सेयर बजार सकारात्मक लयमा, अबको बाटो कता ? – Satabdi News

सेयर बजार सकारात्मक लयमा, अबको बाटो कता ?

१७, असार काठमाडौं । सेयर बजार बिहीबार सकारात्मक गतिमा अघि बढेको छ । नेप्से सूचकका साथमा खरिदबिक्री रकम पनि औसतमा रहेको छ । सूचक १९.१२ अंकले बढेर २८४३ विन्दुमा आइपुगेको छ । ६ अर्ब ७० करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ । बजार अब विस्तारै अनि क्रमशः सकारात्मक लयमा अघि बढ्ने अनुमान गरिएको छ । धितोपत्र बोर्डको विज्ञप्ति प्रकरणपछि बिग्रिएको बजार अब विस्तारै नयाँ गतिमा जाने तरखरमा रहेको विश्लेषकहरु बताउँछन् ।

यसबीचमा प्यानिक सेल सकिएको छ । यस्तै, कर तथा साँवा ब्याज तिर्नुपर्नेले पनि विस्तारै रकमको जोहो गरिसकेको धेरैको भनाई छ । सेयर बजारमा सिजन सुरु भएको छ । अहिले सेयर होल्ड गर्न सके छोटो समयमै लाभांश दाबी गर्न पाइन्छ । साउन लागेपछि सूचीकृत कम्पनीहरुको वार्षिक वित्तीय विवरण आउन थाल्नेछ । त्यसपछि लाभांश घोषणा र साधारण सभाको समय हुनेछ ।

अहिले सेयर होल्ड गर्नेले निकै छोटो समयमा लाभांश प्राप्त गर्न सक्नेछन् । यसर्थ, लगानीकर्तामा धैर्यता आवश्यक हुन्छ । लगानीकर्ताले कुनै पनि कम्पनीको नाफा, रिजर्भ, वितरणयोग्य मुनाफा, प्रतिसेयर आम्दानी (डाइलुटेट), मूल्य आम्दानी अनुपात तथा भविष्यमा व्यवसाय विस्तारको सम्भावनालाई ख्याल गर्दै लगानी गर्न विश्लेषकहरुले सुझाव दिने गरेका छन् ।

यस्तै, पीई रेसियो समेत अध्ययन गर्दै सबल वित्तीय सूचक भएका कम्पनीहरुमा लगानी गर्न सके जोखिम न्यूनीकरण गर्न र अधिकतम लाभ लिन सहयोग पुग्न सक्छ । लगानी गर्दा होल्ड गर्ने पिरियडका बारेमा पनि निश्चित हुनुपर्छ । अल्पकालीन, मध्यकालीन वा दीर्घकालीन कस्तो प्रकारको लगानी गर्ने भन्ने पूर्वयोजना बनाउन सके निकै सजिलो हुने अनुभवी लगानीकर्ताहरुको भनाई रहेको छ ।

सेयर बजार समग्रमा बुलिस ट्रेन्डमा रहेको छ । वित्तीय प्रणालीमा सहज तरलता, सस्तो ब्याजदरले पनि बजारको औसत गति माथितिर जान सहयोग गरेको हो । अनलाइन प्रणालीको विकासले देश–विदेशमा रहेका लगानीकर्तालाई कारोबार गर्न निकै सहज भएको छ । प्रविधिको मूल्य पनि सेयर बजारमा देखिने जानकारहरुले बताएका छन् ।

अनलाइनबाट सेयर कारोबार गर्न पाउँदा विगतको तुलनामा लगानीकर्तालाई निकै फाइदा भएको छ । समयको बचत भएको छ भने आफैंले खोजेको मूल्यमा रोजेको कम्पनी खोजीखोजी किन्ने अवसर पनि प्राप्त भएको छ । यसले पनि सेयर बजारलाई नयाँ उचाईमा लैजान सहयोग पुग्ने विश्लेषकहरुको भनाई रहेको छ ।

निर्जीवन बिमा बाहेक बाँकी समूहका सूचक वृद्धि भएको छ । ४ कम्पनीको भाउ ९% भन्दा माथि सर्किट लाग्ने तहसम्म वृद्धि भएको छ । कारोबार रकममा नेको इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसको ३० करोड ७२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । यसैगरी, दोस्रो र तेस्रोमा क्रमशः ज्योति विकास बैंक र मेगा बैंक परेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सेयर बजार सकारात्मक लयमा, अबको बाटो कता ?" A few seconds ago

सम्बन्धित खवर