को हुन् यलम्बर ? के हो यलेसंवत् ? – Satabdi News

को हुन् यलम्बर ? के हो यलेसंवत् ?

डा. भक्त राई साम्पाङ

यले संवत् नेपालमा प्रचलित प्राचीन तथा महत्त्वपूर्ण संवत् हो । यो संवत् प्रथम किराती राजा यलम्बरको नामबाट सुरु गरिएको हो । यलेसंवतलाई ठाँउ अनुसार किरातीहरुले आआफ्नो भाषा अनुसारको नामकरण गर्ने गरेको पनि पाइन्छ । जस्तैः “यलेताङबे”,”यलेथोछे”, “यलेदोङ”,”यलेदुङ” आदि । यले संवतको चर्चा गर्नुपूर्व यो छोटो आलेखमा यलम्बर र किरात शासन कालबारे चर्चा गर्नु उपयुक्त भएको हुँदा किरात शासन र यलम्बरको प्रामाणिक इतिहासबारे विवेचना गरिएको छ ।

नेपालको इतिहासमा प्रारम्भिक चरणका धेरै विवरणहरु अझै पनि किम्बदन्तीका रूपमा मात्र रहेका छन् । खास गरेर लिच्छविकाल अघिका नेपालका इतिहास यस्तो अस्पष्ट बन्न पुगेको देखिन्छ । लिच्छविकालपूर्व किरातीहरुले लामो समयसम्म शासन गरेका कुराहरु त्यही कालअवधिमा लेखिएका लिखित सामग्रीहरु पाइदैन यद्यपि विभिन्न बंशशावलीहरु, अभिलेख तथा पुराण, आदि प्राचीन अभिलेख र ग्रन्थहरुमा प्राप्त विवरणको आधारमा गोपाल ( गाईपालक), महिषपाल( भैंसीपालक) र किरातकाल बारेमा पहिल्याउनु पर्ने बाध्येता छ । यी शासकहरुसङ्ग सम्बन्धित विस्तृत विवरणहरु अझैसम्म इतिहासकै गर्भभित्र लुकेको छ । किरातकालीन शासनका बारेमा पनि वैज्ञानिक ढङगले खोज अनुसन्धान हुन सकेको छैन ।

किराती प्रथम शासक यलम्बर र किरात शासनबारे नेपालको सबैभन्दा पुरानो वङशावली गोपालराज वङशावलीमा उल्लेख गरिएका छन् । गोपालराज वङ्शावली लगभग छसय पचास वर्ष अगाडि तयार पारिएको देखिन्छ । गोपालराज वङ्शावली १९ ख पत्र पेज नम्बर २७ मा यस्तो लेखिएको छ-
अथ:सुर्यवम्सप्रभावात् नेपाले कि( रात) राजा निर्ज्जित्य ।। लिच्छविवम्स प्रवर्तते ।। यसरी नै “द गोपालराज वङ्शावली”कै पृष्ठ ७५ मा “अनि सुर्यवङ्शको प्रभावले नेपालका किरात राजालाई जितेर लिच्छविवङ्श चल्यो” भन्ने उल्लेख गरिएको पाइन्छ । किराती राजा यलम्बरको बारेमा नेपालको इतिहासका गम्भीर अध्येता विद्वान् प्राध्यापक दीनेशराज पन्तले नेपाल प्रज्ञाप्रतिष्ठानबाट “प्रथम किरात राजा यलम्बरको समय ” नामक खोजमूलक ग्रन्थ २०६९ मा प्रकाशन गरेका छन् । उनका अनुसार= पुराणहरुमध्ये पशुपति पुराणको आफ्नै ढ्ङगको महत्त्व छ । त्यस पुराणमा एक ठाँउमा यस्तो लेखिएको छ-
जित्वा कैरातराजानं वाक्येन प्रत्ययेन च
करिष्यति तदा राज्यं वैशाल्यधिपतिर्बली।।१२।।
लिच्छविनां नरेन्द्राणां राज्यमूमिमिमां शुभाम् ।
प्रजाश्चाप्याश्रयिश्यन्ति बहिर्देशागतास्तदा।।१५।।
(पशुपतिपुराण अध्याय -१८)
(अर्थ: वैशालीका बलवान् राजाले किराती राजालाई जिती बोलीबचनले विश्वास दिलाएर राज्य गर्नेछन् । लिच्छवि राजाहरुको यो राम्रो राज्यमा बाहिरबाट पनि दुनियाँहरु आउछन् ।) हिमवतखण्ड नामक पुस्तकमा यस्तो लेखिएको छ-
त्रिसहस्रसमान्ते च किरातैर्भुज्यते पुनः ।
क्षत्रियैस्तान्निहत्याज तद् राज्यं च तथा पुनः ।।२७।।
(हिमवत् खण्ड ८३ अध्याय १८१ पृ.)
( अर्थ: तीन हजार वर्ष बितेपछि फेरि यहाँ किरातीहरुले राज्य गर्नेछन् । क्षेत्रीयहरुले किरातीहरुलाई जितेर फेरि त्यो राज्य भोग गर्नेछन् ।) यसरी यी वङशावली, अभिलेख र ग्रन्थहरुबाट के पुष्टि हुन्छ भने लिच्छविकालभन्दा पहिले किरात काल थियो । किरातकालबारे लिच्छविकालीन अभिलेखहरुमा पनि प्रशस्त मात्रामा चर्चा गरिएका छन् । लिच्छविकालीन २०० भन्दा बढी अभिलेखहरु पाइएका छन् । ती अभिलेखहरु संस्कृत र संस्कृतेत्तर भाषामा लेखिएका पाइन्छ ।

