उल्टो यात्रा कहिलेसम्म ? – Satabdi News

उल्टो यात्रा कहिलेसम्म ?

आदरणीय कमरेडहरु! तपाईंहरु मिल्नुस् । मात्र मिलिदिनुहोस् । काम गर्ने त हामी छँदै छौ नि । दैनिक १५/१६ घन्टा जनताको काममा नियमित खटिंइरहँदासमेत नथाकेका हामी तपाईंहरुको आत्मकेन्द्रित र मनोवादी व्यवहारका कारण थाक्न थालेका छौँ । हामीले अझै गर्नैपर्ने कामहरुको फेहरिस्त निकै लामो र फराकिलो छ । धेरै पर नजाऔँ एक आर्थिक बर्षको अंकगणितले हामीलाई धेरै कुरा सोच्न पर्याप्त स्पेस दिईहाल्छ । तपाईंहरुले पनि भोग्नु भयो; असार सुरु भएदेखि नै बाढीपहिरोले बितण्ड्ता सुरु गर्यो । असोज महिनासम्म अन्य काम संगसँगै राहत वितरणमै बित्यो । मंसिरपछि चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बन्यो । कमजोर आर्थिक हैसियत भएका नागरिकहरुको लागि दशा बन्यो यो हिउँद । विकास निर्माणका कामसँगै नागरिकहरुको सहारा बन्दै शीतलहरसँग जुध्दैगर्दा कोरोनाजस्तो जटिल भाइरसले आतङ्कित बनायो । कोरोनाको कठोर प्रहार झेल्न हामीलाई हम्नेहम्मे परेको छ । यो समय हामी एक ढिक्का भएर सड्ढटसँग जुध्ने कि कलह हुर्काउने ? मैले बुझेको कुरा यति हो,यसबेला विश्व नै कसरी आफ्ना नागरिक बचाउने भन्ने निष्कर्षमा अडिएको छ । यसबेला जनताको आँगनको सरकार स्थानीय सरकारको प्रतिनिधिको नाताले हामी अत्यन्तै संवेदनशील भएर खटिरहेका छौ कतै विकास निर्माणका काममा त कतै संकट समाधानको लागि अग्रपंक्तिमा ।

हामी भने दैनिक जसो १५/१६घण्टा जनताको काममा तल्लीन भइरहेकै बेला तपाईंहरुको यस प्रकारको बेमौसमी मादलले कस्तो ताल दिइरहेको छ ? यो बेधुन र लयबिनाको बाँसुरी कहिलेसम्म सुनिरहने ? यो कलहले कस्तो संज्ञा देला ?साउने झरिले हाम्रा कच्ची बाटोहरु हिलाम्मे छन् । हामीले टालटुल गरेर हिंड्न सक्ने बनाएका छौँ । यो संवेदनशील समय तपाईंहरु सडकभरि पोखिएर झन धेरै हिलो र प्रदुषण बढाइरहनु भएको छ । कमरेडहरु! एउटै छानों ओडेर बसेको बेला हामीलाई पोल्ने आगोले तपाईंलाई चाहिँ शीतल दिन्छ र ? हामीलाई भिजाउने झरिले तपाईंलाई चाहिँओभानो राख्छ र ? अझै समय छ विवेकको प्रयोग गरौं ।

संसारमा प्रतिष्ठा भन्ने चिज परिवार,कुल बंशसँग जोडिएकै कारण परिवारको एक सदस्यले मात्रै गलत गरे सिंगो परिवारको शीर झुक्छ । अझ तपाईंहरु शीर्षस्थ व्यक्तिहरुका कारण लाखौँ कार्यकर्ता करोडौं शुभेच्छुक शुभचिन्तकहरुको पार्टीप्रतिको प्रेम रआत्मविश्वास नटुटोस् । फेरि पनि निवेदन छ;काम हामी गर्छौँ तपाईंहरु नकाम नगरिदिनुहोस् । देश रहे मात्र पार्टी रहन्छ । स्वाभिमान बाँचे पद योग्यकै कोटमा जाने हो।यो संकटको जटिल घडीमा सम्पूर्ण स्वार्थहरु भुलेर संकट समाधान र राष्ट्रिय स्वाभिमानको लागि जुट्ने समय पदीय दौडमा लाग्नुले उल्टो यात्राको सङ्केत गरिरहेको छ । मेरो प्रश्न फेरि पनि,हामीलाई घरीघरी दुखाउँने कुरुप घाउले तपाईंलाई भने कस्तो शान्तिको महशुस भएको छ? काम हामी गर्छौँ तपाईंहरु नकाम नगरिदिनुहोस् । देश नै सर्वोच्च र सर्वमान्य हो।देश रहे मात्र पार्टी रहन्छ । फेरि पनि अनुरोध,काम हामी गर्छौँ तपाईंहरु नकाम नगरिदिनुहोस् ।

तारा पराजुली, बेलबारी मोरङ
(लेखक बेलबारी नगरपालिकाकि उपमेयर हुन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "उल्टो यात्रा कहिलेसम्म ?" A few seconds ago

सम्बन्धित खवर