२१ बैशाख, बेलबारी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बेलबारी नगर कमिटीले स्थानीय निर्वाचनका लागि प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ ।
आज (बुधबार) पत्रकार सम्मेलनको आयोजना गरी एमाले नगर कमीटीले घोषणा पत्र सार्वजनिक गरेको हो । बेलबारी नगरपालिका प्रमुखका उम्मेदवार डिपि राई, उपप्रमुखका उम्मेदवार तीलकुमारी (न्यौपाने) गौतम, पार्टीका नगर अध्यक्ष इरन राई लगायतको उपस्थितमा सार्वजनिक घोषणापत्रमा थप आवश्यक एन, नियम, कार्यविधि, निर्देशिका आदिको तर्जुमा गरी कार्यन्वयन गरिने, भूउपयोग योजना तर्जुमा र कार्यन्वयन गरिने, शिक्षामा पहुँच नपुगेका बालबालिकाहरुको खोजी गरी त्यस्ता बालबालिकालाई विद्यालय शिक्षाका लागि प्रोत्साहन गरिने र बेलबारी क्षेत्रका नागरिकलाई कृषिमा आत्मनिर्भर बनाउन नीति तथा कार्यक्रम लागु गरिने लगायतका १७ बुँदे कार्यक्रम उल्लेख छ ।
शिक्षा, स्वास्थ्य, कृषिमा विशेष प्राथमिकता रहेको घोषणापत्रमा क्यान्सर, मृगौला, मुटुलगायतका अन्य दिर्घ रोगका विरामीहरुलाई संघीय सरकारले दिदैँ आएको रकमबारे बेलबारी नगरपालिकाले दिँदै आएको २५ हजारमा थप गरीने, ५ शैयाको नगर अस्पताललाई विकास गरी १५ शैया अस्पताल सञ्चालनमा ल्याउने, नगरपालिकाको चक्रपथमा विद्युतिय नगर बस सञ्चालनमा ल्याउने जस्ता कार्यक्रम घोषणपत्रमा उल्लेख छ ।
बेलबारी नगरपालिकामा रहेको बहुमुखी क्याम्पसलाई सर्वाङ्गीक विकास गर्न÷गराउन पहल गर्ने, मापदण्ड पूरा भएका सबै सडकको दुवैतर्फ सडकहरुमा ढलनिकासको व्यवस्था गरिने, वडा नम्बर ७ मा रहेको स्वास्थ्य केन्द्रलाई अस्पतालका रुपमा स्तरोन्नति गरिने, शैक्षिक क्षेत्रमा खोजअनुसन्धान तथा सिर्जनात्मक कार्य गर्न शिक्षकहरुलाई सम्मान गरिने लगायतका योजना एमाले बेलबारी नगर कमिटीको रहेको छ ।