किरातकाल बारेमा विभिन्न स्वदेशी तथा विदेशी विद्वानहरुले विभिन्न समयमा विभिन्न प्रकारको खोज अनुसन्धान गर्दै आएको पाइन्छ ती अनुसन्धानहरुमध्ये इतिहासकार प्राध्यापक दीनेशराज पन्तले केही विवरण देहायानुसार उल्लेख गरेका छन् – संस्कृत र तत्कालीन नेवारी भुजिमोल लिपिमा ताडपत्रमा लेखिएको पुस्तकलाई बेलायती विद्वान् सेसिल बेन्डलले पहिलो, दोस्रो र तेस्रो खण्ड बनाए । उनले यसरी तयार पारेको नेपालको इतिहासलाई वि.सं. १९६० मा बङगालको एसियाटिक सोसाइटीको पत्रिकामा प्रकाशन गरे । त्यो उनले गोपालराज वङ्शावलीको आधारमा तयार पारेका थिए । त्यहाँ महिषपाल राजा भुवनसिंहलाई जितेर किरातहरुले राज्य गरे । पहिलो किरात राजा एलम हुन् , उनले ९० वर्ष राज्य गरे,३२ जना किरात राजा भए । बत्तिसौं किराती राजा खिगुलाई जितेर सूर्यवङ्शीहरुले शासन गरे, ती किरातीहरु तामाकोशी र अरुणको बीचको भागमा बस्छन् भनेर लेखिएको छ ।
यसरी नै नेपाल राष्ट्रिय पुस्तकालय हस्तलिखित ७३८० सङ्ख्यामा रहेको भाषावङ्शावलीमा वीरशमशेरसम्मका कुरा लेखिएको छ । ती दुबैको आधारमा नयनाथ पौडेलद्वारा भाषावङशावली र देवीप्रसाद लमसालद्वारा भाषावङशावली द्दितीय भाग प्रकाशन गरिएको छ । त्यसमा महिषपाल राजालाई हराई किरातीहरुले शासन गरे,पहिलो किराती राजा यलम्बरले ९० वर्ष राज्य गरे, अठ्ठाइसौँ किराती राजा गलिजको पालामा क्षेत्रीय राजाले जिती शासन गरे, कलिगत वर्ष १५१६ जाँदा किरात राजाहरुले जम्मा १४७१ वर्ष राज्य गरे भनी लेखिएको छ ।

