
२५ वैशाख, विराटनगर । कोरोना संक्रमितको उपचार गर्ने विराटनगरका तीन अस्पतालका आइसियू बेड भरिएका छन् ।
कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र, नोबेल मेडिकल कलेज र विराट मेडिकल कलेजका आइसियू बेड भरिएका हुन् ।
आइसियू बेड भरिएका कारण नयाँ संक्रमितले उपचार पाउन मुस्किल छ । गम्भिर अवस्थाका संक्रमितले आइसियूमा बेड पाउन पालो कुर्नपर्ने बाध्यता छ ।

बिरामीको नाम टिप्दै, फर्काउँदै
कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रका संयोजक बैजनाथ साहका अनुसार बुधबारयता अस्पतालको आइसियू र एचडियू बेड प्याक छन् । आइसियू बेड प्याक भएपछि गम्भिर प्रकृतिका विरामीलाई भर्ना नलिइएको उनले बताए ।
नोबेल मेडिकल कलेजका कोभिड १९ फोकल पर्सन दीपेन न्यौपानेका अनुसार बेड खोज्नेलाई फर्काउनु पर्ने बाध्यता छ
‘तीन दिन भयो आइसियू प्याक भएको, आइसियू खोज्नेलाई खाली भए बोलाउँछौं भन्दै नाम टिपेर राख्छौं,’ उनले भने, ‘आइसियू र एचडियूमा भरिएपछि जनरल बेडका लागि भर्ना गरिरहेका छौं ।’ उनका अनुसार शुक्रबार कोसी कोभिडमा ६८ जना संक्रमित उपचाररत छन् र यो संख्या बढ्दो क्रममा छ ।
विराट मेडिकल कलेजको आइसियू पनि प्याक छ । अस्पतालका फोकल पर्सन सुनिल देवका अनुसार नयाँ संक्रमितलाई आइसियुमा राख्न उपचाररत विरामीको डिस्चार्ज हुनुपर्छ वा मृत्यु हुनुपर्छ । बेड खोज्नलाई पालो कुराएर राख्नुपर्ने अवस्था रहेको उनले बताए । विराटले ३२ वटा आइसियू र १२ वटा भेण्टिलेटरसहित २०० बेडको छुट्टै कोरोना अस्पताल सञ्चालन गरिरहेको छ ।
नोबेल मेडिकल कलेजको आइसियूसहितका वार्ड भरिएका छन् । कलेजका प्रबन्धक नारायण दाहालका अनुसार गत शनिबारयता विरामीको चाप बढेको छ । नोबेलले गत शुक्रबारयता संक्रमितको उपचार निःशुल्क गरिरहेको छ ।
सुरुमा १० वेड आइसियूसहित ७० बेडको कोभिड १९ उपचार केन्द्र सुरु गरेको नोबेलले बेडसंख्या १४४ पुर्याएको छ । जसमा जसमा ३९ वटा आइसियू र ९ वटा भेण्टिलेटर छन् । बाँकी अक्सिजनसहितका बेड हुन् । अस्पतालमा बेड भेरिएपछि नयाँ संक्रमितलाई भर्ना गर्न सक्ने अवस्था नरहेको उनले बताए ।
नोबेल मेडिकल कलेजका कोभिड १९ फोकल पर्सन दीपेन न्यौपानेका अनुसार बेड खोज्नेलाई फर्काउनु पर्ने बाध्यता छ । ‘बेड खोज्दै दिनमा १५० बढी फोन आँउछ,’ उनले भने, ‘चाहेर पनि बेड मिलाउन सकिँदैन ।’
विराटनगर महानगरपालिकामा संक्रमणदर उच्च छ । दैनिक दुई सय बढी संक्रमित भेटिइरहेको विराटनगरमा संक्रमितका लागि बेड खोज्दै बारम्बार फोन आउने गरेको महानगरको कोभिड १९ फोकल पर्सन हैदर अली बताउँछन् । फोन आए पनि अस्पतालहरुमा बेड व्यवस्था गर्न गाह्रो भएको उनको गुनासो छ ।