जसपा विवाद टुंगिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार – Satabdi News

जसपा विवाद टुंगिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार

९ साउन २०७८, शनिबार। प्रधानमन्त्री शेरबहादुर देउवाले जसपा विवाद टुंगिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । जसपाको आधिकारिता विवाद ११ साउनमा टुंग्याउने निर्वाचन आयोगको तयारी छ ।

२९ असारमा शपथग्रहण गरेका देउवाले त्यही दिन कांग्रेस र माओवादी केन्द्रबाट दुई–दुई गरी चार सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए । तर, सत्तागठबन्धनमा रहेको जसपाको विवाद आयोग पुगेकाले उनीहरूकै आग्रहमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गरेका हुन् ।

‘जसपा विवाद मिल्दासम्म एमाले विवादले पनि एउटा रूप लिन्छ भन्ने अपेक्षा छ । दुवै दलले समय मागेका छन् । त्यहीकारण मन्त्रिपरिषद् विस्तारमा केही दिन ढिला हुन्छ,’ देउवानिकट एक नेताले भने ।

देउवाले आफूलाई विश्वासको मत दिने सबै दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न चाहेका छन् । त्यही कारण पनि शक्ति सन्तुलनमा समस्या नहोस् भनेर मन्त्रिपरिषद् विस्तारलाई उनले पर धकेलेको ती नेताले बताए ।

सरकार सञ्चालनमा सहयोग गर्न सत्तारुढ गठबन्धनले बनाएको कार्यदलको शुक्रबारको बैठकमा मन्त्रालय बाँडफाँडको विषयले प्रवेश पाए पनि टुंगो लागेको छैन । तर, सत्तारुढ तीनदलीय कार्यदलमा मन्त्रिपरिषद् विस्तारमा केही समय ढिला गर्ने सहमति बनेको छ ।

‘माधवजीहरूको सरकारमा आउने वा नआउने टुंगो छैन । त्यसैले उहाँहरूले कार्यदलमा पनि सदस्य पठाउनुभएन । तत्काल जसपाको विवाद नटुंगिएसम्म मन्त्रिपरिषद् विस्तार नगर्ने सहमति बनेको छ,’ कार्यदलका एक सदस्यले भने, ‘त्यसैले मन्त्रालय बाँडफाँडको विषयमा पनि टुंगो लागेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "जसपा विवाद टुंगिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार" A few seconds ago

सम्बन्धित खवर