ट्राफिकमा अनियमितता : दुई एसपीसहित तीन प्रहरी अधिकृतलाई कारबाही  – Satabdi News

ट्राफिकमा अनियमितता : दुई एसपीसहित तीन प्रहरी अधिकृतलाई कारबाही 

२३ वैशाख २०७८, बिहीबार । आर्थिक अनियमितताको आरोपमा निलम्बनमा रहेका नेपाल प्रहरीका तीन अधिकृतमाथि प्रहरी प्रधान कार्यालयले कारबाही टुंगो लगाएको छ । एसपीद्वय विमल बस्नेत र रामेश्वरप्रसाद यादव तथा इन्स्पेक्टर मेघराज चौरसियालाई प्रहरी प्रधान कार्यालयले ग्रेड घटुवाको कारबाही गरेको हो । 

एसपी बस्नेत र यादवको पाँच ग्रेड तथा इन्स्पेक्टर चौरसियाको चार ग्रेड घटुवा भएको छ । आर्थिक अनियमितताको पुष्टि भएपछि प्रहरी प्रधान कार्यालयले उनीहरूलाई बिहीबार कारबाहीको निर्णय गरेको हो । ग्रेड घटुवालाई गम्भीर प्रकृतिको विभागीय कारबाही मानिन्छ । पाँच ग्रेड घटुवा हुँदा उनीहरू बढुवामा आफ्ना ब्याचीभन्दा पाँच वर्ष पछि पर्नेछन् । कारबाही टुंगो लागे पनि उनीहरूको निलम्बन फुकुवा अझै भएको छैन ।

कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा रहँदा उनीहरूले अनियमितता गरेको पाइएपछि गत १७ मंसिरमा गृह मन्त्रालयले निलम्बन गरेको थियो । थप छानबिन गरी उनीहरूलाई कारबाही गरिएको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।

एसपीद्वय यादव र बस्नेत छुट्टाछुट्टै समयमा प्रदेश ट्राफिक कार्यालयको इन्चार्जका रूपमा कार्यरत थिए । उनीहरूले ट्राफिक पोस्टहरूमा कर्मचारी खटाउँदा पैसा माग्ने गरेको छानबिनबाट पुष्टि भएको हो । कारबाहीमा परेका दुवै एसपी राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा स्थानान्तरण भएका अधिकृत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "ट्राफिकमा अनियमितता : दुई एसपीसहित तीन प्रहरी अ..." A few seconds ago

सम्बन्धित खवर