मैले आफ्नो माग पूरा गराउन
पियन (कार्यालय सहयोगी) देखि प्रधानमन्त्रीसम्म
एकपटक, दुईपटक, तीनपटक
अर्थात् पटकपटक भेटेँ
हो, हजुर सयौंपटक भेटेँ
भेट्ने मात्रै होइन उहाँहरूको खुट्टा समातेर रोएँ
आँखामा आँसु निखृउन्जेल रोएँ
धरोधर्म हजुर, म आफैं रितिउन्जेल रोएँ
तर पनि मेरो आँसु कसैले पुछेनन्
मेरो मर्म कसैले बुझेनन् ।
त्यसपछि…
हो हजुर त्यसपछि…
मैले मेरो माग होइन
हामीले हाम्रो माग लिएर गयौं
हामीले हाम्रो माग पूरा गराउन
फेरि पनि
पियन (कार्यालय सहयोगी) देखि प्रधानमन्त्रीसम्म
एकपटक, दुईपटक, तीनपटक…
अर्थात् पटकपटक भेट्यौं
तर पनि हाम्रो माग पूरा भएन
तर यस पटक हामीले कसैको खुट्टा समातेर रोएनौं
कसैको पाउ परेनौं / कसैको गुलामी गरेनौं ।
नढाँटी भनौं हजुर..
जब हामी हुल बाँधेर गयौं
समवेत स्वरमा मुर्दावाद र जिन्दावादको नारा लायौं
वसन्तमा पाखाभरि लालीगुँरास फुलेझैँ
सडक राताम्मे हुनेगरी जुलुस फुल्न थाल्यौं
निषेधित क्षेत्र तोड्न थाल्यौं
पसिनाको सट्टा रगत बगाउन थाल्यौं
सत्ताको नजरमा अपराधी करार हुन मन्जुर भयौं
त्यसपछि… हो हजुर त्यसपछि…
हामीलाई पियनदेखि प्रधानमन्त्रीसम्मले सुन्न थाले ।
त्यसपछि… हो हजुर त्यसपछि…
हुलबाट अलग्याएर एकान्तमा
मसँग पटकपटक गोप्य मन्त्रणा गरे
सिंहदरबारको वातानुकूलित बंगलाभित्र
मेरो दरभाउ तोके / टेण्डर बढाबढ गरे
जब मैले अस्वीकार गरेँ उनीहरूको दरभाउ
त्यसपछि… हो हजुर त्यसपछि…
थाहा छ के भयो ?
त्यसपछि मलाई मन्त्री बनाउने प्रस्ताव भयो ।
सोचेँ मनमनै-
अहा ! म मन्त्री ! म शासक !!
अर्थात् म पनि सिंहदरबारको मालिक !!!
नढाँटी भनौं हजुर-
त्यसपछि मेरो मनमा अलिअलि पाप पनि पलायो
अलिअलि लोभ पनि टुसायो
मेरो मनको गहिराईमा बारम्बार ध्वनित भैरह्यो-
अहा ! म मन्त्री ! म शासक !!
अर्थात् म पनि सिंहदरबारको मालिक !!!
त्यसपछि… हो हजुर त्यसपछि…
जब म सिंहदरबारको वातानुकूलित बंगलाबाट
अँध्यारो सुरुङजस्तो आफ्नै संसारमा फर्किएँ
अर्थात् म सपनाबाट झल्यास्स ब्युँझिएँ
अनि… हो, अनि म होसमा आएँ
त्यसपछि मैले प्रण गरेँ-
आजदेखि म सिंहदरबारविरुद्ध सिंहनाद गरिरहने छु
जबसम्म यो देशमा
झुप्रा र सिंहदरबारबिचको असमानता अन्त्य हुनेछैन
मान्छे मान्छेबिचमा समानता र स्वतन्त्रता हुनेछैन ।