संखुवासभामा ६ जनाको हत्या आरोपी सार्वजनिकः पाँच दिनदेखि प्रहरी र युट्युबरसँगै थिए – Satabdi News

संखुवासभामा ६ जनाको हत्या आरोपी सार्वजनिकः पाँच दिनदेखि प्रहरी र युट्युबरसँगै थिए

२७ भाद्र, मादी । संखुवासभाको मादी–१ उम्लिङ खोलागाउँका तेजबहादुर कार्कीसहित परिवारका ६ जनाको हत्याको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीलाई सार्वजनिक गरिएको छ ।

जिल्लाको सदरमुकाम चैनपुरमा १ नम्बर प्रदेश प्रहरी कार्यालयमा आइतबार पत्रकार सम्मेलनमार्फत प्रहरीले नातामा भतिज पर्ने छिमेकी लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको हो ।

गत सोमबार व्यक्तिगत रिसइवीका कारण लोकबहादुरले सोमबार बिहा झिसमिसेमा १३ दिने दाजुभाइ खलकका ६ जनाको हत्या गरेका थिए । प्रहरीले अभियुक्त कार्कीलाई शुक्रबार पक्राउ गरि आज बिहान सार्वजनिक गरेको हो ।

हत्या गरिएका व्यक्तिहरुको टाउकोमा गहिरो चोट लागेको पाइएको र हत्या गर्ने क्रममा टाउकोमा नै प्रहार गरको पाइएको प्रहरीले उल्लेख गरेको छ ।

हत्या भएकामा ५८ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, ३२ वर्षीया बुहारी रञ्जना कार्की, तेजबहादुरका ११ वर्षीय नाति दीपेन कार्की र सात वर्षीया नातिनी गोमा कार्की छन् ।

अनुसन्धानको ५ दिन सम्म सामूहिक हत्यामा संलग्न हत्यारालाई प्रहरीले पत्ता लगाउन सकेको थिएन । हत्यारा भने अनुसन्धानमा खटेका प्रहरीहरूलाई नै उल्टै अनुसन्धानमा सघाइरहेको जस्तो भूमिका खेलेर प्रहरीसँगै घुलमिल थिए ।

उनी मृतक तेजबहादुर कार्कीका नजिकैका छिमेकी हुन् । उनलाई सुरुदेखिनै प्रहरीले शङ्काको घेरामा राखेको थियो । तर ठोस प्रमाण फेला नपरेको कारण उनलाई समयमै पक्राउ भने प्रहरीले गरेन । अन्तिममा आएर प्रहरीसँगै रहेका लोकबहादुर पक्राउ परेका हुन् ।

तेजबहादुरको शव सडक छेउमा लडिरहेको देख्ने पहिलो व्यक्तिसमेत उनै लोकबहादुर हुन् । घटनाको रिपोर्टिङका लागि पुग्नेहरू पत्रकार तथा स्थानीयले उनलाई खोजे । उनले घटनाबारे थुप्रै अन्तर्वातासमेत दिएका छन् ।

‘बडाउ तेजबहादुरको दुश्मनी कोहीसँग थिएन’ एउटा अन्तर्वातामा उनले भनेका छन्, ‘गाउँघरमा त्यस्तो शंकाको मान्छे कोही छैन मेरो विचारमा । बडाउ एकदमै सहयोगी समाजसेवी हुनुहुन्थ्यो ।’ तर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले ‘सुनचाँदी पैसा घरमै रहेछ भनेको छ नि ? भन्ने प्रश्नमा उनले भनेका छन्, ‘रिसइबीले नै हो कि जस्तो छ । यो घटना गम्भीर छ ।’

एउटा परिवारको पुरै वंश सखाप हुने गरी भएको सामूहिक हत्याकाण्डले सबैको ध्यान तानेको थियो । यो क्रममा घटनास्थलमा पुगेका सञ्चारकर्मीहरूलाई समेत उनै लोकबहादुर कार्कीले सहजीकरण समेत गर्ने गर्दथे । यहाँसम्म कि उनले अनुसन्धान टोलीलाई खाना पकाउन पनि सघाइरहेका थिए । उनीहरूलाई सागसब्जी जुटाउन पनि सहयोग गरिरहेका थिए ।

अन्ततः तीनै लोकबहादुर सामूहिक हत्याकाण्डको दोषी बने । लोकबहादुर मृतक तेजबहादुरका साइनोमा भतिजो हुन् । मृतकको घरदेखि करिब १ एक सय मिटरको दूरीमा अभियुक्त कार्कीको घर छ ।

तेजबहादुर सोमबार बिहान खेताला खोज्न निस्किएका बेला बाटो ढुकेर आक्रमण गरी हत्या गरेको स्वीकार गरेको अनुसन्धानमा संलग्न अधिकारीको दाबी छ । उक्त घटना देखेपछि बडीआमा कमला, भाउजू रञ्जना, हजुरआमा पार्वता, भतिज दीपेन र भतिजी गोमा कार्कीको हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ ।

तेजबहादुरले आफूलाई हेपेर बोली व्यवहार गर्ने गरेकाले उनको ज्यान लिएको लोकबहादुरले बयान दिएका छन् । प्रहरीका अनुसार हत्यामा प्रयोग भएको रड भेटिएपछि छिमेकी लोकबहादुर शङ्काको घेरामा थिए । घरभित्र रगत लागेको सर्ट भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले शुक्रबार आफन्त लोकबहादुलाई पक्राउ त गर्‍यो तर, एक जनाबाट बिहान यस्तो घटना कसरी सम्भव भयो भन्ने प्रश्न उब्जिएको छ । हत्या अभियुक्त लोकबहादुरले कक्षा ८ सम्म पढेपछि पढ्न छोडेका थिए । छिमेकी चन्द्रबहादुर थापाका अनुसार घरमा पनि उत्ति काम नगर्ने कार्की मलेसिया र कतार काम गर्न गए पनि वर्षदिन नपुग्दै गाउँमा फर्किएका थिए ।

६ वर्ष अगाडि मलेसिया गए पनि १० महिनामा विदेश जाँदाको ऋणसमेत नतिरी फर्किएको थापाको भनाइ छ । त्यसको डेढ वर्षपछि पुनः वैदेशिक रोजगारीको लागि कतार पुगे । तर त्यहाँबाट पनि ९ महिना नपुग्दै घर फर्किए । राति कहिल्यै घरमा नबस्ने, कहिले राति घरबाटै हराउने, गाउँका बेकामे केटाहरूसँग बिनाकाम डुलिहिँड्ने लोकबहादुरको विशेषता रहेछन् । आमाको गत चैत २६ गते निधन भएपछि बुवा र भाइसहित तीन जना बस्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "संखुवासभामा ६ जनाको हत्या आरोपी सार्वजनिकः पाँच..." A few seconds ago

सम्बन्धित खवर