कविता "आजकाल मलाई जँडिया भन्छ्न !" – Satabdi News

कविता “आजकाल मलाई जँडिया भन्छ्न !”

प्रदिप योङहाङ लिम्बू

अलैंचीको भारी बोकेर
फुङ्लिङ् तिर उकालो जाँदै गर्दा,
खुब प्यास लागेको थियो देउलिङ्गे पुग्दा।
यसो प्यास मेट्न
एउटा भट्टी पसलमा छिरेँ र मगाएँ,
एक बटुक्का छिप्पेको जाँड।

छिप्पेको घाम
छिप्पेको प्यास
छिप्पेको जाँड
छिप्पेको म
र छिप्पेको जाँड ल्याउने
छिप्पेको सोल्टिनी
आहा! क्या मिलेको।

सँधै स्वाट्ट पर्दा जाँड,झ्वाट्ट मात्ने म
त्यस दिन जाँडले मात्दै मातिन।
यदि मातेको थिएँ भने कतै,
सोल्टिनीको नशालु हेराईले मातेको थिएँ।
साँच्चै,
जाँड भन्दा मादक हुँदा रहेछन,
नशालु हेराईहरु।

तानेर जाँड,
उकालो फिलिलि चडियो।
अलैँची बेचियो
र भोलि पल्ट ओरालो झरियो,
फेरि देउलिङ्गे तिर।

प्यास नलागे पनि
तिर्खाएको अाँखा,
भोको मन,
खाली डोकोमा भरेर अर्धाङ्गीनिको सपना,
फेरि छिरेँ उहीँ हिजोको भट्टी पसल
तर सोल्टिनी थिईनन्।

त्यही बेला थाहा भयो,
एक बटुका जाँडमै पनि साटिँदो रहेछ मन।
त्यही बेला थाहा भयो,
एक मुस्कानमा पनि गाँसिदो रहेछ प्रेम।
र त्यही बेला थाहा भयो
प्रेम गर्न कुनै पहाड फुटाउन पर्दैन्।

आशाको एउटा मधुरो दियो बोकेर
हरेक साँझ,हरेक दिन पालैपालो,
गाउँ भरिको सहर भरिको भट्टी पसल चहार्छु
र मगाउँछु उही एक बटुका जाँड।

जाँड मगाउने बहानामा
उही सोल्टिनीको खोजिमा हिँडेको प्रेमी हुँ म
तर
प्रेमको अर्थ नबुझ्नेहरुले
आजकाल मलाई जँडिया भन्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कविता “आजकाल मलाई जँडिया भन्छ्न !”" A few seconds ago

सम्बन्धित खवर