खुशीको खबर सोलु करिडोर प्रसारण लाइन सञ्चालनमा – Satabdi News

खुशीको खबर सोलु करिडोर प्रसारण लाइन सञ्चालनमा

२ फागुन, काठमाडौं । सोलुखोला जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालन आएको छ । नेपाल सरकारको लगानी र भारतीय निर्यात–आयात (एक्जिम) बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण सम्पन्न भएको प्रसारण लाइनलाई सोमबार बिहान ११.३० बजे चार्ज गरी सञ्चालनमा ल्याइएको छ ।

सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बुको दूधकुण्ड नगरपालिकाको तिंलासम्मको प्रसारण लाइनको लम्बाइ ९० किलोमिटर र टावरहरुको संख्या ३०२ वटा छ । सोलु करिडोर प्रसारण लाइन आयोजना अन्तर्गत तिंलामा १३२÷३३ केभी, ३० एमभिए र ३३÷११ केभी, ८ एमभिए क्षमताको सबस्टेसन निर्माण गरिएको छ । सबस्टेसन निर्माण सम्पन्न गरी ७ भदौ २०७६ बाट सञ्चालनमा छ । तिंला सबस्टेसनबाटै सोलुखुम्बु, ओखलढुंगा र खोटाङमा विद्युत आपूर्ति हुनेछ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिंला सबस्टेसनबाट विद्युत आपूर्ति दिइने हुँदा अब सोलुखुम्बु, ओखलढुंगा र खोटाङको विद्युत सेवा भरपर्दो र गुणस्तरीय हुने साथै चुहावट पनि घट्ने बताए । २३.५ मेगावाटको सोलु खोलासहित १८ मेगावाटको माथिल्लो सोलु, ८६ मेगावाटको सोलु खोला (दूधकोसी) ८२ मेगावाटको तल्लो सोलु खोला लगायतका जलविद्युत आयोजनाको विद्युत तिंला सबस्टेसनमा जोडिने छ ।

यही प्रसारण लाइन बन्ने भएपछि प्राधिकरणले त्यस क्षेत्रका १२ जलविद्युत आयोजनासँग ३२५ मेगावाटको विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) गरेको छ । सोलु करिडोर प्रसारण लाइनको निर्माणमा केही ढिला हुने देखिएपछि २३.५ मेगावाटको सोलु खोला जलविद्युत आयोजनाको विद्युत पोहोर फागुनबाट अस्थायी रुपमा ३३ केभी लाइनमा जोडिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "खुशीको खबर सोलु करिडोर प्रसारण लाइन सञ्चालनमा" A few seconds ago

सम्बन्धित खवर