तारा पराजुली
प्राचीन राजनीतिक सिद्धान्तको इतिहासले समूहगत जीवन र संगठनलाई सचेतता पूर्वक बुझ्दै समाधानको प्रयासलाई जोड दिन्छ । यो एक बौद्धिक र प्राज्ञिक परम्परा भएकै कारण समय विशेषको अन्तरालसँगै मानिसको राजनीतिक समस्यासँगै विचारधाराको पनि विकास हुन्छ । यसको एउटै उद्देश्य राज्य र सामुहिक जीवनलाई व्यवस्थित,सभ्य समुन्नत र समृद्ध बनाउनु हो । समृद्धिका लागि मुलुकले थुप्रै अभ्यास र प्रयास पश्चात् लोकतन्त्र, गणतन्त्र र संघीयताको उदयसँगै जनताको पक्षमा संविधान समेत निर्माण भयो । मुलुकले समृद्धिका लागि दिगो सरकारको आवश्यकता र अपेक्षा गर्यो । यही मानकबाट निर्दिष्ट भई संविधान निर्माण पश्चात् देशकै ठूलो दलको नेतृत्वमा नेकपाको सरकार क्रियाशील छ । सरकारको नेतृत्व गर्दैगरेको दलबाट अन्य दलले धेरै राजनैनिक संस्कारहरु अनुसरण गरिरहेका हुन्छन् । यस अर्थमा पनि प्रमुख दलका आम क्रियाकलाप जीवनपद्धति सकारात्मक हुनुपर्छ ।
पछिल्लो समय मुलुकको राजनीति चक्र केही शीर्षस्थ नेताहरुको वरिपरि घुमिरहेको छ । अहिले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिनुपर्छ भन्ने माग प्रमुख विवादको विषय बनेको छ । अचम्मैको कुरा त के छ भने विगतमा प्रमुख प्रतिपक्षी दलहरुले सत्त्तापक्षलाई गर्ने कटाक्ष भन्दा घोर कटाक्ष अहिले आफ्नै समकक्षीबाट र आफ्नै दलबाट भईरहेको छ । नेपालकै इतिहासमा यस प्रकारको घटना र सन्दर्भ पहिलो र अनौठो लागिरहेको कुरा यततत्र सुनिन थालेको छ । प्रधानमन्त्रीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पद छाड्नुपर्छ भनेर बैठक र मिनी बैठकहरुमा चर्काचर्की सुनिन थालेको छ । यसका लागि तत्काल स्थायी कमिटीको बैठक आयोजना गर्नुपर्छ, पार्टी केन्द्रीय कमिटीको यथाशीघ्र बैठक हुनुपर्छ भनी स्थायी कमिटीका सदस्य, केन्द्रीय कमिटीका सदस्यले हस्ताक्षरसहित पार्टीमा बुझाउने काम पनि भएको छ । पार्टी कार्यलयहरु छाडेर थुप्रैपटक कोठे बैठक र भेलाहरु गरिए । अति गोप्य भनेर राखिएका बैठकका ऎजेण्डा र निष्कर्षहरु सडकमा छताछुल्ल भएर सतहसम्म पोखिए । कतिपय गोपनीयताहरु उदाङ्गो भए । यसले औँलामा गन्न सक्ने केही व्यक्तिहरुको क्षणभरको आवेगको आगो निभाउने काम त गर्योहोला यसबाहेक आमरुपमा सरकार र सरकारमा आबद्द पार्टीको आलोचना र टिप्पणीको उर्वर ब्याड तयार गर्ने काम मात्र भयो ।
देश संकट्मा परेको बेला फरक बिचार राख्नेहरु समेत एक ठाँउ र एकजुट भई लड्नुपर्ने समय आफैँभित्र फुट्का छाया र छिट्टाहरु देखिनुले सिङ्गो कार्यकर्ता पङ्तिको आत्मबल घटाइरहेको छ । यसबेला शीर्षस्थ नेतृत्वले बुझ्नुपर्ने हो । हिजो दुई छुट्टाछुट्टै कम्युनिस्ट पार्टीहरुले इतिहासको विषम खण्डमा पुर्याएको देन र परिवर्तनका लागि भनेर गरिएका आन्दोलनहरुको उच्च सम्मान मुल्यांकन गर्दै एकजुट र एकमत भएर परिवर्तनका निम्ति अघि बढ्नुको विकल्प छैन । आम नेपाली जनता र शुभचिन्तकहरुले नेकपा र नेकपाको सरकारलाई जुन आकार र उचाईमा जसरी आँकलन गरेका थिए, एकतापछि देशले समृद्धिको यात्रा तय गर्नेछ, शान्ति ,स्थिरता र दिगो विकासका निम्ति पहल सुरु हुनेछन्, नेपाली जनताको जीवनयापनमा थप परिवर्तन सुधार आउने छ,दुई कम्युनिस्टहरु मिलेर बनेको स्थायी सरकार लोकतन्त्रको साख जोगाउन सफल सावित हुनेछ र नेता कार्यकर्ताहरु समृद्धिका इमानदार साधक हुनेछन् भन्ने बुझाई यसबेला भ्रम सावित हुनुहुन्न।आम सुभेच्छुकहरुको आत्मामा कदापि चोट लाग्नुहुन्न । विश्वासको फ्रेम अलिकति पनि नचर्कियोस् भनेर चौतर्फी खवरदारी भइरहेको छ ।
