सरकारको ‘साझा न्यूनतम कार्यक्रम’ बारे कार्यदलले बुधबारसम्ममा अन्तिम रूप दिने – Satabdi News

सरकारको ‘साझा न्यूनतम कार्यक्रम’ बारे कार्यदलले बुधबारसम्ममा अन्तिम रूप दिने

१९ साउन २०७८, मंगलबार। सत्तारुढ गठबन्धनले सरकारको कार्यसम्पादनलाई सहज बनाउन गठन गरेको कार्यदलले बुधबारसम्म साझा न्यनूतम कार्यक्रमलाई अन्तिम रूप दिने भएको छ । कार्यदलको मंगलबार साँझ बालुवाटारमा बसेको बैठकपछि जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले सरकारको साझा न्यूनतम कार्यक्रमलाई बुधबारसम्म अन्तिम रूप दिने र प्रधानमन्त्रीलाई बुझाउने जानकारी दिए ।

कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले मंगलबार अपराह्न चार बजेदेखि तीन घन्टासम्म छलफल गरेको थियो । ‘हामीले घन्टौँसम्म छलफल ग¥यौँ, करिबकरिब टुंगिएको छ, अब बुधबार फाइनल हुन्छ । हामीले तयार गर्छौँ । र, त्यसलाई प्रधानमन्त्रीसमक्ष बुझाउँछौँ,’ श्रेष्ठले भने ।

अघिल्लो सरकारले वार्षिक नीति, कार्यक्रम र बजेटसमेत सार्वजनिक गरिसकेको अवस्थामा सत्तारुढ गठबन्धनले सरकारका कामकारबाहीलाई प्रभावकारी बनाउन भन्दै साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्न लागेको हो । त्यसका लागि सत्तारुढ कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरू सम्मिलित सात सदस्यीय कार्यदल सक्रिय छ ।

कार्यदलमा कांग्रेसबाट महामन्त्री पूर्णबहादुर खड्का, डा. मीनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव सदस्य छन् । ‘हामीले साझा न्यूनतम कार्यक्रमसहित गठबन्धनको कार्यविधि र मन्त्रीहरूको आचारसंहिता पनि तयारी गरिरहेका छौँ । तिनै विषयहरूमा छलफल भएको हो । तयार भएको ड्राफ्टमा खासै विवाद छैन । सबै सहमतिमै अघि बढिरहेको छ,’ श्रेष्ठले भने, ‘मुख्य कुरा हामीले सिस्टमलाई कसरी मजबुत बनाउने, प्रतिगमनविरुद्धको संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउन के–के गर्ने, सरकारका प्राथमिकता र नीतिहरू के–के हुने भन्ने विषयमा जोड दिएका छौँ ।’

अहिले कोरोना महामारी फैलिएको अवस्था भएकाले आगामी चैतसम्म सबै नागरिकलाई भ्याक्सिन दिने, तेस्रो लहरबाट जोगिन र जोगाउन सचेतना अपनाउने, महामारी नियन्त्रणका लागि भौतिक पूर्वाधार विकास गर्ने, नेपालमै खोप पूर्वाधार विकास गर्नेजस्ता विषयमा छलफल भइरहेको उनले बताए ।

त्यस्तै, अघिल्ला सरकारले संविधान र व्यवस्थामाथि आक्रमण गर्दै विधि मिचेर गरेका कामहरूलाई उल्ट्याउने र त्यस्ता निर्णय खारेज गर्ने विषयमा समेत छलफल भइरहेको श्रेष्ठको भनाइ छ । ‘यसमा मुख्यतः संवैधानिक नियुक्तिलाई महत्व दिइएको पाइन्छ । तर, यो सरकारको कार्यक्षेत्रभित्र पर्दैन । यो संवैधानिक परिषद्ले गर्ने कुरा हो । त्यसबारेमा त्यही छलफल होला । तर, त्यसलाई संवैधानिक परिषद्ले सच्याउन सक्छ कि सक्दैन भन्ने कुरा हो । हामीले कानुनी परामर्श गरेर सरकारलाई सहयोग गर्छौँ,’ उनले भने ।

सोमबार साँझ बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले शक्ति बाँडफाँडमा भएको ढिलाइका कारण तत्काल सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने र त्यसपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सरकारको ‘साझा न्यूनतम कार्यक्रम’ बारे कार्यदलले..." A few seconds ago

सम्बन्धित खवर