एएफसी कप : आर्मी प्रारम्भिक चरणबाटै बाहिरियो – Satabdi News

एएफसी कप : आर्मी प्रारम्भिक चरणबाटै बाहिरियो

वि.सं २०७८ बैशाख २ बिहीबार। त्रिभुवन आर्मी फुटबल क्लब एसियाली फुटबल महासंघ (एएफसी)कपको प्रारम्भिक चरणबाटै बाहिरिएको छ । बुधबार भारतको गोवामा भएको खेलमा भारतीय टोली बैंगलुरु एएफसीसँग ५–० गोलअन्तरले पराजित हुँदै आर्मी प्रतियोगिताबाट बाहिरिएको हो ।

यससँगै यो वर्षका लागि एएफसीको प्रतियोगितामा नेपाली टोलीको यात्रा समाप्त भएको छ । एएफसीकप एएफसीले आफ्ना सदस्य राष्ट्रहरूका लागि आयोजना गर्ने दोस्रो डिभिजनको प्रतियोगिता हो । आर्मी एएफसीको क्लब लाइसेन्सिङ नीति पूरा गरी प्रतियोगितामा सहभागी हुने पहिलो नेपाली टोलीसमेत हो ।

त्यसअन्तर्गत आर्मीले गत बुधबार दशरथ रंगशालामा भएको प्रारम्भिक चरणको पहिलो खेलमा श्रीलंका पुलिस स्पोर्टस् क्लबलाई ५–१ गोलअन्तरले पराजित गरेको थियो । त्यसपछि प्रारम्भिक चरणको दोस्रो खेल खेल्न गोवा पुगेको आर्मीले बैंगलुरुसँग पनि पाँचै गोल व्यहोरेको छ ।

आर्मीले बैंगलुरुविरुद्ध पाँचै गोल दोस्रो हाफमा व्यहोरेको हो । पहिलो हाफ सुरुवातबाटै रक्षात्मक खेलेको आर्मीले दोस्रो हाफमा भने केही आक्रामक खेल खेल्ने प्रयास गरेको थियो । आक्रमणका लागि आफ्ना खेलाडी अगाडि बढेको अवस्थामा आर्मीले नियमित गोल व्यहोर्‍यो ।

आर्मीले खेलको ५१औँ मिनेटमा पहिलो गोल व्यहोरेको थियो । क्लिइटोन सिल्भाले प्रहार गरेको कर्नरमार्फत आएको बललाई गोलमा परिणत गर्दै राहुल भेकेले बैंगलुरुलाई १–० ले अघि बढाएका थिए । त्यसको एक मिनेटपछि नै आर्मीले अर्काे गोल व्यहोर्‍यो ।

एउटा उत्कृष्ट ‘मुभ’मा बैंगलुरुका कप्तान सुनील क्षेत्रीले टोलीको अग्रता २–० मा पुर्‍याए । त्यसपछि खेलको ६१औँ मिनेटमा सुनीलकै पासमा ब्राजिलियन खेलाडी क्लिइटोनले बैंगलुरुको तेस्रो गोल गरे । त्यसपछि खेलको ६५औँ मिनेटपछि क्लिइटोन र भेकेले एक मिनेटभित्रै एक–एक गोल गरेपछि आर्मीको पराजय ५–० ले निश्चित भएको थियो । आर्मीलाई पराजित गरेको बैंगलुरु प्रतियोगिताको प्ले अफ चरणमा प्रवेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "एएफसी कप : आर्मी प्रारम्भिक चरणबाटै बाहिरियो" A few seconds ago

सम्बन्धित खवर