के किराती जातिहरु सूचीकरण हुन आवश्यक छ ? – Satabdi News

के किराती जातिहरु सूचीकरण हुन आवश्यक छ ?

कुमार जेरो किरात

अहिले १२औं जनगणनाको सन्दर्भमा फेसबूक मिडियामा सबैतिर तातिरहेको अवस्था छ । स्वाभाविक किरातिहरु पनि तातिएको अवस्थामा केही कुरा लेख्न मन लागेको छ । विगतको समय हेर्दा विभिन्न कोणबाट १२औं जनगणना सबै जातजाति, वर्ग, क्षेत्रले नियालेर हेरेको देखिन्छ । समय सापिक्षेती जागरुकता हुनु त्यति अस्वाभाविक पनि होइन । १०औं र ११औं विचको जनगणना हेर्ने हो भने १,४०६,७६४ परिवार थप भएको देखिन्छ तर पनि जातजातिको महलमा प्रतिशतको आधारमा नै हेर्ने हो भने पनि घट्नेक्रम रोकिएको छैन । त्यो असर किराती समुदायमा मात्रै नभएर बाहुन, क्षेत्री लगायत अन्य जातिमा पनि देखिन्छ । यसबाट हामीले के अनुमान गर्न सकिन्छ भने १०/१० बर्षको अन्तरालमा आफ्नो जाति पहिचानमा सशक्त रूपमा आएको देखि १० बर्ष पछि जनगणनामा जातिको महलमा फेरबदल गर्नबाट पनि प्रष्ट हुन्छ । आज किरातिहरु बीचमा एकाअर्कामा विवाद गर्नु कुनै औचित्य देखिन्दैन । हामी बीचमा भएको विवाद राईको सङ्ख्या बढाउने र घटाउने जोड घटाउमा आएर एकताको नाममा चर्को छ । जस्तो राई भर्षेश कुलुङ, थुलुङ, बाहिङ, जेरो, वान्तावा आदि भने अर्कोतिर थुलुङ भर्षेश थुलुङ , जेरो भर्षेश जेरो, बाहिङ भर्षेश बाहिङ एवम तरिकाले विवाद चुलिएको अवस्था छ ।

हामीले बुझ्ने पर्ने पहिचान र प्रतिनिधित्व भन्ने कुरा एउटै टोकरीमा राखेर बुझ्नु थाल्यो भने गलत हुन्छ । हेर्दा र सुन्दा उस्तै लाग्छ लागे पनि पहिचान र प्रतिनिधित्व बिल्कुलै एउटै होइन । पहिचान एउटा पाटो हो भने प्रतिनिधित्व अर्को पक्ष हुन । प्रतिनिधित्व दुई तरिकाले गर्न सकिन्छ एउटा खुल्ला प्रतिस्पर्धाको माध्यमबाट हो भने अर्को समावेशी, समानुपातिक (आरक्षण कोटा ) को रूपमा सहभागिता हुने कुरा हो भने, पहिचान बिल्कुल यस्तो नभएर जातीय, वर्गीय, भौगोलिक, आर्थिक सामाजिक, रहनसहन बसोबास आदिमा आधारित हुन्छ । जस्तो उदाहरणका लागि राउटे जातिलाई लिदा ,झट्ट राउटे जाती भन्दा साधारणतय सबैलाई जङ्गलमा बसोबास गर्ने, आर्थिक सामाजिक रूपमा कम्जोर, शिक्षा, स्वस्थ्य , राजनीतिमा पहुँच र सहभागिता नरहेको जातिको रूपमा बुझ्छौ हो यो आधारमा राउटे चिन्नु उसको पहिचान हो । छोटकरीमा भन्नू पर्दा जाति समुदायलाई चिन्ने वा प्रयोग हुने आधार नै पहिचान हो ।
अहिले किराती समुदायहरु भित्र भएको दुबिधालाई चिर्न कोसिस गरेको छु । जस्तो एकता, संख्याको आधारमा प्रतिनिधित्व भनौ या अधिकार बढी पाउने भन्ने कुरालाई अगाडि सारेका राई जाती लेख्नु पर्छ भन्ने समुहमा छन् भने राई लेख्दा आफ्नो जाती पहिचान नदेखिने तर्क सूचीकरण गरेर जानुपर्छ भन्ने समुहको तर्क छ । यी दुबै कुरालाई यहाँ थोरै भएपनि प्रष्ट पार्न जमर्को गरेको छु ।

