सकारात्मक नीतिले सेयर बजारमा हरियो – Satabdi News

सकारात्मक नीतिले सेयर बजारमा हरियो

७ पुस, काठमाडौं । सेयर बजारमा फेरि रौनकता फर्किएको छ । नेप्से सूचकमा आकर्षक वृद्धि हुँदा खरिदबिक्री रकममा पनि सुधार भएको छ । बुधबार नेप्से सूचक ९२.१६ अंकले बढेर २५०७.७० विन्दुमा पुगेको छ । ४ अर्ब ५२ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । नीतिगत सुधारपछि सेयर बजारमा पनि चमक आएको हो ।

अर्थ मन्त्रलाय र केन्द्रीय बैंकले एकसाथ २ वटा नीतिगत सुधारका काम गरेका छन् । जसले वित्तीय प्रणालीमा प्रत्यक्षरुपमा तरलता वृद्धि गर्न सहयोग पुग्ने भएको छ । यही कारण पेनिक अवस्थामा पुगेको सेयर बजारमा एकाएक सुधार देखिएको हो । अर्थ मन्त्रालयले स्थानीय निकायको सञ्चित कोषको ८०% रकमलाई निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरेको छ । यसबाट तत्कालै वित्तीय प्रणालीमा झन्डै १ खर्ब रुपैयाँ तरलता वृद्धि हुनेछ । यो सेयर बजारका लागि निकै सकारात्मक पाटो देखिएको छ ।

यस्तै, केन्द्रीय बैंकले सोमबार नै आयातमा कडाई गर्ने नीति लिएको छ । जस अनुसार अब बैंकहरुमा प्रतितपत्र (एलसी) खोल्दा आयातकर्ताले शतप्रतिशतसम्म मार्जिन राख्नुपर्नेछ । अब वस्तुको प्रकृति अनुसार न्यूनतम ५०% देखि अधिकतम १००% मार्जिन राखेर मात्र सामान आयात गर्न पाइनेछ । यी प्रावधानहरुका कारण अब वित्तीय प्रणालीमा तरलता सहज हुनेछ । यसैगरी, बैंकहरुले पुसमा ब्याजदर पनि बढाएका छैनन् । यसको सकारात्मक प्रभावमा पनि सेयर बजारमा देखिनेछ ।

यसबीचमा सेयर भाउहरु धेरै सस्तो भइसकेका छन् । यतिबेला सस्तो मूल्यमा सेयर किनेर लाभांशसमेत हात पार्न सकिने अवस्था छ । यसकारण अहिले सेयर खरिद गर्दा घाटाभन्दा लाभको सम्भावना अधिक हुन सक्ने विश्लेषणहरु पनि भइरहेका छन् । अधिकांश कम्पनीहरुको पीई रेसियो निरन्तर घटिरहेको छ । यसले बजारमा सेयर भाउ सस्तो भइरहेको देखाउँछ । यद्दपि, खरिदबिक्री सम्बन्धी निर्णय लगानीकर्ताले आफ्नै स्वविवेकमा गर्नुपर्छ ।

पुसको पहिलो साता पनि समाप्त हुन लागेको छ । अब सरकारी खर्च बढ्न थाल्ने अनुमान गर्न सकिन्छ । त्यस्तै, स्थानीय निकायको निर्वाचन मिति पनि नजिक आइसकेको छ । यी परिदृश्यहरुमा तरलता थप सहज हुँदै जाने अपेक्षा गर्न सकिन्छ । लगानी गर्दा कम्पनी छनोटमा भने विशेष ध्यान दिन आवश्यक हुन्छ । कम्पनीको नाफा, रिजर्भ, लाभांश क्षमता, इपीएस, पीइ रेसियोका साथमा व्यवसाय विस्तारको सम्भावनातर्फ पनि विशेष ख्याल गर्नुपर्ने हुन्छ ।

बुधबार सूचीकृत सबै समूहमा हरियाली आएको छ । यस दिन २३३ कम्पनीको ८१ लाख ४ हजार कित्ताभन्दा बढी सेयर कारोबार भएको छ । ४ कम्पनीको भाउमा सकारात्मक सर्किट लागेको छ । खरिदबिक्री रकमका आधारमा हिमालयन डिष्टिलरी पहिलो स्थानमा रहेको छ । यसको ६८ करोड ३४ लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अपर तामाकोशी र अरुण काबेली हाइड्रोपावर परेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सकारात्मक नीतिले सेयर बजारमा हरियो" A few seconds ago

सम्बन्धित खवर