गोडाको हड्डी टुक्रिने समस्या भएका भोजपुरका पारुहाङ्ग राईद्धारा सहयोगको अपिल – Satabdi News

गोडाको हड्डी टुक्रिने समस्या भएका भोजपुरका पारुहाङ्ग राईद्धारा सहयोगको अपिल

असार १४, इटहरी । गोडाको हड्डी टुक्रिने समस्या भएका १४ वर्षीय पारुहाङ्ग साम्पाङ राईले सहयोगको अपिल गरेका छन् ।

भोजपुरको रामप्रसाद राई गाउँपालिका–१ खेना घर भएका पारुहाङ्गले तीन वर्ष देखि दाँया पट्टिको गोडाको हड्डी टुक्रेर झर्ने समस्या भएपछि आर्थिक सहयोगका लागि अपिल गरेका हुन् ।

हाल सुनसरीको इटहरी–५, पचरुखी स्थित पोखरी टोलमा सानीमाकोमा रहेर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचार गराइ रहेका पारुहाङ्गलाई ओस्टीयोमाइलिटिस् अर्थात हड्डी खिएर झर्ने रोगले विगत ३ वर्षदेखि सताई रहेको छ ।

बुबा प्रकाश राई र आमा मनिता राईको कोखबाट तेस्रो सन्तानको रुपमा जन्मिएका पारुहाङ्ग गाउँकै जुनेली आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययन गर्दै आएका थिए । ७ कक्षामा पढ्दै गर्दा रोगले सताएपछि पढ्नबाट समेत बञ्चित भएको पारुहाङ्गको गुनासो छ । उनले भने–“एक्कासी गोडामा घाउ आएपछि हिडडुल गर्न सकेको छैन । दैनिक सुतिरहँदा मेरुदण्डमा समेत प्रत्यक्ष असर परेको छ ।” आफू स्वास्थ्य भएर बाँच्न चाहेको तर पैसा नभएको र केही भएको पैसा पनि उपचारको क्रममा सकिएपछि अहिले उनले सबै सँग आर्थिक सहयोगको याचना गरिरहेका छन् ।

सानैमा आफ्नो बाबुले छाडेर हिडे पछि सानीमाको रेखदेखमा रहँदै आएका पारुहाङ्गको आमा हाल रोजगारीको क्रममा दुवईमा रहेका छन् । आमाको मासिक १५ हजार मात्र कमाइ रहेका र उक्त कमाई पनि लकडाउनको कारण बन्द भएकोले अहिले खानबस्नको अभावले समेत उनको पिडालाई झन् बल्झाईरहेको छ ।

हप्ताको एक पटक अस्पतालमा उपस्थित गराउनु पर्ने भएकाले आर्थिक अभाव हुँदा झन समस्या थप हुँदै गएको पारुहाङ्गकी सानीमा प्रविना राईले बताउनुभयो । उहाँले भन्नुभयो–“रोग कहिले निको हुन्छ भन्ने टुङ्गो छैन तर पछिल्लो समयमा केही सुधार देखिएपछि आसा जागेको छ । पाँच पटक सम्म अप्रेशन गराइसकेका छौं । पहिले अप्रेशन गर्दाकै ऋणको बोझ रहेको छ । फेरी पनि अप्रेशन गर्नलाई एक पटकको ६० हजार खर्च हुने भएकाले उक्त रकम जुटाउन नसक्दा सबैमा सहयोगको अपिल गरेका हौं ।”

गोडाबाट टुक्रिएका हड्डी सँगै १०० एमएल पिप चुहिने गर्छ । त्यसको लागि मेडिकलमा दैनिक ड्रेसिङ गर्न ६ सय रुपैयाँ लाग्छ । आफू सँग आयस्रोत केही नभएकाले थोरै खर्च समेत जुटाउन नसक्दा चिकित्सकको सल्लाह बमोजिम आफैले ड्रेसिङ गर्ने गरेको सानीमा राईले बताएका छन् ।

अप्रेशन गर्नको लागि धेरै खर्च भै सकेको र थप उपचारको लागि परिवारको आर्थिक अवस्थाले नभ्याउने स्थिति भएको हुँदा आर्थिक सहयोग गरी दिनुहुन देश विदेशमा रहनुहुने समस्त नेपाली दाजुभाइ, दिदिबहिनी तथा आफन्तजनहरुमा हार्दिक अपिल गरेका छन् ।

यसै क्रममा पारुहाङ्गको समस्याबारे भिडियो सार्वजनिक भएपछि किरात राई विद्यार्थी संघका केन्द्रीय अध्यक्ष रामचन्द्र राई उक्त समस्या बारे बुझ्न उनी बसेको ठाउँ पुगेका थिए । पारुहाङ्गको सबै समस्या बुझिसके पछि तत्कालको लागि सामान्य ड्रसिङको लागि भन्दै रु। पाँच हजार नगद सहयोग प्रदान गर्दै संघका अध्यक्ष राईले संस्थागत तथा व्यक्तिगत रुपमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै खुल्ला हृदयले पारुहाङ्गको जीवन रक्षाको लागि सबै सामाजिक तथा न्यायिक संघसंस्था, राजनैतिकदल, सम्बन्धित स्थानीय सरकार लगायत् सम्पूर्ण सहयोगी मनहरुलाई सहयोग गर्नुहुन अनुरोध गरे ।

सेवा र सहयोग नै सबै भन्दा ठूलो धर्म हो । तपाईले भित्री आत्मादेखी नै पीडित बालकलाई केहि राहत दिन चाहने मन भएमा आफ्नो तर्फ देखि सानो ठुलो सहयोग गर्न सक्नु हुन्छ ।

१४ वर्षीय बालक पारुहाङको थप उपचारको लागि आर्थिक संकलन अभियान स्वरुप सहयोग गर्न इच्छुक सहयोगी मनहरुले उपचारमा सहयोग पुर्याउन उनको सानीआमाको मोबाईल नम्बर ९८११०९१३५० र ९८४००५२९६९ मा सम्पर्क गरी अर्थात एन आई सि एसिया बैङ्कको खाता नम्बर २५४५७५०८५५६२७००१ मा सहयोगको लागि रकम जम्मा गर्न सक्नेछन् ।

सहयोग गरिसके पछि आफ्नो सहयोगको बारेमा एक पटक अवश्य जानकारी गराउनुहोला । सहयोगको रिपोर्ट राख्ने परिवारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "गोडाको हड्डी टुक्रिने समस्या भएका भोजपुरका पारु..." A few seconds ago

सम्बन्धित खवर