महाधिवेशन बाघ हो?किन यति धेरै डर? – Satabdi News

महाधिवेशन बाघ हो?किन यति धेरै डर?

 तारा पराजुली

 

प्रिय क्याप्टेनहरु!

यतिबेला तपाईंहरुलाई `प्रिय`शब्दले सम्मान स्वरुप सम्बोधन गरिरहँदा मनमा भने अनेक आशङ्काको ज्वारभाटा उठिरहेछ।र त मनमनै कामना गरिरहेकी छु।प्रिय मान्छेहरुबाट कुनै अप्रिय निर्णय नहोस् भनेर।तपाईंहरुको विवेक र लचकताभन्दा शक्तिशाली मेरो मनोकामना नहुन सक्छ तसर्थ झरि पर्नुअघि छानों टाल्न अबेर नगर्नु बुद्धिमानी हुनेछ भनेर सम्झाइरहनु आवश्यक नहोला।

डेढ बर्षअघिदेखि तपाईंहरु निरन्तर आकाशे यात्रामा हुनुहुन्छ।अनि सँगसगै हामी पनि। यो जहाजमा तपाईंहरुमात्र सवार हुनुहुन्न।यति धेरै यात्रुहरु बोकेको जहाज ससाना मनमुटावका कारण सहजै नहल्लाईदिनुहोस्।केहि भएर जहाज तलमाथि भयो भने हतारमा हाम्फालेर न त तपाईंहरु बाँच्नुहुनेछ न त हामी।न तपाईंको विचार बाँच्नेछ न हाम्रो।विचारै नबाँचे कसरी बाँच्ला देश???अलिकति धैर्य अलिकति संयम बटुलेर विवेकको प्रयोग गरौँ।यसमै छ सबैको भविष्य। हामीले विश्वका थुप्रै मुलुकहरुको राजनैनिक यात्रा अध्ययन गरेका छौँ।सोभियत संघ र पूर्वी युरोपका पोल्यान्ड, बुल्गारिया, चेकोस्लोभाकिया, रोमानिया, युगोस्लाभिया र हंगेरी जस्ता देशहरूमा समाजवादी व्यवस्थाको राम्रो अभ्यास हुँदैगर्दा आफ्नो र आफूभित्रकै अर्थात् केही आन्तरिक केहि बाह्य कारणले समाजवाद धेरै समय टिक्न सकेन।उपभोक्ताहरुकै कारण समाजवादउन्मुख हाम्रो गणतन्त्रको भरभराउँदो साख नगिरोस्।यो समय निर्माणको समय हो।काम गर्ने ठाउँमा पुगेकाहरुलाई सहयोग गरौँ।सहयोग गर्नेहरुलाई उत्प्रेरित गरौँ।सत्ता होस या सत्ता साझेदार या त प्रतिपक्ष हरेकका नेतृत्वमा पुग्ने आआफ्नै स्पष्ट समयसीमा र मापदण्डहरु छन्।समन्वयको माध्यमबाट आम पर्खाईहरु सुन्दर बनाउन सक्नु पनि कुशल नेतृत्वको गुण हो।गुण नत्यागौँ चरित्र आफैँ बन्छ।

यसबेला कुनै एक दुई शीर्ष नेतृत्वका कारण सिङ्गो मुलुकले अर्को अस्थिरता भोग्ने परिस्थिति आयो भने दुई तिहाई जनमतले तपाईहरुलाई धिक्कार्नेछ धिक्कारिरहनेछ।निश्चित छ,अहिलेको जस्तो विषम परिस्थितिमा पनि दोहोरो चरित्रले पद र प्रतिस्ठा आर्जन गर्न खोज्नु कति नाजायज छ।यदि तपाईंहरुको कारण एकताको यात्रा रोकियो भने दुइतिहाइ जनमतमाथि यो भन्दा ठूलो अपराध अरु हुन सक्दैन।त्यसको क्षतिपूर्ति दिलाउन सक्नुहुन्छ?

कार्यकर्ता शुभचिन्तकप्रति भयानक अन्याय र प्रतिघात हुन जान्छ।त्यो गुमेको विश्वास फर्काउन सामर्थ्य र तागत तपाईंहरुमा छ?अहिले तपाईहरुको चरित्रको बयान स्वयं चित्रले गरिरहेको छ।

प्रिय क्याप्टेनहरु!

यात्रामा अघिपछि हुनु अन्यथा होइन होला।मुलुकमा परिवर्तनले निसङ्कोच आनन्दको लामो स्वास फेर्दै गरेको दृश्य जनताले असाध्यै मन पराइरहेका छन्।यो तपाईंहरुलाई किन मन नपरेको?थुप्रैथुप्रै सम्भावनाका रङ्गीन पालुवाहरु जोगाउन सके सुन्दरता ग्रहण गर्ने त तपाईं हामी नै होइनौं र?अहिले कसैलाई सिध्याउने बाहनामा तपाईंहरुले जुन स्वकल्पित आरोपको फेहरिस्त ल्याउन सुरु गर्नु भो नि,यो नै ठूलो भूल थियो।तपाईंसँग मुटु छ भने एकफेर ढुकढुकी छामेर उत्तर दिन सक्नुहुन्छ?कुनै पनि देशको राजनीति आफ्नै घरपरिवार आफ्नै सहयात्री सहकर्मी कसैलाई सिध्याउने अस्त्र हो?राजनीति आफ्नै सुन्दर घर भत्काउने हम्बर हो?यस्तो स्कूलिङबाट ८ लाखभन्दा ठूलो सङ्ख्यामा रहेका कार्यकर्ताले के सिक्ने?अझै समय छ। इमान्दारपुर्वक जनमतको सम्मान र कदर गरौँ।

