राज्यले ओझेलमा पारेको नेपाल सम्बत ! – Satabdi News

राज्यले ओझेलमा पारेको नेपाल सम्बत !

नेपाल  सम्बतलाई नेसं पनि लेखिन्छ । ११३८ वर्ष देखि अस्तित्वमा आएको नेपाल सम्वतले आजको दिनसम्म आइपुग्दा निकै उचारचढावको सामना गर्नु परेको छ । नेपाल संवत् नेपालमा प्रचलित एक लुनार क्यालेण्डर अर्थात् चन्द्रमासमा आधारित नेपालको मौलिक राष्ट्रिय संवत् हो । यो संवतको पहिलो दिन भारतीय विक्रम संवतको कार्तिक शुक्ल पक्षको दिनमा हुन्छ । यसमा एक औँसीबाट अर्काे औँसीलाई एक चन्द्रमास भनिन्छ । १२ औँसीको एक वर्ष हुन्छ । त्यसैले ३५४ दिनको एक वर्ष हुन आउँछ । तीन वर्षको एक चोटी अनला महिना अथवा पुरुषोत्तम महिना १३ औं महिना हुन आउँछ ।

नेपाल संवतका प्रवर्तक शंखधर् साख्वा हुन् । शंखधर साख्वा नेवार जातिका  व्यापारी थिए । उनी धेरै धनी थिए । शंखधरका साथीहरू पनि व्यापारी थिए । तर शंखधरको जस्तो व्यापार उनीहरूको हुँदैनथ्यो । ती साथीलाई शंखधरको व्यापार प्रति डाह भयो । उनीहरूले जालसाजी गरेर राजालाई ‘यसले अनैतिक व्यापार गरेको छ’ भनी पोल लगाइदिए । यो उजुरीपछि राजाले शंखधरको सम्पत्तिमाथि अतिक्रमण गरे । यसबाट विचलित शंखधर जोगीजस्तै भएर हिँड्न थाले । पछि राजाले खोजतलास गर्दा अनैतिक नभएको पत्ता लाग्यो । राजाले पश्चताप गर्दै ‘तिमी इमान्दार रहेछौ, तिम्रो सम्पत्ति फिर्ता लैजाऊ’ भने । गुमिसकेको पैसा र सम्पत्ति फिर्ता पाएका शंखधरले इस्वी संम्वत ८७९ मा ऋणमा डुबेका सबै जनताको ऋण तिरी दिएर ऋण मोचन गरे । त्यस आधारमा नेपाल सवंत् चलेको भनाइ छ । भक्तपुरका राजा राघवदेवको आज्ञामा नेपाल सम्बतलाई राष्ट्रिय सम्वतको रूपमा मान्यता दिइ नेपालका कार्यालहरुमा चलाइएको थियो ।

नेपाल खाल्डो भित्र नेपाल संवतले ८९० वर्ष सम्म राजकीय सम्बतको रुपमा राज गर्यो । पृथ्वीनारायण शाहले इसं १७६९ मा नेपाल लिएपछि शक सम्बत चलाए र नेपाल सम्बतको राजकीय निरन्तरता टुट्न गयो । तथापि यो सम्बत पछि पनि प्रतापसिंह शाहको समयमा तिब्बतसंगको सम्झौता गर्दा प्रयोग भएको देखिन्छ । शक सम्बतको निरन्तरता इस्वी सम्वत १९०४ मा राजा त्रिभूवनको पालासम्म अर्थात १३५ वर्ष सम्म कायम रह्यो । शक सम्वत् र नेपाल सम्वत् दुवै तिथिको आधारमा मात्र चलिरहेको र तिथिहरूको स्थिति अगाडि वा पछाडि भइरहने हुँदा शासन व्यवस्थामा असजिलो हुन्थ्यो, र सजिलो बनाउनको लागि चन्द्रशम्शेरले ज्योतिषीहरूको सल्लाह लिएर तिथि र बारहरूमा तलमाथि नगरी विक्रम सम्वत् १९६१ मेष संक्रान्ति वैशाख १ गतेदेखि नेपालमा चलाए । स्मरणीय यो छ कि तिथिको आधारमा चल्दै रहेका नेपाल सम्वत् र शक सम्बतमा जम्मा ३५४ दिनको एक वर्ष हुन्छ भने विक्रम सम्बतको वर्ष ३६५ दिन १५ घडी ३१ पला  ३१ प्रति पलामा पूरा हुन्छ ।

