२४ जेठ २०७८, सोमबार। प्रदेश १ को प्रदेशसभाको आठौं अधिवेशन तथा बजेट अधिवेशनको पहिलो बैठकमा जनता समाजवादी पार्टीका सांसद जयराम यादव प्रदेश सरकारविरुद्ध कड्किएका छन् ।
उनले आफूहरु पनि जनप्रतिनिधि रहेको र जनताप्रति जिम्मेवार रहेको भन्दै प्रदेश सरकारका कारण जनताको बीचमा जान पनि लाज लाग्ने अवस्था भएको बताए ।
उनले संघीय सरकारकै सिको गर्दै प्रदेश सरकारले अध्यादेश मोह देखाएको आरोप पनि लगाए । कोरोना महामारीकै बीच अहिले प्रदेशसभा बैठक बसेको भन्दै उनले यही बैठकलाई केही दिन अघि बोलाएर नियमित प्रक्रियाबाट सरकारले आफ्ना काम अघि बढाएको भए के हुन्थ्यो भन्ने प्रश्न पनि गरे ।
‘समय हुँदाहुँदै पनि प्रदेश सरकार अध्यादेशबाट अघि बढेको छ,’ उनले भने, ‘यो पनि संघीय सरकारजस्तै हो ? त्यहाँ पो प्रतिनिधिसभा विघटन भएको छ, यहाँ त प्रदेशसभा जीवितै छ नि ।’
प्रदेशसभा जीवित रहेको अवस्थामा बैठक नबोलाएर अध्यादेश ल्याउनुको नियत के हो भन्ने उनको प्रश्न थियो ।
उनले निषेधाज्ञा जारी भएको यतिका दिनसम्म मजदूर वर्गले कसरी पेट पालेका छन् भन्नेबारे प्रदेश सरकारले सोधखोज नै नगरेको प्रस्ट पारे । प्रदेशमा कोरोना विरुद्धको खोपको व्यवस्था गर्न नसकेको, स्वास्थ्य पूर्वाधार बढाउने काम गर्न नसकेको भन्दै उनले प्रदेश सरकारको आलोचना गरे ।
‘प्रदेशका जनताको समस्यालाई छाडेर मुख्यमन्त्रीज्यू संघीय सरकारको मलामी हुन आफ्नो प्रदेश छाडेर, आफ्नो जिम्मेवारीबाट पन्छिएर काठमाडौं पुग्नुहुन्छ,’ उनले भने ।