प्रधानमन्त्रीज्यू, आउनुस् टिकटक बनाम्! – Satabdi News

प्रधानमन्त्रीज्यू, आउनुस् टिकटक बनाम्!

सरगम भट्टराई
केही दिन अघि राष्ट्रिय सभामा बोल्दै हाम्रा कार्यकारी प्रधानमन्त्रीज्यूले जनतालाई बेसार पानी र आत्मबल सहितको “‘बेसार महात्म्य” प्रस्तुत गर्नुभयो । बेसारका फाईदा बेफाईदा बारे काईदाले ब्याख्या गर्दा सबै सांसदहरु गलल हाँसे तर सबैको मुखमा मास्क भएकोले त्यो हाँसो देख्न सकिएन। नदेखेर के भो ? हाँसेको सुनिएकै हो, जो जो हाँसे तिनीहरु स्वस्थ्य भए । प्रधानमन्त्रीज्यूको बेसार बिशेष संबोधनले उत्प्रेरित भएकोले यो लेख लेख्दैछु।

यसो त हाम्रा प्रधानमन्त्रीले बोलेका हरेक कुरा भाईरल नै हुन्छन्। उहाँको बोली नै यति आत्मबल बढाउने छ कि वहाँ नभएको भए यो लकडाउनको समयमा आधा मान्छे डिप्रेशनको शिकार बन्थे होला। मानसिक स्वास्थ्य ठिक ठाक राख्न हाम्रा प्रधानमन्त्रीज्यूको ठूलो देन छ, यस्तो कस्टमा पनि जनतालाई हँसाउने मेरो प्रधानमन्त्रीलाई कोटी कोटी नमस्कार छ ।

आफ्नो बिगतको जेलनेल देखि रेल महात्म्य सुनाउने बेला पनि जनताहरु हाँसेकै हुन् । चुच्चे रेलदेखि तेलसम्म, चन्द्र सूर्य झण्डाबाहक पानीजहाज, चुल्हा चुल्हामा ग्याँसदेखि बेसार महात्म्य मात्र कहाँ हो र, प्रधानमन्त्रीका हरेक हरेक वाणीहरु दिब्योपदेशको रुपमा दर्ज गराईराख्दा हुन्छ, किनकी संसारका कुनै पनि प्रधानमन्त्रीले आफ्ना जनतालाई यति गज्जबले हँसाउन सकेका छैनन्, वहाँलाई देखेर कोही रिसाउँदैन । यस अर्थमा हामी भाग्यमानी देशको नागरिक हौँ। यसरी हँसाउन सक्ने मेरो प्रधानमन्त्रीलाई कोटी कोटी नमस्कार छ ।

प्रधानमन्त्रीले हँसाउँदा जनता स्वस्थ्य मात्र भएका छैनन्, बरु धेरै अनलाईन र युट्युबेहरु पनि ब्यस्त छन् । उहाँका बेसारदेखि असार महात्म्यहरुकै कारणले टीआरपीमा रेकर्ड कायम गरेका छन् । प्रधानमन्त्रीले हँसाएकै कारण जनता सम्पन्न भएका पनि छन् । किनकी युट्युबे र पत्रकारहरु पनि जनता नै हुन् । यो सबैको श्रेय हाम्रो प्रधानमन्त्रीज्यू लाई जान्छ, केही संख्यामा न सही यसरी जनता सम्पन्न बनाउने प्रधानमन्त्रीज्यू लाई मेरो कोटी कोटी नमस्कार छ ।

दुस्खको कुरा २०७२ सालमा महाभूकम्प जाँदा वहाँ प्रधानमन्त्री हुनुहुन्नथ्यो, भएको भए त्यो बेला पनि वहाँले जनतालाई हँसाउनु हुन्थ्यो । भूकम्पबाट बँच्ने अचुक औषधि पाल टाँगेर बस्ने, र आकाशतिर फर्केर बस्ने भन्नुहुन्थ्यो होला, भूकम्पले हल्लाउँदा जता हल्लायो, त्यतै ढल्केर नाँच्न भन्नुहुन्थ्यो होला ।