वि.सं.१८४९ मा नेपाल-चीन युद्ध भएपछि इस्ट इन्डिया कम्पनीको दूतको रूपमा आएका कर्णेल विलियम कर्कप्याट्टिकले “एन अकाउन्ट अफ द किङ्डम अफ नेपाल” नामक पुस्तक लेखेका छन् । त्यसमा महिषगोपाल राजा भवानीसिंहलाई जितेर किरातीहरुले शासन गरे, पहिलो किराती राजा यल्लुङ हुन् , यल्लुङले ९० वर्ष ३ महिना राज्य गरे,अन्तिम किराती राजा गुल्लीजङ हुन् , २७ किराती राजाले १६३० वर्ष राज्य गरे, गुल्लीजङलाई जितेर सूर्यवङ्शीहरुले शासन गरे भन्ने उल्लेख गरिएको छ । यसरी नै वि.सं. १८५८ मा इस्ट ईन्डिया कम्पनीको दूत भएर नक्ससङ्ग नेपाल आएका डा.फ्रान्सिस बुच्नान हेमिल्टनले पनि काठमाडौ बस्दा नेपालको इतिहासको खोज अनुसन्धान गरे । उनले “एन अकाउन्ट अफ द किङडम अफ नेपाल” नामक पुस्तक प्रकाशन गरे । त्यस पुस्तकमा महिष गोपाल राजालाई जितेर किरातीहरु राजा भए २७ किराती राजाले १६३० वर्ष राज्य गरे तिनीहरूलाई सूर्यवङ्शी क्षेत्रीयहरुले हराए भन्ने उल्लेख गरिएको छ ।

यसरी नै सुगौली सन्धिपछि अङ्ग्रेजी दूतावासमा सामान्य कर्मचारीको रूपमा वि.सं. १८७७ मा नेपाल आएका ब्रायन हगटन हडसन पछि राजदूतसम्म भए र उनले “हिस्ट्री अफ नेपाल” पुस्तक प्रकाशन गरे । त्यहाँ उनलेे पूर्वबाट आएका किरातीहरुले अहिरराजा भुवनसिंहलाई हराएर शासन गरे,पहिलो किरात राजा इलम्ब हुन् ,उनलेे ५० वर्ष राज्य गरे,२२ औँ किराती राजा गस्तिको पालामा कलिगत संवत् १११८ वर्ष बित्दा सूर्यवङशीले किरातहरुलाई हराएर शासन गरे भन्ने उल्लेख गरिएको छ ।

यसै गरी श्री ३ जङगबहादुरको पालामा औसधि उपचार गर्ने डा.को रूपमा नेपाल आएका डेनियल राइटले नेपालको इतिहासबारेमा खोज अनुसन्धान गरे । उनलेे वि.सं.१९३३ मा क्याम्बृजबाट “हिस्ट्री अफ नेपाल” नामक ग्रन्थ प्रकाशन गरे । त्यस वङ्शावलीमा पूर्वबाट आएका किरातीहरुले अहिरवङशका तेस्रा राजा भुवनसिंहलाई हराए , यलम्बर पहिलो राजा भए, किरातवङ्शका २९ औं राजा गस्तिलाई शोमवङ्शीले हराए र शासन गरे भनी लेखिएको छ । (स्रोत: दीनेशराज पन्त -प्रथम किरात राजा यलम्बरको समय -२०६९)यसरी हेर्दा के देखिन्छ भने बंशशावली, पुराण, अभिलेख, प्राचीन ग्रन्थ तथा विभिन्न समयमा विभिन्न स्वदेशी तथा विदेशी विद्वानहरुको खोज अनुसन्धानको आधारमा नेपालमा लिच्छविकालपूर्व किरातकाल थियो भन्ने कुरा स्वत: पुष्टि हुन्छ भने प्रथम किराती राजा यलम्बर हुन् भन्ने कुरा पनि त्यतिकै प्रष्ट छ तर उनको नाम भने केही फरक फरक पाइन्छ । किराती प्रथम राजाको नामहरु यलम्बर, एलम, इलम्ब, यलम्ब,यलिम्ब,यलुङ आदि उल्लेख भएको पाइन्छ परन्तु यी नामहरुको आधारमा के भन्न सकिन्छ भने यो एउटै व्यक्तिको नाम हो । उच्चारण गर्ने र लेख्ने क्रममा सामान्य फरक देखिए तापनि यिनी एउटै व्यक्ति हुन् भन्नेमा कुनै विवाद देखिदैन ।

