अनुसन्धानले देखायो "एक सन्तान हुने घरको बच्चा मोटोपना बढी हुने" – Satabdi News

अनुसन्धानले देखायो “एक सन्तान हुने घरको बच्चा मोटोपना बढी हुने”

एन्जेसी, माघ २० । दाइदिदी वा भाइबहिनी भएकाको तुलनामा एक्ला सन्तानहरुमा मोटोपनाको जोखिम बढी हुने गरेको बुधबार प्रकाशित एक नयाँ अध्ययनले उल्लेख गरेको छ । उक्त अध्ययनमा बालबालिकाको खानपिनको बानी र शारीरिक तौल अध्ययन गरिएको थियो जसमा वैज्ञानिकहरुले एक्ला सन्तानले खाने खाना र पेय पदार्थ धेरै छोराछोरी भएका परिवारको तुलनामा अस्वस्थ हुने गरेको पत्ता लगाएका हुन् ।

अनुसन्धानमा यसको स्पष्ट कारणबारे विस्तृत जानकारी फेला नपरेपनि यसले अभिभावकहरुको ध्यान केन्द्रित गराएको अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सकी डाक्टर नेटलिन मुथले बताएकी हुन् । उनले भनेकी छन्, “यसबाहेकका अन्य थुप्रै अध्ययनले पनि एक मात्र सन्तानमा मोटोपनाको समस्या हुने गरेको प्रमाणित गरिसकेका छन् । त्यस्तो किन हुन्छ त ? यो अध्ययनले यस प्रश्नको उत्तर नदिएपनि यो विषयमा थप प्रकाश पारेको छ जसको मद्दतले यस सम्बन्धी आगामी दिनहरुमा धेरै तथ्य हासिल गर्न सकिनेछ । 
एक्ला सन्तानहरुले यसअघि पनि धेरैपटक अनुसन्धानकर्ताहरुलाई आश्चर्यमा पारिसकेका छन् । पुराना अध्ययनहरु भने एक मात्र सन्तानका बारेमा समाजमा मानिँदै आएका खराब पक्षहरुमा केन्द्रित रहने गर्दथ्यो । जस्तै एक्ला सन्तान घमन्डी, स्वार्थी, क्रुर, अनावश्यक रुपमा प्रतिस्पर्धी र एक्लै माया पाएर मात्तिएका हुन्छन् भन्ने मान्यता रहँदै आएको छ । यस्तोमा धेरै मानिसहरुले एक्लो सन्तान भएमा तिनीहरुमा थुप्रै सामाजिक विपन्नता हुने विश्वास गर्दथे जसकारण पनि तिनको व्यक्तित्व र व्यवहारकै बारेमा मात्र धेरै अनुसन्धान गरिएको टोनी फाल्बो बताउँछन् जो युनिभर्सिटी अफ टेक्ससका साइकोलोजिस्ट हुन् र यस विषयमा सन् १९८० देखि अध्ययन गर्दै आएका छन् ।उनले १९८६ मा बालबालिका सम्बन्धी २०० वटा अध्ययनको विश्लेषण गरेका थिए जसमा एक्ला सन्तानहरुले विशेषगरी दाजु वा दिदी भएकाहरुको तुलनामा बौद्धिक, व्यवहारिक लगायतका उपलब्धी हासिल गर्ने गरेको पत्ता लगाएका हुन् । उनी भन्छन्, “प्रायः एक्ला सन्तानहरुले बढी शीप र शिक्षा पाइरहेका हुन्छन् र परीक्षामा पनि उच्च स्कोर हासिल गर्ने गरेका छन् । व्यक्तित्व सम्बन्धी उपलब्धीमा पनि उनीहरुको प्रदर्शन ठीकै छ । उनीहरुमा सकारात्मक व्यक्तित्व रहने गरेको र मानसिक बिमारीको सम्भावना पनि अरुको तुलनामा कम रहेको पाइएको हो । ” यस्तोमा उनले आफूले गरेको अध्ययनबाट फेला पारेको एक मात्र भिन्नता भनेको तुलनात्मक रुपमा एक्ला सन्तानको तिनका बाबुआमासँग बढी घनिष्ठ सम्बन्ध हुन्छ । सो अध्ययनलाई पछि २०१८ मा जर्मनका १० हजार स्कुले विद्यार्थीहरुमा गरिएको अध्ययनले पनि समर्थन गरेको हो ।

यसरी एक्लो सन्तान र मोटोपनाबीचको सम्बन्धबारे पहिलोपटक चीन र युरोपमा खोजी गर्न सुरु गरिएको थियो । चीनमा १९८० देखि २०१६ सम्म एकल सन्तान नीति जारी रहेको हुँदा अध्ययनकर्ताहरुले सबैभन्दा राम्रो अवसर पाएका हुन् । जस्तै चीनका २० हजार एक्ला सन्तानहरुमा अनुसन्धान गर्दा उनीहरुले शहरी क्षेत्रमा बस्ने ३६ प्रीतशतमा मोटोपनाको समस्या हुने सम्भावना रहेको पत्ता लगाए ।

त्यसपछिका अन्य रिसर्चहरुमा चाहिँ सबैभन्दा पछि जन्मिएको अर्थात कान्छो सन्तानमा मोटोपनाको सम्भावना अधिक रहेको देखिएको हो । यसमा अभिभावकले तिनको खाना खाने समय व्यवस्थापन गर्न नमिलाएका कारण यस्तो हुने गरेको बताइएको थियो । पछिल्ला केही रिसर्चले चाहिँ एक्ला सन्तान नभएर तिनका आमाहरु मोटोपनाको शिकार हुने गरेको देखाएको छ ।

यसरी सम्पूर्ण अध्ययन अनुसन्धानलाई एकमुष्ठ रुपमा हेर्दा मोटोपनाको समस्या र परिवार एकअर्कासँग सम्बन्धित रहेको स्पष्ट भएको मुथ बताउँछिन् । दुई वा सो भन्दा बढी सन्तान हुँदा फास्ट फुड अर्थात बाहिरको खाना कम खाइने हुनाले पनि यस्तो नतिजा देखिएको बताइएको छ । त्यस्तै दाजुभाइ वा दिदीबहिनी भएकाहरु शारीरिक रुपमा बढी सक्रिय हुने हुनाले पनि मोटोपनाको जोखिम कम हुन्छ । फाल्बो हाल किशोकिशकोरीहरुमा अध्ययन गरिरहेका छन् जो अत्याधिक समय स्क्रिनमा बिताउँछन् ।   – सिएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "अनुसन्धानले देखायो “एक सन्तान हुने घरको ब..." A few seconds ago

सम्बन्धित खवर