बेलबारी । बेलबारी नगरपालिकाले जारी गरेको लकडाउनको समय भदौ ७ गते सम्मलाई थप भएको छ ।
कोरोनाको जोखिम कायमै रहेकाले नगरवासीको स्वास्थ्यलाई ध्यानमा राख्दै एक हप्ता लकडाउन थप्ने निर्णय भएको बेलाबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीले जानकारी दिनुभएको छ ।
बेलबारी नगरमा रहेको कोरोना रोकथाम सर्वदलिय उच्चस्तरिय नगर समन्वय समितिको आइतबार बसेको बैठकको निर्णय सुनाउदै उपप्रमुख पराजुलीले बताउनुभएको हो । यसबिचमा बैंकहरु भने दिनको ११ बजेदेखि २ बजेसम्म खुल्न दिने र अरु सबै बन्द गर्ने निर्णय भएको छ । कोरोना संक्रमणको जोखिम समुदायमै फैलने सम्भावना बढेको भन्दै बेलबारी नगरपालिकाले गत साउन २२ गते मध्यरातिदेखि लकडाउन घोषणा गरेको थियो ।
पहिलो पटक घोषणा भएको लकडाउनको अवधी आइतबार राति सम्मको रहेको थियो । नगरपालिकाले तिज पर्वमा अरुलाई घरमा बोलाउन र भिडभाड गर्न पनि रोक्ने भएको छ । जोखिम अत्यधिक बढेकाले आफ्नो र परिवारको सुरक्षाको लागि तिजमा पाहुना नबोलाउन र भिडभाड नगर्न आग्रह गरिएको पराजुलीले जानकारी दिनुभएको छ ।