मोरङमा एमालेबाट उम्मेदवार बन्न संघमा भन्दा प्रदेशमा हानाथाप – Satabdi News

मोरङमा एमालेबाट उम्मेदवार बन्न संघमा भन्दा प्रदेशमा हानाथाप

३ भदौ, विराटनगर । मंसिरमा हुने चुनावका लागि नेकपा एमालेबाट मोरङमा संघीय संसदमा भन्दा प्रदेश सभामा उम्मेदवार बन्ने आकांक्षी धेरै छन् ।

एमाले मोरङका सचिव रुपेश खतिवडाका अनुसार संघको तुलनामा प्रदेशसभा सदस्यका लागि दाबेदार बढी छन् । उनी आफै पनि मोरङ क्षेत्र नम्बर १ को (क) बाट टिकटको दाबेदार हुन् ।

मोरङका प्रतिनिधि सभाका ६ वटा क्षेत्र मध्ये ४ वटामा एमालेबाट एकल दाबेदारी छ । दुई वटा क्षेत्रमा मात्रै दोहोरो दाबेदारी छ । १२ प्रदेशसभा सदस्यका लागि भने प्रत्येक प्रदेश निर्वाचन क्षेत्रमा ३ देखि ५ जनासम्म दाबेदार छन् । ‘प्रतिनिधि सभा भन्दा पनि प्रदेशसभामा दाबेदारी धेरै छ,’ एमाले मोरङ इञ्चार्ज विनोद ढकाल भन्छन्, ‘केन्द्रको निर्देशनपछि उम्मेदवार छनोटको प्रक्रिया सुरु हुन्छ ।’

प्रतिनिधिसभाको क्षेत्र नम्बर १ मा वर्तमान सांसद घनश्याम खतिवडा र डाक्टर शिवमाया तुम्बाहाम्फे दाबेदार छन् । २०७४ सालको निर्वाचनमा खतिवडा सोही क्षेत्रबाट निर्वाचित हुन् भने तुम्बाहाङ्फे समानुपातिक सांसद । यो पटक तुम्बाहाङ्फेले प्रत्यक्ष चुनाव लड्ने भन्दै दाबेदारी प्रस्तुत गरेकी हुन् ।

मोरङ क्षेत्र नम्बर २ मा संविधानसभा सदस्य ऋषिकेश पोखरेलको एकल दाबेदारी छ । उनी एमाले मोरङ अध्यक्ष पनि हुन् । २०७४ सालको निर्वाचनमा उनी कांग्रेस नेता मिनेन्द्र रिजालसँग पराजित भएका थिए ।

एमाले नेता भानुभक्त ढकालले क्षेत्र नम्बर ३ मा फेरि दाबी गरेका छन् । २०७४ सालमा सोही क्षेत्रबाट चुनाव जितेका उनले दोस्रो पटक उम्मेदवार बन्नका लागि क्षेत्र नम्बर ३ मा पर्ने विराट चोकमा घर नै बनाइरहेका छन् । क्षेत्र नम्बर ३ मा एमाले पुराना नेता गुरु बरालले पनि उम्मेदवार बन्ने इच्छा देखाएका छन् । गत माघ १२ गते भएको राष्ट्रियसभा सदस्यको निर्वाचनमा अन्य कोटाबाट उम्मेदवार बनेका उनी गोलाप्रथामा सत्तागठबन्धनका उम्मेदवार गोपाल बस्नेतसँग पराजित भएका थिए ।

क्षेत्र नम्बर ४ मा मोरङ इञ्चार्ज विनोद ढकालको एकल दाबेदारी छ । क्षेत्र नम्बर ४ मा संघका लागि दाबेदार नभएपछि ढकालले उम्मेदवार बन्ने तयारी गरेका हुन् ।

प्रतिनिधिसभाको क्षेत्र नम्बर ५ मा योगेन्द्र मण्डलको एकल दाबेदारी छ । जीवन विकास समाज लघुवित्त वित्तिय संस्थाका संस्थापक अध्यक्ष उनलाई नेकपा एमालेले एक वर्षअघि नै उम्मेदवार बनाउने आश्वासन दिएको थियो । त्यो आश्वासनपछि उनले चुनाव केन्द्रीत गतिविधि गरिहेका छन् ।

क्षेत्र नम्बर ६ मा लालबाबु पण्डितको एकल दाबेदारी छ । २०७४ सालको निर्वाचनमा पण्डितले डाक्टर शेखर कोइरालालाई पराजित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "मोरङमा एमालेबाट उम्मेदवार बन्न संघमा भन्दा प्रद..." A few seconds ago

सम्बन्धित खवर