अहिले विवादको रुपमा देखिएको या ल्याइएको जुन विषय छ, यो बैचारिक सिद्धान्तको जगमा सुरु भएको विवाद र बेमेल होइन् । नितान्त पद र अवसरका लागि भइरहेको विवाद हो । पदकै लागि ईमान र प्रतिष्ठा नामेट बनाउने भने पार्टी र सरकारका तहगत लगायत सिंगो संरचना भत्किन पुग्छन् । क्षमता र कौशलकै कुरा गर्ने हो भने प्रधानमन्त्री पद मात्र होइन पार्टीभित्र ठूल्ठूला संयन्त्र हाँक्न सक्ने क्षमता र अनुभवले खारिएका नेता कार्यकर्ता र शुभेच्छुकहरुको ठूलो संख्या निर्वाचित जनप्रतिनिधि र नवगठित पार्टीका कमिटीहरुभन्दा बाहिर छ । तिनको व्यवस्थापन बारे पनि सोचिनु पर्छ । यो विषम परिस्थितिमा सरकार परिवर्तनका असम्भव विषय प्रवेशले विकास र समृद्धिको गतिलाई कमजोर बनाइनु हुन्न ।प्रधानमन्त्री, रास्ट्रपति लगायतका प्रमुख नेतृत्व भागबन्डाको बखेडाले सिङ्गो संरचनामाथिको प्रहार यो मौसम प्रतिकूल प्रहार हुनेछ । यतातिर बेलैमा ध्यान दिन जरुरी छ । रहर र पद्धति फरक कुरा हुन् । पद्का लागि पद्धति विरुद्ध प्रहार गर्नुले संगठनको भविष्य कतातिर जाला सोच्न जरुरी छ ।
देशको शक्तिशाली पार्टी, देशको ठूलो पार्टी,जनताले विश्वास गरेको दल कतै अफ्ट्यारोमा पर्छ कि दुर्घटना हुन्छ कि,यसबेला सर्वत्र चिन्ताको विषय बनेको छ । आम जनताको अविछिन्न मायाले बाँचेको पार्टी, सम्भावना बोकेका बौद्धिक क्षमतावान नेता कार्यकर्ता शुभचिन्तक शुभेच्छुकहरुको प्रेम र सम्मानले जीवन्त पार्टी भएको नाताले पार्टी काम गर्ने अवसर र क्षमता अनुसारको पदको अपेक्षा राख्नु गलत होइन । क्षमतावान संगठकहरुद्वारा निर्माण भएको यस संगठनमा योगदान पुर्याउनेहरुले अवसर पाउनुपर्ने माग अस्वभाविक पनि होइन । तर कुशल नेता कार्यकर्तामा धैर्य र सहनशीलता महत्त्वपूर्ण गुण हुन् भन्ने कुरा भुल्नु नहुने तथ्य हुन् ।
आत्मकेन्द्रित सिद्धान्तको राजमार्गमा अवसरको रेल गुडाउँदै गर्दा एकफेर सोच्नुपर्ने हो कि, हामी उच्चस्तरको राजनैतिक संस्कारको विकास पनि गर्दैछौँ भनेर । पार्टीमा यति लामो त्याग संघर्ष गरेर यहाँसम्म आइपुग्दा एकफेर त सोच्नुपर्ने हो,छानोँ नै नरहे कसरी घाम छेकिएला ? धुरी नै चुहिए कसरी शीर ओतिएला ? बितेका दिन हाम्रा लागि सफा ऎना हुन् । यही सुकिलो ऐनामा आफ्नो अनुहार मात्र होइन पुरै शरीर हेरौँ।हिजो जनताको आँगन टेकेर दुई हात जोडी पटकपटक गरेका बाचाहरु सम्झनुपर्दैन ? जनताले प्रदान गरेको जनमत नमस्कारको सट्टा चढाएको भेटी अवश्य होइन । यो मत विश्वासको मत हो,भरोसाको मत हो, समृद्धिका लागि सुम्पिएको पुर्जा हो।परिवर्तन र समृद्धि ल्याउनका निम्ति सिङ्गो कार्यकाल आफ्नो उच्च विवेक, इमान्दारिता,चातुर्यताले मुलुक झलमल्ल बनाउन भनेर सुम्पिएको विश्वासको पूर्जा बाचा पूरा नगरी च्यात्न मिल्छ ?