यसरी नेपालको इतिहासमा लिच्छविकालपूर्वका शासक किराती हुन भन्ने विषयमा कुनै दुइमत पाइदैन परन्तु किरातीहरुको शासनकाल र समयमा भने फरक फरक विचार र खोज अनुसन्धान भएको पाइन्छ । दीनेशराज पन्त ( ऐ.) अनुसार – भगवानलाल इन्द्रजीले संग्रह गरेको वङ्शावलीको पृ.१९४ मा किरात वङ्शको राजधानी गोकर्णमा थियो । यिनीहरुको१११८ वर्षसम्म राज्य रह्यो । यलम्बर द्वापरयुगका १२ वर्ष बाँकी रहदा आए भनी उल्लेख गरेका छन् । जस अनुसार कलिगत वर्ष ३०४४ मा विक्रम संवत् सुरु भएको हो । यताबाट ३०४४+१२=३०५६ विक्रम संवत् पूर्व यलम्बर राजा भएको देखिन्छ । यसै गरी कर्कप्याट्रीकले प्रयोग गरेको वङशावलीमा पनि यलम्बरको राज्यकाल कलियुग लाग्नुभन्दा८० वर्ष अगाडि राजा अर्थात् ३०४४+८०=३१२४ वि.पू.मा यलम्बर राजा भएको देखिन्छ । यसरी नै भाषावङ्शावलीको पृ.४६-४८ मा कलियुग लाग्नुभन्दा २२४ वर्षअघि अर्थात् ३०४४+२२४= ३२६८ वर्ष अघि यलम्बर राजा भएको विवरण पाइन्छ । यसरी हेर्दा यलम्बरले शासन गरेको अर्थात् किरात शासन सुरु भएको मिति सम्बन्धमा यस्ता फरक फरक विभिन्न विवरणहरु पाइन्छन् । यस्ता विभिन्न मितिहरुमा ( वि.पू.) विक्रम संम्वत् पूर्व ३००४,३०३८,३०३९, ३०५६,३१२४,२३६४,३२६८ आदि मितिहरु विशेष उल्लेख्य छन् । हाल वि.सं. २०७८ साल चलिरहेको छ । यसमा ३००० मात्र जोड्ने हो भनेपनि ५०७८ हुन्छ । तर किरातीहरुले वि.सं.पूर्व ३००४ देखि यलम्बरले शासन सुरु गरेको हो भन्नेमा पुगेको देखिन्छ त्यसैले किरातीहरुले यले संम्वत् ५०८२ मान्दै आएका छन् ।

निष्कर्ष तथा सुझाव:
नेपालको इतिहासमा किरातकालबारे ठ्याक्कै मितिगत रूपमा भन्न नसकिए तापनि लिच्छविकालपूर्व किरातकाल थियो भन्ने कुरामा कुनै विवाद र बहसको खाँचो छैन, त्यो घामजतिकै छर्लङ्ग छ । तर किरातीहरुले यलम्बर संम्वतलाई वर्षमा एक दिन चर्चा, शुभकामना र सम्झना गरे तापनि त्यही संम्वतको आधारमा सम्पूर्ण किराती सांस्कृतिक जीवनयापन वा जीवनशैली अप्नाउन सकेका छैनन् । उधौली, उभौली होस वा अन्य सम्पूर्ण सांस्कृतिक चाडपर्व सम्पन्न गर्नका लागि किरातीहरुले कहिले यलेसम्वतको आधारमा गरेको देखिदैन । आजभन्दा २०७८ वर्षअघि विक्रमादित्यले प्रारम्भ गरेको विक्रम संवत् र हिन्दू धर्म अनुसारको मिति र साइतमा किरातीहरुले आफ्ना सांस्कृतिक कर्महरु गरेको देखिन्छ । विक्रम संम्वत् अनुसार मङसिरे पूर्णिमा र बैशाखे पूर्णिमाको दिन उधौली उभौली मनाउनु, हिन्दू पन्चाङ्ग अनुसार बार, तिथि, घडी, पला आदिको आधारमा घर निर्माण, घर सर्ने, न्वारान, छेवार, गुन्युचोली, विवाह, अन्त्यष्टि आदि सम्पूर्ण शुभ अशुभ कार्य गर्ने गरेको देखिन्छ । यसका लागि किरातीहरुले मुन्दुम/ मुन्धुमको गहन अध्ययन अनुसन्धान गरेर त्यसको आधारमा वार्षिक पात्रो (क्यालेण्डर ) निर्माण गर्ने र त्यही मुन्दुमी/ मुन्धुमी दर्शनको आधारमा सम्पूर्ण सांस्कृतिक अवयवहरुको प्रयोग र अभ्यास गर्न सके मात्र किरातीहरुले आफ्नो परम्परागत जीवनपद्धतिको उपयोग र संरक्षण गरेको देखिनेछ ।

