ खोलाहरुको एकान्त समेट्न सकुँ र बनाउन खुसिहरुको बिशाल समुन्द्र
केही
प्राथनाका एकान्तपनहरु आउँछन र भन्छन
तिम्रो हरेक ईच्छाहरु परिवारको प्रथाना भएर पूरा हुन्छ
जसरी चुपचाप चुपचाप बाआमाहरु
ओठमा मुस्कान लिएर प्रथना गर्छन
ता कि
तिम्रा हरेक इच्छाहरुले सफलता शिखर चुम्न सकोस
फेरि
केही सिर्जनाका एकान्तपनहरु पनि आउँछन र भन्छन
पोखिनलाई पनि मैले
भोगाईहरुको साहारा दिएको छु
कल्पनाहरु साहारा दिएको छु
ता कि
तिम्रो हरेक भावानाहरु ,गित बनेर निस्कियोस
कविता बनेर निस्कियोस
यसरी एकान्तपनहरुले सम्झाई रहदा
सोचे उनिहरुको पनि आफ्नै रहस्य हुदो रहेछ, उनिहरुको पनि आफ्नै महत्त्व हुदोरहेछ
भनौ एकान्तको पनि बेग्लै एकान्तपन हुदोरहेछ
हो
समयको थुप्रै एकान्तलाई नियाले पछि
यति बेला म
मृत्युको एकान्तपनबाट निस्किएर आएको छु ।।