गणितीय हिसाब जे भएपनि यसमा चन्द्रसम्शेरको आफू सूर्यवंशी हुनुको गर्वलाई स्थापना गर्न यो सूर्यको गतिमा संचालित विक्रम सम्बत चलाएको हो भन्ने धेरै विद्वानहरूको मत छ । विक्रम सम्बत हिन्दु राष्ट्रवादको गैरहिन्दु जातिमाथि विजयको प्रतिक स्वरूप भारतीय उपमहादिपमा परापूर्व कालदेखि प्रतिष्ठा पित भै आएको र सोही हिन्दु राष्ट्रवादको निरन्तरता स्वरूप चन्द्रसम्शेरले हिमाली भेगका जनजातिहरू माथिको विजयको सानमा यो सम्बत चलाए । नेपालमा हाल विक्रम संवत् राजकीय हैसियतको उमेर ११५ वर्ष मात्र पुगेको छ । यो बिक्रम सम्बत भन्दा पहिले १३५ वर्षसम्म शक सम्बत र त्यो भन्दा पनि पहिले ८९० वर्षसम्म नेपाल मा नेपाल संबत् लागु थियो । उनको नजरमा नेपाल सम्बत एक विजित तुच्छ जातिका सामान्य जनताको छोरोबाट स्थापित भएको सम्बत थियो, यो उनलाई कदाचित स्वीकार्य थिएन ।

 

बिक्रम सम्बत लागु भएको १६ बर्ष लगत्तै इश्बी सम्बत १९२० देखि नेपाल सम्बत अभियान कलकतामा बसोबास गर्ने बुद्धिस्ट गतिबिधि एबं नेपाल भाषाका सक्रिय धर्मदित्य धर्माचार्यले नेपाल सम्बतलाई राष्ट्रिय पात्रोको रुपमा स्थापित गर्ने अभियान शुरु भयो । संगसंगै राणा शासन बिरुद्दमा आन्दोलनहरु हुन थाले । इस्वी संम्वत १९५० मा राणाशासनको अवसान पछि पुन: नेपाल सम्बतलाई राष्ट्रिय स‌म्बत बनाई सरकारी कामकाजको स‌म्बत बनाए । तर सरकारले खासै चासो नदिएको र प्रचारको कमीले गर्दा यो नेपाल संम्बत पुन ओझेलमा परे । राणा शासनको अन्त्य भए पनि शासकहरुमा त्यहि चन्द्र शमशेरको सोच हाबी भएको कारण उनको कार्यलाई निरन्तरता दिने काम भयो ।

नेपाल सम्बतलाई राष्ट्रिय पात्रोकै रुपमा स्थापना गर्न भाषा र संस्कृति सम्बद्ध अभियन्ताहरुले सन् १९५१ देखि आन्दोलनलाई पुन निरन्तरता दिए । सन् १९७९ मा नेपाल भाषा ‘मंका खल’ को स्थापनाले आन्दोलनलाई थप उर्जा प्रदान गरायो । यसले आयोजना गर्ने र्याली र बिभिन्न जनसभा मार्फत यसलाई एकातिर राष्ट्रियताको परिचयको रुपमा र अर्कोतिर शासक बर्गबाट भाषा, साहित्य र संस्कृतिमाथि गरिएको दबाबका बिरुद्ध गतिबिधिको रुपमा बिकास गरिंदै लगियो । पञ्चायतकालमा यी गतिबिधिलाई दबाउने काम पनि भए ।

अन्तत नेपाल सम्बत अभियानले नेपाल सम्बत पात्रोका संस्थापक संखधर साख्वालाई सरकारले २६ अक्टोबर सन् २००३ मा राष्ट्रिय बिभूति घोषणा गरेपछि निकै ठुलो सफलता हात पार्यो । हुलाक बिभागले उनको सम्मानमा टिकट प्रकाशन गर्‍यो । २८ जनवरी सन् २०१२ मा तानसेन पाल्पामा उनको मूर्ति प्रतिस्थापन गरियो । सन् २०१३ देखि नेपाल सम्बतको पहिलो दिनलाई नववर्षको रूपमा बिदा दिने चलन कायम भयो । सरकारले संखधर साख्वा राष्ट्रिय एकेडेमी स्थापना गर्ने निर्णय समेत गरेको छ । विक्रम सम्बत वा शक सम्बत आयातित सम्बत मानिने हुँदा नेपालका माटोप्रेमीहरू नेपाल सम्बतलाई नै नेपाली गर्बको सम्बत मान्दछन् । नेपाली इतिहासको स्वर्णिम कालमा ८९० वर्षसम्म राजकीय सम्बत रहेको नेपाली माटोको नेपाल सम्बतलाई प्रमूख सम्बतको रूपमा कायम गर्दा आफ्नै इतिहासको गौरवलाइ सम्मान पुगेको हुनेछ । उनीहरुमा नेपाली राष्ट्रबाद नै छ भने नेपालको आफ्नो जेठो नेपाल सम्बतलाई फेरि प्रतिस्थापन गर्न सक्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "राज्यले ओझेलमा पारेको नेपाल सम्बत !" A few seconds ago

सम्बन्धित खवर