नोट गरियोस्, हाम्रा प्रधानमन्त्रीमा गज्जबको ट्यालेन्ट छ, त्यसमाथि अत्यन्त कोमल मन पनि । वहाँ अब कोही भोकले मर्दैनन् भनेर कविता लेख्नुहुन्छ, अब कोही रुनुपर्दैन भनेर गीत लेख्नुहुन्छ । सायद वहाँ आफैले दुई दुई पटक मृगौला प्रत्यारोपण गरेर मृत्युलाई जित्नु भएकोले पनि आफ्ना जनताहरु पनि आफूजस्तै आत्मबल बलियो भएका छन् भन्ने मान्नुहुन्छ । दुस्ख परेको बेला पशुपतिनाथ गुहार्नुहुन्छ भने भैपरी आए भगवान शिवले कालकुट बिष पिएजस्तै होली वाईन पिएर भए पनि देश र जनतालाई कष्टदायक अवस्थाबाट जोगाउनुहुन्छ । यस्ता संरक्षक वहाँलाई मेरो कोटी कोटी नमस्कार छ ।

त्यसो त प्रधानमन्त्री जस्तो ब्यक्ति पतर पतर बोल्यो भनेर वहाँलाई खुईल्याउनेहरु पनि छन्, तर तिनीहरुलाई वहाँ बाल दिनुहुन्न, किनकी भक्तहरुले वहाँलाई बचाउनुहुन्छ, वहाँले बोलेका दिब्योपदे़शहरुको श्तोत्र पाठ गर्नुहुन्छ । त्यसबाट प्रधानमन्त्रीज्यू प्रशन्न भएर मालदार ज़िम्मेवारी दिनुहुन्छ। त्यस्ता भक्तहरुका संरक्षक, हजारौँ भक्तहरुका मालिक वहाँलाई मेरो कोटी कोटी नमस्कार छ ।

हाम्रा प्रधानमन्त्री परमेश्वरजस्तै सर्व ज्ञाता हुनुहुन्छ, वहाँमा अचम्मको ज्ञान छ । भाषा होस् या भेष, विज्ञान होस् या शास्त्र, साहित्य होस् या संगीत, मार्सी होस् या फर्सी सबै बिषयको ज्ञान वहाँसंग छ । वहाँले खाने मात्र हैन, बोल्ने कुराहरु सबैको मूल्य बढ्छ, मूल्य बढेपछि त्यसका उत्पादक किसानहरु धनी हुन्छन् । किसानको मालको मोल बढाईदिने वहाँलाई कोटी कोटी नमस्कार छ ।

अहिले एमसिसीबारे बजारमा स्याल हुईया छ, प्रधानमन्त्रीज्यू एमसिसी सही छ भन्ने कुरामा दृढ हुनुहुन्छ किनकी वहाँ बिद्यावारिधीप्राप्त ब्यक्ति पनि हो, वहाँलाई सही लागेको कुरा हामीलाई सही लाग्नैपर्छ, सबै बिषयका ज्ञाता देशका अभिभावक हाम्रा प्रधानमन्त्रीको कुरा हामीले काट्नु हुँदैन । वहाँले भन्नु भएपछि एमसिसी मात्र हैन महाकाली संधि पनि नेपालको हितमा छ । वहाँको पालामा एमसिसी आयो भने यसले पनि देशको कायापलट गर्नेछ। यस्तो अपूर्व एमसिसी जसरी पनि ल्याउँछु भन्ने मेरो प्रधानमन्त्रीलाई कोटी कोटी नमस्कार छ ।

प्रधानमन्त्रीज्यू बोलेपछि भोक लागेकाहरुको भोक मेटिन्छ, रोग लागेकाहरुको रोग भाग्छ, बलात्कारीहरु कुलेलम् ठोक्छन्, भ्रष्टाचारीहरु दुलो पस्छन्, माफियाहरु माफी लायक हुन्छन्। नपढेकाहरु पनि शिक्षित हुन्छन्, वहाँले जता जता छुनुहुन्छ त्यतै त्यतै जादूमय परिवर्तन हुन्छ। यस्ता जादूका प्रतीक मेरो प्रधानमन्त्रीज्यूलाई मेरो कोटी कोटी नमस्कार छ ।