राई शब्द एउटा पक्षले जातिको रूपमा राख्नुपर्छ देशविदेशमा परिचित जातिको रूपमा नै विकास भईसकेको हुँदा यो कुनै राजामहाराजा (पृथ्वीनारायण शाह)ले दिएको होइन भन्ने तर्क छ । बरु यसलाई खण्डित होइन एकीकृत भएर लाग्नुपर्छ, अर्को पक्षको भनाई राई जाती हुदै होइन यो त कुनै समयमा पदको रूपमा राजामहाराजाले किरातिलाई दिएका थिए भन्ने तर्क छ । यहाँ यी दुवै समुह आफुलाई पहिचानवादी, राज्यबाट उपेक्षित गरेको भन्ने कुरामा दुबिधा छैन तापनि एकता छैन । तर मलाई कता-कता आफुलाई पहिचानवादी कुरा गर्दागर्दै आफ्नो पहिचानलाई एकताको नाममा दबाएर राख्ने वा दोस्रो दर्जाको रूपमा नहेरेको पक्कै होइन । माथी नै प्रष्ट गरेको छु पहिचान र प्रतिनिधित्व एउटै होइन भनेर तर पनि एउटा टोकरीमा राखेर हेर्ने गरिएकोछ । सूचीकरण हुँदा राई फुट्ने मात्रै होइन राउटेको संज्ञामा तुलना गरेको देखिन्छ । किन राउतेसङ तुलना गरिएको हो त भने राउटेको संख्या कम भएर नै राज्यमा कतै प्रतिनिधित्व गर्न सकेको छैन भनेर । तर यहाँ पहिचान र प्रतिनिधित्व जोडेर हेर्न मिल्दैन । सङ्ख्याको आधारमा हेर्ने हो भने ११औं जनगणनालाई नै हेरौ जम्मा २६,४९४,५०४ जनसंख्या भएकोमा कामीको जनसंख्या ४.७५% थियो भने राईको २.३४% अब यहाँ के राई भन्दा कामीको राज्यमा प्रतिनिधित्व बढी नै थियो त? पक्कै थिएन यतिमात्र होइन तामाङ र राई जातिमा पनि हेरौ तामाङको जनसंख्या २०६८ को जनगणनामा ५.८१% थिए राईजाती भन्दा दुइगुणा भन्दा पनि बढी थियो अब तामाङ जातिको राईभन्दा बढी प्रतिनिधित्व थियो त ? थिएन यसबाट हामीले के प्रष्ट जानकारी हुनुपर्छ भने सङ्ख्याको आधारमा प्रतिनिधित्व र अधिकार पाउने होइन । अब अर्को कुरा एकता, विविधता भित्र एकता निश्चित हुन्छ त ?हुदैन भन्ने कुरा यहाँ गर्न मन लागेको छ । राई जाती भन्ने समूहले खालिङ, थुलुङ, बाहिङ, जेरो,लोहोरुङ, याम्फु, कुलुङ आदि २८ भाषिक समूह भनेर हेरिन्छ ।राई समुहले के सबैलाई सम्मान रूपमा हैसियत भनौ या अस्तित्व राखिदिएको छ त ? छैन मेरो आफ्नो कुरा नै भनौ किरात जेरो रादु समाज २०६५ सालमा संगठित भएर जेरो जातीले आफ्नो समुदायको भाषा, धर्म, रितिरिवाजलाई विभिन्न क्रियाकलाप गरेर संरक्षण गर्दै आएको छौ । जेरोहरु संस्थागत रूपमा संगठित भएको लगभग १३ बर्ष पार गर्दै गर्दा राईको छाता संगठन आफुलाई भन्ने संस्था किरात राई यायोक्खाले कतिपटक जेरोलाई पत्राचार गरेर आफ्नो कार्यक्रममा सहभागिता गरायो ? फेरि म आफै जेरोको अध्यक्ष भएको नाताले पनि पत्राचार गरेको थाहा नपाउने कुरा नै रहेन । त्यतिमात्र होइन कुनै कार्यक्रममा स्वविवेकले सहभागिता वा उपस्थिति हुँदा पनि बरु संख्याको हिसाबमा बढी हुनेको जातिको जिल्ला सदस्यलाई कार्यक्रममा सहभागिता आसान ग्रहण गराईन्छ तर हामीलाई जेरोको अध्यक्ष चिनिन्दैन या हुँदैन यसको मतलब सङ्ख्या कम भएको कारणले नै हो त ? सम्मान भनौ या विभेद । राज्यले विभेद गर्नु पर्दैन आफ्नोले नै गर्छ भने । यसो भन्दै गर्दा कुर्सीको आवश्यकले राई फुटाउन खोजेको भन्ने आरोप लाग्न सक्छ तर बिल्कुलै होइन हामीले आधार र प्रमाणको आधारमा बोल्दैछौ । एउटा उदाहरण पेश गर्न चाहान्छु जुन ठाउँमा आफ्नो अस्तित्व स्वीकार हुँदै त्यहाँ म होइन कोहि बस्दैन या सक्दैन्न पनि तपाई हामी मानव हौ चेतनशिल प्राणी हौ ।

