संखुवासभा हत्या प्रकरण: ६ जनाको हत्या छिमिकीबाटै भएको ​प्रहरीको निष्कर्ष – Satabdi News

संखुवासभा हत्या प्रकरण: ६ जनाको हत्या छिमिकीबाटै भएको ​प्रहरीको निष्कर्ष

२६ भदौ, संखुवासभा । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या छिमिकीबाटै भएको निष्कर्षमा ​प्रहरी पुगेको छ ।

गत आइतबार भएको उक्त हत्याकाण्डमा संलग्न आरोपमा प्रहरीले सोही ठाउँका लोकबहादुर कार्कीलाई पक्राउ गरेको छ । उनी उक्त परिवारका भतिजा पर्ने छिमेकी हुन् । सुरुदेखि नै प्रहरीले उनको निगरानी गरिरहेको थियो। उनले नै हत्या गरेको तथ्य पुष्टि भएको प्रहरीको भनाइ छ ।

तर पक्राउ परेकाको पहिचान खुलाउन प्रहरीले चाहेको छैन। आइतबारसम्ममा हत्याकाण्डमा संलग्न अन्यको पनि पहिचान खुल्न सक्ने अनुसन्धानमा खटिएका प्रहरी उपरीक्षक भीम दाहालले बताए।

उनले भने, ‘आइतबारसम्ममा धेरै कुराहरू खुल्छ। त्यसपछि पत्रकार सम्मेलन गरेर अहिलेसम्मको अनुसन्धानको प्रगति बताउने योजना छ।’

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार उनलाई आजै खाँदबारी लाने तयारी छ। भोलि पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिइने प्रहरीले जनाएको छ।

स्थानीय तेजबहादुर कार्कीको परिवारका ६ जनाको ज्यान लिइएको त्यो घटनामा ९० वर्षीय वृद्ध बौद्धमान कार्की मात्रै जीवित भेटिए।

परिवारका ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय तेज बहादुर कार्की, ५२ वर्षीया कमला कार्की, ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय दिपेन कार्की र ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो।

कार्की परिवारका सदस्यहरुलाई लखेटी लखेटी हत्या गरेको प्रहरीले जनाएको थियो। एउटा शव बाटोमा, एउटा शव घरभित्र, दुईवटा शव बारीको कान्लामा र बाँकी दुईवटा शव खोल्सामा भेटिएका थिए।

ज्यान गुमाएका सबैको पोस्टमार्टमपछि इटहरीमा दाहसंस्कार गरिसकिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "संखुवासभा हत्या प्रकरण: ६ जनाको हत्या छिमिकीबाट..." A few seconds ago

सम्बन्धित खवर