२५ जेठ, बेलबारी । बेलबारीमा सामुदायिक सर्पदंश उपचार समाजको दोस्रो अधिवेशन सम्पन्न: प्रेम बहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
मोरङको बेलबारी नगरपालिका वडा नं. ४ मा आज सामुदायिक सर्पदंश उपचार समाजको दोस्रो अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। उक्त अधिवेशनले प्रेम बहादुर गुरुङको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राई रहेका थिए भने बेलबारी वडा.३ का वडा अध्यक्ष योगेन्द्र सुवेदी, मन कुमार गुरुङ, स्थानीय जनप्रतिनिधि, राजनीतिक व्यक्तित्व,समाजसेवी तथा स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूको बाक्लो उपस्थिति रहेको थियो ।

हाल सामुदायिक सर्पदंश उपचार समाजले प्रयोग गरिरहेको जग्गालाई भोगचलनको आधिकारिकता दिलाउन नगरपालिकाले आवश्यक पहल गर्ने साथै, यस केन्द्रलाई राज्यको मापदण्ड अनुसार व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालनमा ल्याउने बारे कार्यक्रमका प्रमुख अतिथि दिल प्रसाद राईले बताए ।
नवनिर्वाचित अध्यक्ष प्रेम बहादुर गुरुङले १५ जनाको सदस्य सहित कार्यभार सम्हाल्दै आगामी दिनमा सर्पदंशको उपचारलाई अझै सुलभ र प्रविधिमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरे। बेलबारी र आसपासका क्षेत्रका नागरिकका लागि यो उपचार केन्द्र लाइफलाइनको रूपमा रहँदै आएको उनले जनाए।
कार्यक्रमको अध्यक्षता केशव प्रसाद घलेले गरेका थिए भने कार्यक्रम संचालन सचिव राज कुमार तामाङले गरेका थिए।