नेकपा पार्टीमा पनि वहाँ नै सर्वेसर्वा हुनुहुन्छ, वहाँबिना पार्टी चल्दैन, वहाँको विकल्प छैन । वहाँ होऊन्जेल पार्टी केही हुन्न। वहाँ अठार घण्टा खट्नुहुन्छ, वहाँ आदेश मात्र दिनुहुन्न, लकडाउनमै पनि रातारात सांसदलाई दर्शन भेट दिन र पार्टी फुटाउने अध्यादेश ल्याउन पनि सक्षम हुनुहुन्छ । आफ्नो गुन गर्नेलाई ग्रीन सिंग्नल दिनुहुन्छ । आफ्ना मान्छे, आफ्नो गुटका मान्छेलाई राम्रो गर्ने कसरी नराम्रो हुन्छ ? हामी सबैले आफ्नालाई राम्रो नगरी अरुलाई गर्छौँ र यसरी आफ्ना परमप्रियलाई सधै माया गर्ने वहाँलाई मेरो कोटी कोटी नमस्कार छ ।

प्रधानमन्त्रीज्यूको जता प्रवेश हुन्छ त्यता उत्साह छाउँछ। ताली र सिट्ठी बज्न थाल्छन् । उहाँको ‘इन्ट्री’ नै झकास् हुन्छ । माहोल नै बेग्लै हुन्छ । गुण्डाको जालमा फँसेकी नायिकालाई बचाउन कतैबाट फ्याट्ट उडेर आएका राजेश हमालजस्तै उहाँ मञ्चमा आउँदा सबै गद्गद हुन्छन् । वहाँको भाषण सुन्दा अब देशमा गरीबी, भ्रष्टाचार, असमानता, अराजकता केही पनि बाँकी छैनन् भन्ने लाग्छ। केही बँचे खुचेकै भए पनि वहाँका दिब्य वाणीहरु सुनेकै दिनदेखि त्यो सकिएको अनुभूति हुन्छ ।

त्यसो त केही हाँस्य कलाकारहरुको खेलो खेती प्रधानमन्त्रीले बन्द गरिदिनु भएको छ । हाँस्य कलाकारले गर्ने प्रहसन भन्दा वहाँले गर्ने प्रहसन दमदार छ, त्यसैले उनीहरु कतै समाजसेवामा लागेका छन् । वहाँ एक्लैको कमेडी क्लबले सबैलाई फ्लप गरेको छ। उहाँको नभएको भनेको एउटा टिकटक एकाउन्ट मात्र हो, यसमा पनि वहाँ छिट्टै डेब्यु गर्नु हुनेछ । त्यता पनि वहाँ भाईरल हुनुहुनेछ । भाईरल भनेको लोकप्रिय हुनु हो, मेरो भाईरल प्रधानमन्त्रीलाई कोटी कोटी नमस्कार छ ।

देश कोरोनाको त्रासमा छ, यस्तो बेला सरकारलाई त्रास दिने काम भईरहेको छ । यत्रो बिपतमा पनि ओखति बाँड्ने सरकारलाई उडाउनेहरु देशद्रोही हुन् , बिपदमा पनि हिशाब खोज्नेहरु अराजक हुन् । काम गरेर खानेको भाग खोस्नेहरु समृद्धिका बाधक हुन् । पीसीआर छोडेर बेसारकै माध्यमबाट कोरोना निर्मूल गर्न देशबासीका नाममा पहिलो सन्देश दिने संसारकै नमूना मेरो प्रधानमन्त्रीज्यू लाई कोटी कोटी नमस्कार छ ।
नेपालीपत्रिकाबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रधानमन्त्रीज्यू, आउनुस् टिकटक बनाम्!" A few seconds ago

सम्बन्धित खवर