राउटेको उदाहरण दिदै गर्दा पनि राउटेको हैसियत हुन तयार छौ भन्नुको अर्थ राउटे भनेपछि केही भन्नू पर्दैन कारण राउटेको पहिचान तराई, पहाड, हिमाल देशबिदेशमा सबैलाई जानकार छ, त्यसैले राउटे जतिकै मेरो पहिचान सबैमा जानकार राख्न रखाउन मन छ । हामी राउटे भन्दा सयौ गुणा शिक्षित, रुपान्तरित, सचेत छौ भन्ने वान्तावा, कुलुङ, थुलुङ, खालिङ, बाहिङ, जेरो, वाम्बुले, चाम्लिङ, याम्फु, लोहोरुङ आदि २८ जातिको पहिचान कसैलाई थाहा छ थाहा होला किराती भित्र, त्यो पनि सिमित घेरामा । जेरो भन्दा त अझै जेरो पनि हुन्छ त ? भन्ने प्रश्न हाम्रो समुदाय र हामी बीचमा नै छ । अब जेरोको पहिचान जेरोले मात्रै थाहा भएर भएन जेरो मात्रैले संरक्षण गर्ने दायित्व होइन राज्यको पनि हुनुपर्छ भन्ने हो । राई जसरी विश्वमा चिनिएको छ त्यसै गरि जेरो जाती पनि नेपालको आदिवासी भुमिपुत्र भनेर चिनिनुपर्छ । जेरो जातिको बसोबास, धर्म, भाषा, संस्कार संस्कृती, आर्थिक सामाजिक, शिक्षा रोजगार यावत तथ्यांकहरु प्रष्ट हुनुपर्यो त्यो तहको पहिचान हुनलाई सूचीकरण अत्यन्त आवश्यक छ । यसरी नै चाम्लिङको चाम्लिङले मात्रै बान्तावाको वान्तावाले मात्रै होइन आफु र राज्य दुबै गम्भीर हुनुपर्छ ।

अब (राई फुटाउको) आरोप वा चिन्ता यहाँहरुलाई भन्दा हामी अल्पसंख्यकलाई बढी छ । सूचीकरणले फुट होइन झन एकताको दह्रो र मजबुत हुनेछ । हामी राई हुँदा एकता हुन सक्नेले किराती हुँदा नसक्ने भन्ने प्रश्नै छैन । किराति भनेपछि बृहत जातिको महाजाती किरातिलाई एकताको सुत्रको रूपमा लिन सकिन्छ ।

हामीले एकअर्का बीचमा आरोपप्रत्यारोप गर्नु समाधान होइन । अब कसैले चेतनालाई निषेध गर्न सकिने स्थिति पनि छैन २०५८ र २०६८ को जनगणनाबाट नै प्रष्ट भएको छ । जनसंख्या बद्ढा राईको सङ्ख्या क्रमगत रूपमा घटेको छ । अब यसलाई रोक्ने तागत कसैमा पनि देखिन्न रोक्ने प्रायस भए आफू-आफू बीचमा द्वन्द्व पैदा हुने स्थितिले हामी अहिलेको अवस्था भन्दा कम्जोर हुने निश्चित हुँदा हामीले पहिचानको नेतृत्व गर्दागर्दै विकल्पको खोजी गर्ने कि? यदि विकल्प दिन नसक्ने हुँदा आ-आफ्नो दिशामा बग्न दिनुपर्छ । एउटा बिन्दुमा पुगेर एकता निश्चित छ । पहिचान र हामी मजबुत हुन संख्या मात्रै हेर्नू हुँदैन । संख्या त राजनीति गर्नेलाई चुनावमा प्रयोग गर्ने हतियार मात्रै हो । जय किरात जय सुम्निमा पारुहाङ

(लेखक, किरात जेरो रादु समाजको अध्यक्ष हुनु हुन्छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "के किराती जातिहरु सूचीकरण हुन आवश्यक छ ?" A few seconds ago

सम्बन्धित खवर