प्रधानमन्त्रीले गरेका युगान्तकारी कामहरु देशकै गौरव हुन् । पार्टीले गरेका काम संगठनकै गरिमा हुन्,सम्पत्ति हुन् । छोटो समयमै प्रधानमन्त्रीको नेतृत्वमा गठन भएका तीन तहका सरकारले गरेका थुप्रै जनमुखी कामहरुको सम्मान गर्दै सरकारलाई थप प्रगतिशील र सिर्जनशील बनाउन सहयोग गरौँ । ती पार्टी जीवनकै थप गुडवील हुनेछन् । पछिल्लो समय सिमानामा राखिएको बिओपीले प्रधानमन्त्रीको मात्र होइन सिङ्गो देशको बहादुरीको प्रमाणपत्र प्रस्तुत गरिरहेको छ ।
भारतद्वारा अतिक्रमित भुमि हाम्रो हो भनेर यो सरकारले प्रष्ट नक्सा नै सार्वजनिक गर्ने काम गरेको छ । यश कार्यले देशको अनि पार्टीको उचाईलाई माथि उठाएको छ । चिनियाँ रास्ट्रपतिको नेपाल भ्रमण, पुननिर्माणमा फड्को, पेट्रोलियम पाइपलाइनको सुरुवात,रेलमार्ग, सामाजिक सुरक्षा कार्यक्रम, पृथकतावादी राजनीति निस्तेज, छिमेकीसँग सन्तुलनको प्रयास; भूमी रक्षाका लागि बुलन्द आवाज, आदि साहसी कार्यहरु प्रसंशायोग्य कार्यहरु हुन् ।
अत: यसबेला आन्तरिक कलह भुलेर एकताबद्ध भई महामारीका विरुद्ध लड्नु बुद्धिमानी हुन्छ । बितेको चार महिना यता विश्व जगतले निक्कै ठूलो संकटको मार धान्नु परेको छ ।अप्रत्याशित एकाएक विश्वभर प्रवेश गरेको संकटको रुप झनै रौद्र र कहाली लाग्दो बनिरहेको छ । कहिल्यै कल्पनासम्म नगरेको यस महामारीका कारण शक्ति राष्ट्रदेखि ससाना र सामान्य आर्थिक अवस्था भएका मुलुकहरु समेत कोरोनाका कारण त्रसित र आतंकित बनेका छन् । नेपालमा पनि भिन्न स्वरुपमा प्रवेश गरेको यस संकटलाई विपतका पूर्वतयारीहरु अपनाईरहँदा पनि फरक स्वरुपकै कारण प्रभाव पर्गेल्न अफ्ट्यारो परिरहेको छ ।
देश महामारीको रापमा सेकिइरहेको छ । हरेक दिन डुबान, कटान र बाढीपहिरोबाट धनजनको क्षति भइरहेका समाचारहरु सम्प्रेषण भइरहेका छन् । लकडाउनका कारण दैनिक रोजीरोटी खोसिएका नागरिकहरुको हातमुख जोर्ने समस्या झन्झन् जटिल हुँदैछ । तिनको समाधान खोज्ने बेला हो । नागरिकहरु जीवन मरणको लडाइँ लड्दै गरेको यो समय पार्टी शीर्ष नेतृत्व भने आन्तरिक राजनैतिक द्वन्दमा अल्झिर्हँदा कतै महामारी हुर्कने त होइन ? सोच्न जरुरी छ । यसबेला त्रासले खेदीइरहेका नागरिकलाई कुशल अभिभावकत्वको खाँचो छ । कोरोना भयका कारण ठूलो संख्यामा विदेशबाट युवाहरु फर्किएका छन् । उनीहरुको सीप,क्षमताको सदुपयोग गर्न उघोगहरु चाहिएको छ । आयतित बस्तुहरु उपयोग गरिरहेको मुलुकलाई उपभोगमा आत्मनिर्भर बनाउन बहुउद्देश्यीय रोजगारकेन्द्रहरु स्थापना गरि रोजगारीका अवसरहरु श्रृजना गर्नु अहिलेको आवश्यकता हो । समग्रमा यो समय बाँच्ने बचाउने समय भएकोले बाचौँ बचाऔँ । यसैमा सबैको भलाइ छ ।
(लेखक पराजुली बेलबारी नगरपालिकाकी उपमेयर हुन् )



