प्रदेश १ मा सरकारलाई पूर्णता; विस्तारित मन्त्रिपरिषद् सदस्य संख्या १४ – Satabdi News

प्रदेश १ मा सरकारलाई पूर्णता; विस्तारित मन्त्रिपरिषद् सदस्य संख्या १४

२३ माघ, विराटनगर । तीन महिनासम्म सरकारलाई पूर्णता दिन नसकेको आलोचना खेपिरहेका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन्।
राईले आइतबार आफ्नो दल एकीकृत समाजवादी र नेपाली कांग्रेसबाट तीन–तीन जना, माओवादी केन्द्रबाट दुई मन्त्री नियुक्त गरेका थिए । नवनियुक्त मन्त्रीहरुले आइतबार नै सपथ लिएका छन्।

आइतबारको मन्त्रिपरिषद् विस्तारसँगै प्रदेश १ मा मन्त्रिपरिषद् सदस्य संख्या १४ पुगेको छ, जसमा नेपाली कांग्रेसबाट पाँच, एकीकृत समाजवादीबाट चार, माओवादी केन्द्रबाट तीन र जनता समाजवादी पार्टी (जसपा) बाट एक जना छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एक जना राज्यमन्त्री छन् ।

आइतबार मन्त्री बनेका राजन राई खोटाङ १ को ‘क’ बाट निर्वाचित एकीकृत समाजवादीका सांसद हुन् । नेकपा एमाले निकट अखिल हुँदै राजनीति सुरु गरेका उनी तत्कालीन नेकपा एमाले खोटाङको जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य र सचिव हुँदै नवौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । एमाले विभाजन हुँदा उनले नेकपा एकीकृत समाजवादी रोजे । उनी एकीकृत समाजवादीको पोलिटव्यूरो सदस्य र प्रदेश १ उपाध्यक्ष छन् ।

खिनु लङ्वा लिम्बू सत्तारुढ गठबन्धनको एक मात्र निर्वाचित महिला सांसद हुन् । उनी इलाम क्षेत्र नम्बर १ को ‘क’ बाट निर्वाचित भएकी थिइन् । तत्कालीन नेकपा कोअर्डिनेसन केन्द्रको बाल रक्षा दल हुँदै राजनीति सुरु गरेकी लिम्बूले अखिलको राजनीतिमा लागेकी थिइन् । अनेमसंघ इलामको अध्यक्ष समेत भएकी उनी नेकपाको प्रदेश कमिटी सदस्य थिइन् । नेकपा एमाले विभाजनपछि एकीकृत सामाजवादी रोजेकी उनी केन्द्रीय सदस्य समेत हुन् ।

उपेन्द्र घिमिरे मोरङको क्षेत्र नम्बर १ को ‘ख’ बाट निर्वाचित सांसद हुन् र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग पारिवारिक साइनो पनि छ ।

ओमप्रकाश सरावगी उद्योगी हुन् । नेपाली कांग्रेसमा कृष्णप्रसाद सिटौला पक्षका उनको झापामा प्लाइउड, राइस मिल र चिया उद्योग छ ।

ताप्लेजुङका प्रतापप्रकाश हाङ्गाम समानुपातिक सांसद हुन् । पाँच पटक प्रधानपञ्च भएका उनी जिल्ला विकास समितिको सदस्य हुँदै उपसभापति बनेका थिए । अर्कामन्त्री शेखर चन्द्र थापा कांग्रेसका समानुपातिक सांसद हुन् । गिरिजाप्रसाद कोइरालाको स्वकीय सचिवका रुपमा काम गरेका मोरङको पथरीशनिश्चरेका थापा पेशाले शिक्षक थिए । कांग्रेसको तत्कालीन क्षेत्रीय सभापति बनेका उनी एक कार्यकाल जिल्लाको सहसचिव पनि बने ।

माओवादी केन्द्रबाट मन्त्री बनेका झलकसिंह मगर सशस्त्र विद्रोहका क्रममा जनमुक्ति सेनाको कम्पनी कमिसार थिए । झापा जिल्ला सचिव र इञ्चार्ज भइसकको उनी २०७४ को निर्वाचनमा झापाको ४ को ‘१’ बाट निर्वाचित भएका थिए ।

रामकुमार राई गोपाल किरातीले नेतृत्व गरेको किरात वर्कस पार्टी हुँदै माओवादी प्रवेश गरेका थिए । खोटाङ १ को ‘ख’ बाट निर्वाचित भएका उनले जिल्ला इञ्चार्ज भएर काम गरिसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रदेश १ मा सरकारलाई पूर्णता; विस्तारित मन्त्रि..." A few seconds ago

सम्बन्धित खवर