२५ मंसिर, काठमाडौं । नेपाल थामी समाजले आगामी मंसिर २६ गते उधौली भुम्या पर्व आ–आफ्नाे गच्छेअनुसार गाउँ, टोल, जिल्ला र क्षेत्रमा मनाउनका लागि सम्पूर्ण किरात थामी समुदायमा अपिल गरेको छ ।
समाजका अध्यक्ष सुखवीर थामीले मंसिर १९ गते नै उधौली भुम्याको शुभकामना सन्देश जारी गर्दै उधौली भुम्यालाई आ–आफ्नाे गच्छेअनुसार मनाउन किरात थामी समुदायका साथै समाज मातहत रहेका केन्द्र, जिल्ला, गाउँ तथा नगर समितिका पदाधिकारी तथा सदस्यहरुलाई अनुरोध गरेका गरेका हुन् ।
शुभकामना सन्देशमा समाजले थाङमी स्वायत्त क्षेत्र निर्माणका लागि एकजुट भएर संघर्ष गर्नुपर्ने उल्लेख गरिएको छ ।
आफ्नाे भाषा, धर्म, संस्कृति र संस्कारहरुको रक्षा गर्दै थामी युवाहरु अब सचेत र संघर्षशील हुनुपर्ने अध्यक्ष थामीले उल्लेख गरेका छन् ।
उनले उधौली भुम्याको अवसरमा देशविदेशमा रहेका सम्पूर्ण थामी तथा गैरथामी समुदायमा सुख, शान्ति र समृद्धिको कामना समेत गरेका छन् ।
उधौली-उभौली लिम्बु, सुनुवार, याक्खा, राई, थामी लगायत विभिन्न किरात समुदायले मनाउँछन् । तर, भाषिक तथा समुदायगत रुपमा भने अलग अलगत नामले यो चाड मनाउने गरिएकाे छ । किरात थामीहरुले उधौली भुम्या पर्वको रुपमा यो चाड मनाउँछन् ।