उर्लाबारीमा धिमाल फुड फेस्टिबल हुने – Satabdi News

उर्लाबारीमा धिमाल फुड फेस्टिबल हुने

१९ चैत, उर्लाबारी । आदिबासी धिमाल समुदायको खाद्य परिकारको प्रवर्ध्दन र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले माेरङकाे उर्लाबारीमा चैत्र १९ शनिवार धिमाल फुड फेष्टिबल हुने भएको छ ।

“संस्कृति, मौलिकता र स्वस्थ्य खाना” मूल नारा दिई चिचिरी–गेन्द्रो दिवसकाे अवसरमा धिमाल जातिय विकास केन्द्रले आफ्नो मौलिक सांस्कृतिक परिकार प्रवर्ध्दनका लागि धिमाल परियाेजना स्थल, मंगलबारे, उर्लाबारीमा धिमाल फूड फेष्टिबल गर्न लागेकाे हो ।

धिमाल फुड फेष्टिबलमा समुदायको परम्परागत खाद्य परिकार चिचिरी र गेन्द्रोलाई जोड दिईने कार्यक्रम संयाेजक अम्बरबहादुर धिमालले जानकारी दिनुभयाे । चिचिरी धिमाल समुदायमा विषेश प्रकारको चामलबाट पकाईने र गेन्द्रो पिठोबाट पकाईने परिकार हो । यिनैको नामबाट महोत्सवको नामाकरण गरिएको सचिवालय सदस्य तथा प्रचारप्रसार संयाेजक अजितकुमार धिमालले जानकारी दिए । चिचिरी एक प्रकारको लस्सायुक्त धानको चामलबाट तयार पारिन्छ । खास गरि विवाह गरेकी चेली माईत आउँदा कोशेलीको रुपमा यो परिकार ल्याउने गरिएको गरिन्छ । माईत आएकी चेली तथा ज्वाईलाई स्वागतका लागि गेन्द्रो खुवाउने चलन छ । गेन्द्रो सोहि चामलको पिठोबाट पातमा बेरेर पानिमा राखेर उमालेर पकाउने गरिएको छ ।

धिमाल समुदायका विभिन्न खाद्य परिकारहरुको संरक्षण तथा प्रवर्ध्दन गर्ने उदेश्यले फेष्टिबलको आयोजना गरिएको केन्द्रका अध्यक्ष लोकबहादुर धिमालले बताएका छन् । धिमाल समुदायका कतिपय संस्कृति, पोशाक, बाजा तथा परिकार धिमाल समुदायकै नयाँ पुस्ताले विर्सदै गएकाले उनीहरुलाई चिनाउन र अन्य समुदायमा समेत धिमाल संस्कृति बारे जानकारी गराउन फेष्टिबल सहयोगी हुने उनको भनाई छ । कार्यक्रमलाई संगीतमय बनाउन विभिन्न कलाकारहरुको समेत प्रस्तुति रहनेछ । कार्यक्रममा प्रदेश नं. १ का प्रदेश प्रमुख पर्शुराम खापुङकाे प्रमुख आतिथ्यता रहने केन्द्रका महासचिव मात्रिका धिमालले बताए ।

झापा र मोरङ्मा सघन तथा सुनसरीका केहि क्षेत्रमा परम्परागत बसोबास रहेको धिमाल जातिलाई झापाको दमक तथा मोरङको उर्लाबारी, पथरी र बेलबारी नगरपालिकाले प्रथम नागरिक घोषणा गरेका छन् । २०६८ सालको जनगणना अनुसार धिमाल जातिको जनसंख्या २६ हजार २ सय ९८ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "उर्लाबारीमा धिमाल फुड फेस्टिबल हुने" A few seconds ago

सम्बन्धित खवर