१ मंसिर, मोरङ । स्थिर समयमा निर्वाचनको प्रचार प्रसार कुनै पनि कार्य गर्न नपाइने निर्वाचन आयुक्त एवं केन्द्रीय आचार संहिता अनुगमन समिति संयोजक रामप्रसाद भण्डारीले जानकारी दिनु भएको छ । स्थिर समय निर्वाचन हुनुभन्दा ४८ घण्टाअघि शुरू हुने उनले बताउनु भएको छ ।
निर्वाचन कसुर तथा सजाय ऐन दफा २४ को उपदफा ५ मा उल्लेख छ‚ “कसैले पनि मतदान हुने दिनभन्दा अठ्चालीस घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचार प्रसार गर्न वा गराउन हुँदैन।”
स्थिर समय मतदान शुरू हुने समयभन्दा अघिका ४८ घण्टालाई लिइने आयुक्त भण्डारीले जानकारी दिए। “हाम्रो मतदान मंसीर ४ गते बिहान ७ बजेबाट शुरू हुन्छ‚” उनले प्रष्ट्याए‚ “त्यसबाट ४८ घण्टा तानेर ल्याउँदा मंसीर १ गते राति १२ बजेबाट निर्वाचनको प्रचारप्रसार सम्बन्धी सम्पूर्ण कामहरू निषेध हुन्छ।”
‘स्थिर समय’ यसअघि ‘मौन अवधि’ र ‘शून्य समय’ भनिंदै आइएको थियो । किन अहिले स्थिर समय भनियो ? निर्वाचन आयुक्त भण्डारी भन्छन्‚ “पहिला यसलाई मौन अविध भनी सम्बोधन गरिएको रहेछ। हामीले त्यो मौन अवधि कहाँ छ भनी कानूनमा हेर्यौं। कहीं पनि मौन अवधि भन्ने शब्द परेको रहेनछ। त्यसपछि त्यसलाई मौन अवधि भनेर मानेनौं। योभन्दा अगाडि शून्य समय भन्यौं। तर‚ ४८ घण्टाको त्यो समयलाई स्थिर समय सम्बोधन गर्न उचित हुन्छ भन्ने हामीलाई लाग्छ।”
निर्वाचन आयोगले कात्तिक १७ देखि मंसीर १ गतेसम्म दल तथा उम्मेदवारले आमसभा, जुलूस, कोणसभा जस्ता कार्यक्रम र सञ्चार माध्यमको प्रयोग गरेर पनि प्रचारप्रसार गर्न पाइने व्यवस्था गरेको थियो।