सवालपश्चात् जवाफ् प्राकृतिक सिद्धान्त हो तपाईंहरुले आपसमा मनोवादी र एकात्मक गनथनलाई आरोपको रुपमा दोषारोपण गरिरहँदा जनताले अघि नै विगत पल्टाइसके भन्ने किन हेक्का नराखेको? तपाईंहरु मध्ये कसैले ३० वर्षसम्म एकलौटी पार्टी चलाउनु भो,कसैले १२/१५ बर्ष।आफूले नेतृत्व दिंदा पार्टीको साइज कत्रो बनाउनु भो?सम्झनु पर्दैन?तपाईंहरुको एकलौटी र हेपाह प्रवृत्तिका कारण भत्किंदो विचार पुनर्निर्माण गर्न सक्नुहुन्छ?

पूर्व एमालेकै कुरा गर्ने हो भने २०६४ सालको निर्वाचनमा ३३ सिटमा खुम्चिएको एमाले पार्टीलाई २०७४ को निर्वाचनमा एकैपटक माथि उठाएर ८० सिटको सम्मानित मतसहित देशको सबैभन्दा ठूलो पार्टी एमाले भनेर आम नागरिकले गर्व र स्वागत गर्न योग्य पार्टी बनाउनुमा वर्तमान प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष क.केपी शर्मा वलीको कार्यक्षमता र सांगठनिक क्षमता नाप्न कुनै यन्त्र चाहिन्नं।पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा वली १४ वर्ष जेल,संघर्ष,त्याग र बलिदानबाट आई रास्ट्रवादी नेताको बलियो छवि बनाईसकेका नेताको रुपमा थप परिचय आवश्यक पर्दैन। पुष्प कमल दहालले परिवर्तनकै लागि भनेर १० वर्षे युद्धको नेतृत्व गर्नु भो।तपाईंहरुको कार्यकुशलताको परिणाम हेर्न इतिहासलाई सोध्नु पर्दैन।जनता हातमा मार्कसिटको अङ्कभार सहित सक्कल कपि बोकेर बसेका छन् ।

हिजो कम्युनिस्ट राजनीतिमात्र परिवर्तनको आधार हो भन्ने नागरिकहरु आज शीर्ष नेतृत्वको कार्यशैलीले अवाक छ्न छन्।पार्टी एकतापछि झनै जनताको आशा अपेक्षा बढेको छ।अहिले किन निरास बनाइंदैछ?त्यो क्षतिपूर्ति कुनैदिन भर्न सक्नुहुन्छ? जनताको बलिदान र संघर्षको बलमा उभिएको लोकतान्त्रिक पद्धतिमाथि ढुङ्गा मुढा गर्दै गर्दा पुराना स्मृतिहरुले पश्चाताप माग्दैनन्?कमसेकम महाधिवेशनबाट निर्वाचित अर्थात कडा प्रतिष्पर्धामार्फत् अध्यक्ष पदमा निर्वाचित भएर काम गरिरहेको व्यक्तिमाथि निरन्तर धराप थाप्नु कति सान्दर्भिक छ।फेरि महाधिवेशनको मिति तोकिसकिएको अवस्थामा अहिलेदेखि नै तयारीमा जुटे पद मागिहिडंने झमेला त हुन्थेन। महाधिवेशन बाघ हो?किन यत्रो डर? एकफेर कार्यकर्ता भएर महशुस गर्नुहोस्।एकफेर सर्वसाधारण नागरिक भएर बांच्नुहोस्।राम्रा कामको गर्व गर्ने मुटु तपाईंहरुसँग किन नभएको? वली सरकारले पार्टीगत समन्वयमै संविधान निर्माणमा राम्रो अगुवाइ गर्यो, सरकार गठन र नाकाबन्दीको दर्बिलो विरोध गर्यो, विकास र समृद्धिले फड्को मारेको छ,जातीय–क्षेत्रीय अतिवादको प्रतिवाद र राष्ट्रिय एकता मजवुद बनाउन पहल गर्यो।फेरि किन सरकारकै विरोध?

भारतीय विस्तारवादका विरुद्धमा चट्टानी अडान लिनु प्रधानमन्त्रीको दोष थियो?निडर भई नेपाली भूमि लिपुलेख,लिम्पीयाधुरा,कालापानीलाई समेटेर नयाँ नक्सा बनाउने र विश्व मानचित्रमा नेपालको पहिचानलाई सशक्त रुपमा प्रस्तुत गर्ने काम किन एउटा समूहलाई मन नपरेको? राम्रो कामलाई राम्रो भन्न सक्ने मुटु नभएसम्म देश अस्थिरताको एम्बुसभित्र अल्झिइरहने छ।तसर्थ उदार सहकार्य र समन्वयात्मक राजनैतिक संस्कारको सुरुवात गर्न अवेर गर्नुहुन्न।

-लेखक पराजुली बेलबारी नगरपालिकाकी उपमेयर हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "महाधिवेशन बाघ हो?किन यति धेरै डर?" A few seconds ago

सम्बन्धित खवर