२७ माघ, काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले आज बिहीबार माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले स्थानीयलाई जारी पुँजीको १०% अर्थात १८ लाख २७ हजार ९७० कित्ता सेयर निष्कासन गरेको हो । जसमध्ये १० लाख ९६ हजार ७८२ कित्ता सेयर सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. २, ३ र ४ का स्थानीयलाई छुट्याइएको छ ।
बाँकी ७ लाख ३१ हजार १८८ कित्ता सेयर भने आयोजनाको १३२ केभी प्रसारण लाइनबाट प्रभावित जुगल गाउँपालिका वडा नं. ५ र ७, बलेफी गाउँपालिका वडा नं १, ३, ६ र ७ तथा सुनकोशी गाउँपालिका वडा नं. ७ का स्थानीयलाई छुट्याइएको छ । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावितहरुलाई निष्कासन गरिएको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी बिक्री खुला गरिने कम्पनीले जानकारी गराएको छ । छिटोमा फगुन १२ गतेसम्म र ढीलोमा फागुन २७ गतेसम्म आइपीओ खुला रहनेछ । कम्पनीले जारी पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १०५ सेयर स्थानीयलाई बिक्री गर्न लागेको हो ।
रेटिङ एजेन्सी इक्रा नेपालले बलेफीको आइपीओलाई ‘इस्यूअर रेटिङ डबल बी’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
स्थानीय बासिन्दाले सिन्धुपाल्चोकस्थित कुमारी बैंकको जलबिरे शाखा, एनसीसी बैंकको ढाँडे शाखा र ग्लोबल आइएमई बैंकको चौतारा शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरी, लक्ष्मी बैंककोे खाडीचौर र चौतारा शाखाबाट पनि आइपीओ भर्न सकिन्छ ।