१०-कार्तिक, बेलबारी । कार्तिक कृष्ण औशीँका दिन धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मीको पुजा गरिने चलन छ । यमपन्चकको तेस्रो दिन पर्ने लक्ष्मी पुजा यस बर्ष भने कुकुर तिहार र लक्ष्मिपुजा एकैदिन अर्थात यमपन्चकको दोस्रो दिन नै परेको छ ।
साँझ घरको सरसफाई गरी मुलढोकादेखि पूजा कोठासम्म पिठो र अबिरले लक्ष्मीको प्रतिकात्मक पाइला बनाएर झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गरिन्छ ।
अध्यारोमा लक्ष्मीको बास नहुने मान्यता अनुसार घरघरमा दीपावली गरिन्छ । बत्ती नबालेको घरमा लक्ष्मीले बास गदिर्नन् भन्ने हाम्रो भनाइ छ ।
सबैतिर सफा राखी आँगन , दैलोसङ्घार, झ्याल, ढोका, चोटा, कोठा, अटाली, कौसी, बरन्डा, भयाङ आदि ठाउँमा झलमल्ल गरी बत्ती बालिने हुनाले यस पर्वलाई दीपावली पनि भत्रे गरिन्छ । झिलिमीली पार्न विद्युतीय वत्ति , मैन वत्ति , दियोमा वत्ति तथा पाला र केराका सुत्लामा तेलमा भिजाएको कपासको प्रयोग गरिन्छ ।
गाँउघरमा अहिले पनि आँगन, पिँढीमा गाईको गोबर र रातो माटोले लिपेर सफा बनाउने गरिन्छ । घरका झ्याल ढोका साथै पानी सार्न प्रयोग गर्ने गाग्री लोटामा फूलका माला लगाएर सिगार्ने गरिन्छ ।