क्रिप्टोकरेन्सी लगायत डिजिटल माध्यमबाट राजस्व चुहावट बढ्यो; अर्थमन्त्री शर्मा – Satabdi News

क्रिप्टोकरेन्सी लगायत डिजिटल माध्यमबाट राजस्व चुहावट बढ्यो; अर्थमन्त्री शर्मा

१९ माघ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले राजस्व राष्ट्रको रगत पसिना रहेको भन्दै त्यसलाई बगेर गएको टुलुटुलु हेरेर बस्न नसकिने बताएका छन् । मंगलबार केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकलाई भर्चुअल माध्यम मार्फत् सम्बोधन गर्दै उनले राजस्व चुहावटलाई जसरी पनि रोक्नुपर्ने बताए । राजस्व चुहावटलाई नियन्त्रण गर्न तुरुन्त कदम चाल्नुपर्नेमा उनले जोड दिए । ‘राजस्व भनेको राष्ट्रको रगत पसिना हो ।

यो बगेर गइरहेको छ’, उनले भने, ‘यो हामी टुलुटुलु हेरेर बस्न सक्दैनौँ । त्यसकारण त्यसको नियन्त्रणको कार्य आजैबाट सुरु गर्नुपर्छ ।’ यसका लागि आवश्यक बजेट तथा अन्य व्यवस्था गर्न अर्थ मन्त्रालयले कुनै कन्जुस्याइँ नगर्ने पनि उनले बताए ।

राजस्व चुहावट नियन्त्रण गर्न ‘अपरेशन’ आवश्यक रहेको बताउँदै यसलाई गृह मन्त्रालय र प्रहरी प्रशासनले विशेष प्राथमिकतामा राख्नुपर्ने बताए । साथै सो अपरेशनका लागि विशेष टोली वा ‘टास्क फोर्स’ बनाइने पनि उनले बताए । यस सँगसँगै नीतिगत सुधारलाई पनि लिएर जानुपर्ने उनको भनाइ छ । यद्यपि हाल संसदबाट नीति निर्माण गर्न असहज भइरहेका बेला मन्त्री स्तरीय तथा मन्त्रिपरिषद्बाट सम्भव भएसम्म नीतिगत परिवर्तन तथा सुधार गरिने बताए ।

मन्त्री शर्माले कतिपय राजस्व चुहावट आम मानिसमा चेतना नहुँदा पनि भइरहेको औँल्याए । त्यसैले सचेतनामूलक सन्देश फैलाउन पनि आवश्यक रहेको उनले बताए । यसरी सन्देश फैलाएर सर्वसाधारणमा चेतना पैदा भई सम्पूर्ण निकाय, आम जनता लगायत सरोकारवाला सबै मिलेर राजस्व चुहावटविरुद्ध लागे ८० देखि ९० प्रतिशतसम्म चुहावट नियन्त्रण गर्न सकिने उनको भनाइ छ ।

त्यस्तै, नाकामा रहेका प्रहरी, कर्मचारीलगायतलाई तालिमको व्यवस्था गर्ने, द्रूत गतिमा संरचनागत तथा प्रविधिको विकास गर्ने लगायतका कार्यले पनि राजश्व चुहावटमा कमी ल्याउन सकिने बताए । पछिल्लो समय डिजिटल प्रविधिमार्फत् राजस्व चुहावटका घटनाहरू बढेका छन् । क्रिप्टोकरेन्सी, डिजिटल क्यासिनो, डिजिटल नेटवर्किङलगायतका ‘अवैध’ कार्य भइरहेका छन् ।

यससँगै आय खर्चको गलत घोषणा गर्ने, कानुनको गलत व्याख्या गर्ने, नक्कली बीजक तथा अन्तशुल्क स्टिकरको प्रयोग गर्ने, भन्सारविन्दुको नजिकै गोदाम राखेर चोरी पैठारी गर्ने लगायतका प्रवृत्ति देखिँदै आएका छन् । त्यस्तै भन्सारबाट सुन, चाँदी, विद्युतीय सामग्री, पशु चौपाया, घरायसी मालवस्तुलगायतमा राजस्व चुहावट बढी हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "क्रिप्टोकरेन्सी लगायत डिजिटल माध्यमबाट राजस्व च..." A few seconds ago

सम्बन्धित खवर