किरातीहरुले गर्नुपर्ने अर्को महत्त्वपूर्ण काम भनेको यलम्बरको खोजअनुसन्धान गरी त्यसको वास्तविकता पत्ता लाउनु र त्यसलाई आफ्नो बनाउनु । वास्तवमा किरातीहरुले यलम्बरलाई आफ्नो बनाउन सकेको छैन । बरु उपत्यकामा बस्ने नेवारहरुको सांस्कृतिक आधार यलम्बर बनेको देखिन्छ तर किरातीहरुको सांस्कृतिक आधार यलम्बर बन्न सकेको छैन । काठमाडौ उपत्यकाको नेवारहरुले मनाउने जात्रा, उत्सव चाडपर्व यलम्बरसङ्ग जोडिएका वा सम्बन्धित छन् तर पुर्वमा बस्ने किरातीहरुको कुनैपनि सांस्कृतिक अनुष्ठान,उत्सव वा चाडपर्वमा यलम्बर जोडिएका छैनन् । काठमाडौ उपत्यकाको नेवारहरुले मनाउने इन्द्रजात्राको रथको मुकुट यलम्बरको शिर वा टाउको हो । उनीहरूको देवता आकाशभैरव (जो महाभारतको युद्धमा कौरब पक्षलाई सघाउन जाँदा यलम्बरको टाउको त्यही युद्धभूमिमै काटिएको तर उक्त टाउको उडेर उपत्यकामै आइपुगेको भन्ने विश्वास गरिन्छ) यलम्बरकै टाउको मानेर पूजाअर्चना गर्दछन् । जुन आकाशभैरवको अर्थात् यलम्बरको टाउको नेपाल वायुसेवा निगमले लोगोको रूपमा प्रयोग गरेको छ । यसरी हेर्दा के देखिन्छ भने सम्पूर्ण किरातीहरुले आफूलाई यलम्बरको सन्तात ठान्ने हो भने उनीसङ्गको अर्थात् यलम्बरसङ्गको सामिप्यता र निकटताको आधार खोज्न जरुरी छ । हुँदा हुँदै किरातीहरुले केसम्म गल्ती गर्न थालेका छन् भने यलम्बरले हालको काठमाडौ उपत्यकामा शासन गरेको यथार्थ घाम जतिकै छर्लङ्ग हुदाहुदै यलम्बरको शालिकहरु खोटाङ, भोजपुर, सुनसरी आदि पूर्वी इलाकामा बनाउने काम र योजना बुन्न थालेका छन् । जुन ठाँउमा यलम्बरको न त कुनै इतिहास छ, न त कुनै साइनो सम्बन्ध नै छ । त्यसैले किरातीहरुको प्रमुख दायित्व भनेको उपत्यकामा यलम्बरले शासन गरेको क्षेत्रको पहिचान गरी त्यही स्थानमा राज्यसङ्ग जग्गा लिएर शालिक, सङ्ग्रहालय, पुस्तकालय, अनुसन्धान केन्द्र आदि केके बनाउने हो सम्बन्धित ठाँउमै बनाउनु पर्छ । उपत्यका बाहिर यलम्बरको शालिक बनाउदा भोलिका सन्ततिहरुले त्यही ठाँउमा उनको इतिहास खोज्न थाल्यो भने के हुन्छ? त्यहाँ त तायामा खियामा, रैछाकुले ( नाम फरक फरक ) होलेसुङ, बुद्धिकर्ण, अटलसिंह, युमा, फाल्गुनन्द आदिको शालिक बनाउने हो । निष्कर्षत: के भन्न चाहन्छु भने हामीले हाम्रो वास्तविक इतिहासको पहिचान गरौँ । पहिचान गर्न सकेका छैनौं भने खोज अनुसन्धान गरौँ । तर हाम्रा भावीपुस्ताहरुलाई गलत इतिहास घोक्न र बोक्न कहिले नलाँउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "को हुन् यलम्बर ? के हो यलेसंवत् ?" A few seconds ago

सम्बन्धित खवर